सोमबार, साउन ३० २०७९

प्रधानमन्त्रीसँग प्रधानसेनापती गर्जिए, भने- ‘कि मैले छोड्नुपर्यो कि रक्षामन्त्रीले’



  • नेपालदीप
  • सोमबार, साउन २६ २०७७
34.3K
SHARES

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्रयाक निर्माणको विषय र स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री ईश्वर पोखरेलका कारणले सेना अपमानित र अनावश्यक टिप्पणी सुन्न बाध्य भएको गुनासो गरेका छन्। उनले स्थिती यस्तै रहे काम गर्न नसकिने समेत बताए।

स्रोतका अनुसार थापाले अब मिलेर काम गर्ने स्थिती छैन कि मैले छोड्नुपर्यो कि रक्षामन्त्रीले छोड्नुपर्यो भन्दै त्यो स्थिती सिर्जना नभए सेना आफैले कदम चाल्ने चेतावनी दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले थापालाई सम्झाए भनिन्छ।

प्रधानमन्त्रीसँग भएको भेटमा थापाले फास्ट ट्रयाकले गति नलिनुमा रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी र स्वार्थपूर्ण भूमिका बाधक रहेको बताएका छन्।

एक साताअघि रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं तराई जोड्ने  फाष्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा अगाडि रहेका प्रधान सेनापतिलाई संकेत गर्दै उपदेश दिएको शैलीमा ‘लकिरका फकिर’ हुनुभएन भन्दै व्यङ्ग्य गरेपछि रक्षा मन्त्रालय र नेपाली सेनाका नेतृत्वबीच दुरी बढेको स्पष्ट भएको थियो।

उपप्रम पोख्रेलले काठमाडौं तराई फाष्ट ट्रयाक निर्माणमा ढिलाइ भएकोमा लकिरका फकिरको उदाहरण दिएर सेनामाथि फायर खोलेका थिए भने जवाफमा सेनापति थापाले स्पष्टरुपमै सो फाष्ट ट्रयाक निर्माणमा परामर्शता छनौटको अवस्था निकै पीडादायी भएको भन्दै त्यसका पछाडि मन्त्रीको हस्तक्षेपकारी भूमिकाको संकेत गरे। शुक्रबार सतहमा आएको रक्षामन्त्री सेनापति घोचपेचको अन्तर्यमा के के छन् त लुके, लुकाइएका विषयहरु?

राज्यको अर्बौं लगानीको मुलुककै लागि अति आवश्यक काठमाडौं तराई फाष्ट ट्रयाकको परामर्शदाता नियुक्त गर्ने कुरामा मन्त्री पोख्रेलले सेनालाई ठूलो दवाव दिँदै आएका थिए। तर, उनले भनेजस्तो काम सेनाले गरिदिएन।

सैनिक नेतृत्वले राजनैतिक दवावलाई वेवास्ता गर्दै प्रक्रिया अगाडि बढाउँदा कन्टयाक्टरहरु नियुक्तिमा पनि समस्या आएको थियो। समाचार स्राेतका अनुसार काम ढिलो भएकोमा मन्त्रीले असन्तुष्टि जनाउँदा सेनापतिले कन्ट्याक्टर नियुक्तिका पछाडिको अवस्थाको संकेत गर्दै सोही कारण ढिलाइ भएको बताएर मन्त्रीमाथि नै दोष फर्काइदिएका थिए।

उनले रक्षामन्त्रीकै कारण नेपाली सेनालाई अनावश्यक विवादमा पार्ने काम भएको गुनासो गरेका थिए। आफ्ना काम कारबाहीमा चरम राजनीतिक दबाब रहेको उनको संकेत थियो।

सैनिक स्रोतका अनुसार रक्षामन्त्रीका कान्छा छोराका माध्यमबाट कन्ट्याक्टर नियुक्तिमा चलखेलको ठूलो प्रयास भएको थियो। फाष्ट ट्रयाक कताबाट लैजाने भन्ने विषयमा पनि राजनीतिक दवाव सेनालाई छ। मन्त्री निकटस्थ केहीले किनेको जग्गा र स्थानीय नेताहरुले किनेको जग्गाको हानाथापमा आआफ्ना तिर बाटो तान्ने कुराले खोकना र अन्य क्षेत्रमा तनाव बढाउने काम भएकोमा रक्षमन्त्रीप्रति सेना असन्तुष्ट बनेको बताइएको छ।

फाष्ट ट्रयाकमा रक्षामन्त्रीको असान्दर्भिक दवाव झेल्न नसकेर सेनापति थापाले प्रधानमन्त्री केपी ओलीलाई नै भन्न जानु परेको बताइएको छ। ओलीले आफैं आदेश दिँदै सेनालाई जारी प्रक्रिया नरोक्नू, अरुको कुरा सुन्नु पर्दैन भनेपछि सेनाले काम अघि बढाएको थियो।

सेनापति थापाले नेपाली सेनामा शुद्धिकरणको अभियान नै चलाएका छन्। यसका लागि उनले अनियमितता एवं भ्रष्टाचारमा संलग्न जो सुकै भए पनि नछाड्ने, कारवाही गरेरै छाड्ने नीति लिएर केही उच्च पदस्थहरुलाई थुनेका पनि छन्।

आफ्नो संस्थाभित्र शुद्धिकरण अभियान चलाइरहँदा रक्षामन्त्रीको तहबाट आउने अनावश्यक दवाव झेल्न नसकिने संकेत सेनाले प्रधानमन्त्रीलाई दिइसकेको बताइएको छ। सेनापति थापा र प्रधानमन्त्री ओलीबीच निकै विश्वासको सम्बन्ध रहेको बताइन्छ।

तर, सेना र रक्षमन्त्रीबीचको असमझदारी यतिसम्म बढेको छ कि सैनिक मुख्यालयका महत्वपूर्ण प्रस्तावहरु रक्षा मन्त्रालयमा अड्काइएका छन्। हेलिकोप्टर मर्मतसम्बन्धी फाइल अड्एिको निकै भइसकेको सैनिक स्रोतले बताएको छ।

मेडिकल सामग्री खरिद गर्ने जिम्मा आफूलाई दिइए पनि विचौलिया सक्रिय गराएर समयमा ल्याउन नदिने, फास्ट ट्रयाकका बाटो  आ-आफ्नो ठाउँबाट नपरेपछि भएका आन्दोलन र असन्तुष्टिमा राजनीतिक स्वार्थ र कनेक्सन रहेको सेनाको बुझाइ छ।

रक्षामन्त्री पोखरेल र सेनापति थापाबीचको पछिल्लो मनमुटाव झन्डै रुक्मांगद कट्‌वाल प्रकरणजस्तै देखिएको छ जहाँ सेनापति कट्‌वाल र तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलबीचको मनमुटावले उसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नै दिनुपरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार