आइतबार, बैशाख २६ २०७८

कालजयी महापुरूष खप्तड बाबाको जीवनी र मार्गदर्शन


  • नेपालदीप
  • बुधबार, साउन २८ २०७७
17.4K
SHARES

काठमाडौँ। एउटै चन्द्रमाले धरती, आकाश र अन्तरिक्षको अँध्यारो नाश गरिदिएर झलमल्ल उज्यालो ल्याइदिन्छ भने लाखौं तारागण भएर पनि के गर्नु र ? उज्यालो पार्न सक्तैनन्। त्यस्तै एकजना साधु, सन्त, ज्ञानीले समाज, राष्ट्र, विश्व र त्यस युगलाई नै समुन्नत, बनाउँछ।

एउटा बत्तीले नजीकैका हजारौं बत्तीलाई बाले झैं एकजना ज्ञानवान्, जीवन्मुक्त महात्माले वर्तमानलाई मात्रै होइन भविष्यलाई समेत आलोकित बनाइदिन्छन्। यस धरतीमा त्यस्ता कालजयी महापुरूषहरू, यदाकदा जन्मन्छन् र आफ्नो ज्ञानले, गुणले, सेवाले, परोपकारको सम्पूर्ण समाज र देशलाई नै सुखी, शान्त र समुन्नत बनाएर एउटा युगान्तकारी कीर्तिमान कायम गरी सदा-सदाका लागि एउटा अविस्मरणीय दृष्टान्त छोडेर जान्छन्।

यही अनुक्रममा हाम्री नेपाल जननीले एक महान् आत्मा भएका युगपुरुष पाइन् ती हुन् श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रिय ब्रहृमनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवन्मुक्त महात्मा सच्चिदानन्द सरस्वती। उहाँको जनता-जनार्दनले जानेको शुभनाम हो, श्री खप्तडबाबा।  बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुनुहुन्थ्यो। सुदूर पश्चिमको खप्तडमा ५० वर्ष बिताउनु भएका खप्तड बाबाले संन्यास लिनुअघिसम्म चिकित्सकिय पेशामा हुनुहुन्थ्यो ।

बाबा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिनु भयो। कोलकाताको ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गनुभयो। त्यसपश्चात चिकित्सा पेसामा रहँदा अन्तरप्रेरणाले काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गर्नुभयो, त्यसपछि गहन साधनाका लागि नेपालको खप्तड लेक रोज्नु भयो । उहाँ विसं १९८६ मा नेपाल आउनुभयो।

श्री खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान्, अविस्मरणीय समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व हुनुहुन्थ्यो । जस-जसले उनको दर्शन गर्ने, उनसँग सत्सङ्ग गर्ने, उनको सान्निध्य पाउने, उनलाई गुरु बनाउने र उनको उपदेश सुन्ने सौभाग्य पाए ती धन्य हुन्।

उहाँले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिनुभयो। विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उहाँले यसभित्रको रुप, रङ र प्रभावलाई ‘विचार विज्ञान’ भन्नु भयो।

बाबा देश अनि विश्वकै भूषण हुनुहुन्छ यसमा विकल्प छैन। त्यति हुँदाहुँदै पनि बाबा विशेषतः खप्तडका भूषण हुनुहुन्छ। कारण खप्तड लेकलाई त्यो भेगलाई, त्यस क्षेत्रलाई, ती जिल्लाहरू र अञ्चललाई, त्यहाँका जनता जनार्दनलाई मात्र होइन त्यहाँका जडीबुटीसमेतलाई बाबाले विश्वका माझमा पुर्‍याइदिनु भयो।

परिणामतः बाबाको शुभनाम रह्यो खप्तडबाबा भनेर। यही नामबाट उहाँ श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वतीबाट जनताका जिब्रामा, मन र मस्तिष्कमा खप्तडबाबा, खप्तडस्वामी भनेर परिचित भए । यसबाट सिद्ध हुन्छ- बाबा खप्तडका नाताले नेपालकै भूषण बने । अर्को पक्षबाट पनि सोचौं- खप्तडले बाबाले महान् तपस्वी, महान् ज्ञानी, महान् त्यागी, महान् योगी, महान् लेखक, महान् साधक बनेको हेर्ने मौका पनि त पायो नि।

त्यसैले खप्तडमा बाबा भिजेका छन् । अनि बाबामा खप्तड भिजेको छ। खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जङ्गलमात्र थियो- आज सौभाग्यले खप्तड बाबा बनेको छ। खप्तडसँग बाबा गाँसिएका छन्, बाबासँग खप्तड गाँसिएको छ। खप्तडमा चेतना पलाएको छ। खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ बाबाका कारणले।

अनि बाबाको ज्ञानज्योति, तपोधन, नाम ख्याति, ग्रन्थमूर्ति, योगधारा, त्यागकीर्ति चारैतिर फैलिएको छ खप्तडका कारणले। आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकपि्रयता बढेको छ। खप्तडलाई हामीले चिनेको पनि बाबाकै कारणले हो। नत्र खप्तडको निगालोमात्र प्रसिद्ध थियो, नलीमात्र प्रसिद्ध थियो, हामीले नेपालको भूगोलमा यही पढेका थियौँ। आज खप्तड धार्मिक, भौगोलिक, प्राकृतिक दार्शनिक हर दृष्टिकोणले पर्यटकीय प्रसिद्ध स्थल बनेर विश्वलाई आकषिर्त गर्दछ। बाबाकै कारणले। खप्तडले बाबालाई केही दिएर धेरै पाएको छ।

प्रकाशित कृतिहरु

त्यस्तै नै उहाँका विचार विज्ञान, स्वास्थ्यविज्ञान, धर्मविज्ञान खण्ड १,२,३,४ र धर्म विज्ञान सार-संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरूषधर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, र तीनओटा अङ्ग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन्।

यी ग्रन्थहरूले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेका छन्। वैदिक सिद्धान्त र दर्शन अनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरूमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान् कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ।

विचार-विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ- सामान्य पढे लेखेका नर-नारीदेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्ती पनि यो ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका कुरा सुनेका छौं।

खप्तड बाबाले आफ्ना दर्जनभन्दा बढी ग्रन्थमा परम्परागत पण्डित र विद्वान्हरूले जस्तो शास्त्र प्रमाणलाई अधिक स्थान दिनुभएको छैन । बरु मनोविज्ञान सम्मत बौद्धिक युक्तिहरू, ऐतिहासिक तथ्यहरू तथा जनसाधारणका अनुभवलाई प्रमाण मान्नु भएको छ  र आफ्ना मतहरू स्थापित गर्न यिनै प्रमाणको उपयोग गर्नु भएको छ।

खप्तड बाबाको दृष्टिमा पश्चिमी शिक्षासँगै जति विजातीय कुराहरू हाम्रो देशभित्र प्रवेश गरेका छन्, तीमध्ये नास्तिकता एउटा हो । शिक्षितहरूमै नास्तिकताको प्रभाव अधिक परेको हुँदा समाज झन्झन् विकृतिउन्मुख भएको उहाँले देख्नुभयो। मानिसले जीवनभन्दा जीवनको ज्ञानलाई महत्त्व दिन थालेको र सुखभन्दा सुखका साधनहरू बटुल्ने ध्याउन्न गर्न थालेको देख्नुभयो।

संसारमा सुख छैन तर संसारको आसक्तिलाई त्याग्न कोही मानिस राजी हुँदैन । मानिसको दशा त्यही मृगको जस्तो भइरहेको छ जो मृगमरीचिकातिर निरन्तर दौडिरहन्छ र प्यासले व्याकुल भई छटपटाउँदै मृत्युवरण गर्छ । यसरी नभएको ठाउँमा सुख खोज्दै तड्पिरहेका मानिसलाई ‘पर्ख, त्यहाँ होइन, यहाँ खोज’ भनी औंल्याउन खप्तड बाबाले धर्म विज्ञान लेख्नुभयो ।

महत्वपूर्ण भनाईहरु

कसैसँग सडेको अन्न मात्र छ उसले सम्झन्छ कि जसको साथ खाने पिउने पदार्थ छ ती सबै सुखी छन्। जसको साथमा धनको कमी छ ती सम्झन्छन् कि धनाड्य मानिस खुबै सुखी छन्। तर, अस्कर देखिन्छ जब भोको मानिसलाई खाना मिल्छ तब उसलाई वस्त्रको इच्छा हुन्छ।जब वस्त्र मिल्दछ तब उसलाई अनेक ऐश्वर्यको इच्छा हुन्छ। र, धनादिका लागि उसको चित्त विकल हुन्छ। तात्पर्य यो हो कि मानिसलाई एकपछि अर्को वस्तु प्राप्त होस् तापनि उसको तृष्णा मेटिदैन र उसलाई शान्ति लाभ हुँदैन।

कल्पना शक्ति अपूर्व छ. कल्पना आत्म-शक्तिले ओतप्रोत छ। अतः तिमी जस्तै भयङ्कर स्थितिमा भए तापनि आफ्नो जीवनको अधिकाधिक उन्नतिको कल्पना गर।

तिमीले जे मागेका छौ। जसलाई प्राप्त गर्नका लागि दीर्घकालीन चिन्तन गरेका छौ त्यो अवश्य प्राप्त हुनेछ. यसमा सन्देह छैन ।

हिजोआज मनमा मलिनताको यस्तो तह जमेको छ कि त्यसमा मल, विक्षेप, राग, द्वेष आदि कयौं दोष भरिएका छन्। यसमा जति शुभेच्छा राख्नु पर्थ्यो उति नहुनाको कारण हामी त्यसबाट टाढा रहन्छौ. यसैले हामीले सर्वप्रथम शुभेच्छाद्वारा आफ्नो मन शुद्ध गर्नु पर्दछ।

‘विचार-विज्ञान’ बाट उद्रितांश

धर्म कर्म हो- यसले मनको मलदोष निवारण गर्दछ।मलदोष भनेको चित्तमा नाना प्रकारका वासनाको स्फुरण हुनु हो।

जुन जातिले आफ्नो संस्कृति, आफ्ना महापुरुषहरू र आफ्ना सत् साहित्यहरूप्रति अश्रद्धा गर्दछ त्यो जाति प्राय: नष्ट नै हुने गर्दछ।

मुख्य कुरा यही छ कि अनेक जातिले एकपटक गुमाइसकेको राजनीतिक स्वाधीनता समय र परिस्थितिले साथ दिँदा पुन: फर्काएका छन्। तर एकपटक गुमिसकेको धार्मिक र सांस्कृतिक परम्परा अपरिवर्तित र पूर्ण रूपमा कायम गर्नु पूर्णरूपमा कायम गर्नु कुनै पनि समुदायको जीवनमा प्राय: असम्भव छ।

कष्ट कसलाई हुँदैन ? को मानिस रोगी छैन ? समस्याहरूले कसलाई जेलेको हुँदैन। मृत्यु, रोग र शोकका घटना कसका घरमा घटेको छैन ? तर साहसी व्यक्ति कहिल्यै पनि यस्ता समस्या र विपत्तिहरूको परवाह गर्दैनन्।

मानव योनीमा कर्म गर्ने पूर्ण स्वतन्त्रता हुन्छ। अरू योनीमा जीव आफ्नो पूर्वकृत शुभाशुभ कर्म अनुसार प्राप्त भएको सुख र दु:ख भोग भोगेर संसार-चक्रमा घुमिरहन्छ।

‘भौतारिएर पनि के हुन्छ !’ भनेर जो भन्छ, त्यसको तात्पर्य हो- उ आफ्नो लक्ष्यमा शीघ्र पुग्न उत्सुक छैन। जो शीघ्र लक्ष्य प्राप्तिका लागि उत्सुक छ- उ श्रम गर्न, कष्ट सहन र स्वयं सोधेर मार्गदर्शन प्राप्त गर्न पनि अवश्य उत्सुक हुनेछ।

‘आत्मज्ञान’ बाट उद्रितांश

पति आफ्नी पत्नीलाई आफ्नो अंग सम्झियोस्, किनभने उनी उसकी अर्धांगिनी हुन्। उनी रोगी भइन या कुनै किसिमको आपत्तिमा परिन् भने जसरी आफ्नो शरीरको रक्षा गरिन्छ त्यसरी नै उनको रक्षा र सेवा गरोस्।
स्त्री यदि अपठित हुन्, अन्धी हुन्, बहिरी हुन्, बूढी हुन् तापनि उनको निन्दा अपमान अनादर, तिरस्कार नगरोस्। उनलाई रिस उठे पनि प्रेमले सम्झाओस्. जुन पुरुष आफ्नी स्वास्नीलाई गाली गर्छ या पिट्छ त्यो नरकगामी हुन्छ।

कन्या र कुमार नै नारी र पुरुषको आदि हो। यो त्यही कोपिला हो जसलाई भोलिको फूल बनाउनुपर्छ। कोपिला फूलको आदि रूप हो। जीवन उसैको सुगन्धमा फैलिन्छ. यसैले उसको निर्माणमा सबै कुरा निर्भर हुन्छ। घरको भविष्य, परिवारको सुख समाजको शान्ति उनैको मुठ्ठीमा छ।

‘नारीधर्म तथा पुरुषधर्म’ बाट उद्रितांश

गुरुलाई कोटी कोटी प्रणाम
जो अंगसहित- वेदाध्यायी छ, तदर्थज्ञ छ र जीवब्रह्मात्मैक्य- विषयको दृढ निश्चयमा परिनिष्ठित छ जसलाई आत्मसाक्षात्कार भएको छ, त्यो गुरु हुन्छ।

मानुषदेहको प्राप्ति नभईकन मुक्तिको इच्छा तथा महापुरुष वा सदगुरुको आश्रय प्राप्त गर्नु सम्भव छैन। चौरासी लाख योनिहरूको पश्चात प्राकृतिक विधानहरू सौभाग्यवश मानुषदेहको प्राप्ति हुन्छ। यी चौरासी लाख योनिहरू (स्थावर-जंगम) मा सबै समाविष्ट छन्। स्वेदज, उद्भिज्ज तथा जरायु – यी त्रिविध प्राणीहरूमध्ये जरायु श्रेष्ठ छ तथा जरायुहरूमा श्रेष्ठ मनुष्य छ।

‘यति तेरो, यति मेरो’ भनेर जीवले जब मान्यो, त्यसै जीवसृष्टिबाट दु:ख निस्क्यो। मनुष्यले ‘म’ र ‘मेरो’ कहाँबाट आयो यो विचार नगर्नु नै अज्ञान वा अविद्या हो।

‘रिस उठ्दा रिस गर्नु ठीक ठानिन्छ. त्यसबेला हामी क्रोधविष्ट अन्त:करणसित सहमत हुन्छौ। जब क्रोधको वेग सिद्धिन्छ, अनि पश्चाताप हुन्छ- मैले ठूलो भूल गरें।

‘वेदान्त-विज्ञान’ बाट उद्रितांश

मेरो विचारमा कुनै पनि मानिसले बिर्सन नहुने र अत्यन्तै महत्त्वपूर्ण कुरा यही छ कि सांस्कृतिक स्वाधीनता नै वास्तविक स्वाधीनता हो।

‘म र मेरो कर्तव्य’ बाट उद्रितांश

आज तँ अरूको कर्तव्यमा दृष्टि राख्तछस् र त्यसद्वारा आफ्नो अधिकारलाई सुरक्षित देख्न चाहन्छस्। यही सारा अशान्तिको मूल हो। तेरो स्वतन्त्रता त आफ्नो कर्तव्य पालन गर्नमा नै छ। अरूले आफ्नो कर्तव्य पालन गरुन् यो तेरो अधीनको कुरो होइन।

‘धर्म-विज्ञान’ प्रथम खण्डबाट उद्रितांश

आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिनु भएको छ। आरोग्य रहने सरल साधन भन्दै  खप्तड बाबाले आफ्नो कृति ‘विचार विज्ञान’ यी ५ उपाय सुझाउनु भएको छ:

१. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर ।

२. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख । ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार