सोमबार, मंसिर १३ २०७८

सहमतीकाे नयाँ खाका तयार,नेकपा विवाद सल्टिने सम्भावना

प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष मान्न ओली तयार



  • नेपालदीप
  • शुक्रबार, साउन ३० २०७७
9.5K
SHARES

काठमाडौं । आन्तरिक विवादमा फसेकाे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबिच भएकाे कुराकानी सकारात्मक हुदै गएकाे छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बिच धेरै समयपछि हिजाे भएकाे छलफल निकै सकारात्मक रहेकाे बुझिएकाे छ ।

नेकपा स्रोतले  दिएकाे जानकारी अनुसार प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष मान्न ओली तयार हुने संकेत दिएपछि नेकपा विवाद सल्टिने सम्भावना बढेकाे हाे । ओलीले महाधिवेशनबाट पार्टी राजनीतिक लाइन ‘जनताको जनबाद’ मानेर जाने विषयमा सहमति गरिसकेका छन् । उनले जबजलाई छलफलको विषय बनाए पनि महाधिवेशनबाट नयाँ विचारसहित अगाडि बढ्ने कुरामा सहमति गरेका छन् ।

सहमति कायम गर्ने दौडधुपमा रहेका एक नेताका अनुसार महाधिवेशन चैतसम्म सम्पन्न गर्न अहिलेकै पार्टी संरचनालाई महाधिवेशन आयोजक समिति बनाउने, पूर्ववत अवस्थालाई ध्यान दिएर महाधिवेशन प्रतिनिधि चयन गर्ने, महाधिवेशनमा अहिलेकै अन्तरिम राजनीतिक लाइन ‘जनताको जनबाद’लाई तत्लो तहबाटै छलफल गरेर लैजाने, सहमतिमै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने लगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति भएको छ ।

महाधिवेशन केन्द्रित छलफल सहमतिमा पुगेमा ओलीले स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म भएका प्रक्रियामा गल्ती स्वीकार गरेर सच्चाउने प्रतिबद्धता जनाउने, अहिलेसम्मका गलत नियुक्तको पुनर्विचार गर्ने, अब गर्ने राजनीतिक नियुक्तीमा पार्टीको सचिवालयमा छलफल गर्ने, सरकारलाई प्रभावकारी पार्नका लागि मन्त्रिपरिषद्का सदस्य फेरबदल गर्ने, केही मुख्यमन्त्रीहरु पनि परिवर्तन गर्ने र पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले नै गर्नेगरी सहमतिको सम्भावना बलियो भएको एक नेताले बताए ।

महाधिवेशनसम्म पार्टीको बैठक बोलाउने, पार्टीका पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्ने, निर्णय कार्यान्वयन गर्ने र गराउने, महाधिवेशनको तयारी गर्ने, वैचारिक बहस अगाडि बढाउनेसहित पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने तथा महाधिवेशनपछि ओली वरिष्ठ वा मानार्थ नेताको रुपमा रहनेगरी सहमतिको खाका तयार भएको छ ।

दुबै पक्षमा सहमतिको आ-आफ्नै व्याख्या

महाधिवेशन केन्द्रित छलफलमा सहमति उन्मुख भएपछि ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममार्फत अबको पाँच दिनभित्र सहमति हुने बताएका थिए । तर, प्रचण्ड-नेपाल पक्षले भने ओलीले विगतमा जस्तै सहमति गर्ने र पालना नगर्ने हुन् कि भन्ने आशंका व्यक्त गरेको छ ।

अहिलेको सहमतिमा साच्चै इमान्दार भएर लागू गर्ने अवस्थामा पार्टीले नयाँ विचारसहित नयाँ स्थान हासिल गर्ने नेकपाका एक स्थायी कमिटी सदस्यले बताएका छन् । बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार ओलीले आफूलाई सच्चाउने प्रतिवद्धतासहित महाधिवेशनमा जानेगरी पहल लिन खोजेका छन् ।

वैचारिक राजनीतिक लाइनसहित महाधिवेशनमा जादा तल्लो तहदेखि नै गुटबन्दी हुने एकथरीको आशंका छ भने अर्कोथरीले सहमतिको कार्यान्वयन हुनेमा शंका व्यक्त गरेको छ । दुवैले आफू अनुकूल अहिले सहमति उन्मुख भएको छलफललाई व्याख्या गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट