बुधबार, माघ ५ २०७८

रक्षामन्त्रीले सेनातर्फ इंगित गर्दै भने, ‘शाही शासनका दुष्टहरूले’ म विरुद्द ‘कू’ प्रचार गरे



  • नेपालदीप
  • बुधबार, भाद्र १० २०७७
27.5K
SHARES

काठमाडौँ। नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेलले अत्यन्तै विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले नेपाली सेनातर्फ इंगित गर्दै, ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भन्ने कू प्रचार गर्ने ‘विगतको निरंकुश शाही शासनकालका तिनै दुष्ट मतियारहरू’ले नै अहिले बदनाम गर्न खोजेको बताएका हुन्।

केहिदिन अघि देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अत्यन्तै विवादित छवी भएका प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त भएका थिए। उनि पोख्रेलका सम्धी हुन्। सरकारी नियुक्तीमा नातावादलाई प्रोत्साहन दिने गरि आफ्नै सम्धीलाई नियुक्त गर्न लगाएको भन्दै सामाजिक संजालमा पोख्रेलको निक्कै आलोचना भएको थियो।

आलोचना चुलिएसंगै, बुधवार एक विज्ञप्ती जारी गर्दै उनले नियुक्तीमा आफ्नो संलग्नता रहेको अस्वीकार गरेका छन्। विज्ञप्तीमा भनिएको छ, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेराे अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु ।’

केहि समय अघिमात्र नेपाली सेनाको नेतृत्वसँग शक्तिसंघर्ष भएपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘व्याक’ गराएका थिए। बाध्यतावश पछाडी फर्किनु परेको उनलाई रिस नमरेको हुन सक्छ। सेनासँग पोख्रेलको आमनेसामने भएपछि सामाजिक संजालमा एकाएक उनले मच्चाएको पुरानो काण्ड- ‘पानी ट्यांकीमा पैसा लुकाएको’ कुरा छ्यापछ्याप्ती भएको थियो।

त्यति बेला केहि बोल्न नपाएका पोखरेलले आज सम्धी नियुक्ती प्रकरण बारे स्पष्टिकरण दिदैं गर्दा त्यस प्रसंगलाई पनि उप्काए। ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ प्रसँग निकाल्दै उनले उक्त कुरा आरोपमात्र भएकोले ‘सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु’ भने।

उनले अझ अगाडी बढेर, ‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या,’ गर्ने उद्देश्यले ‘कू’ प्रचार गरिएको बताए।

उनले त्यतिमात्र भनेनन् बरु नेपाली सेनातर्फ इंगित गर्दै भने, ‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेराे बिरूद्धमा स्वर उरालिरहेका छन् !’

अहिले राजसंस्था नै भूमिकाहिन भएको अवस्थामा र शाही शासनको एकमात्र अवशेष नेपाली सेनामात्र रहेको स्थितिमा रक्षामन्त्री पोखरेलले ‘दुष्ट मतियार’ भनेर नेपाली सेनाका तत्कालिन समयमा कार्यरत पूर्वरथीहरुलाई भन्न खोजेको बुझ्न कठिन हुदैन। अझ झन् भर्खरैमात्र सेनासँग भएको विवादबारे त आममानिसले पनि थाहा पाएका छन्। आफ्नो व्यक्तिगत इच्छा पुरा नहुदा देशको अर्को संस्थालाई नै विवादमा तान्नु बुद्दिमता होइन।

यसरी सेनाको नेतृत्वसँग नै ‘इगो’ पाल्ने र यसरी एकदमै कुटिल ढंगबाट प्रस्तुत हुन थाल्दा रक्षामन्त्रीले भविष्यमा आउन सक्ने भवितव्यको बारे ख्याल गरेको देखिदैन। राजनीतिमा यस्ता कुटिल अस्त्रहरु प्रयोग हुने भए पनि सेना जस्तो गम्भीर अनुशासन पालना गर्ने संस्था यस्ता प्रहारहरु धेरै सहन गर्ने सक्दैन। जसले गर्दा परिणाम अर्कै आउन सक्छ। त्यसमा रक्षामन्त्री आफै सतर्क हुनुपर्ने देखिन्छ।

रक्षामन्त्री पोखरेल र सेनापति थापाबीचको पछिल्लो मनमुटाव झन्डै रुक्मांगद कट्‌वाल प्रकरणजस्तै देखिएको छ जहाँ सेनापति कट्‌वाल र तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलबीचको मनमुटावले उसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नै दिनुपरेको थियो।

राजसंस्था अझै पनि सेनाभित्र जिवित नै रहेको र राजनीति गर्नेहरुमा मौलाएको भ्रस्टाचारले देशव्यापी राजसंस्थाको पक्षमा माहोल पनि बन्दै गएको बेला रक्षामन्त्रीको यस्ता हर्कतले देशको राजनैतिक भविष्य नै परिवर्तन हुनसक्छन्। पोख्रेलले सेनालाई शक्तिहीन देख्नु गम्भीर लापरवाही मात्र हुनेछ।

केहि समयअघि रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं तराई जोड्ने फाष्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा अगाडि रहेका प्रधान सेनापतिलाई संकेत गर्दै उपदेश दिएको शैलीमा ‘लकिरका फकिर’ हुनुभएन भन्दै व्यङ्ग्य गरेपछि रक्षा मन्त्रालय र नेपाली सेनाका नेतृत्वबीच दुरी बढेको थियो।

त्यसपछि, प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले फास्ट ट्रयाक निर्माणको विषय र स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री पोखरेलका कारणले सेना अपमानित र अनावश्यक टिप्पणी सुन्न बाध्य भएको गुनासो गरेका छन्। उनले स्थिती यस्तै रहे काम गर्न नसकिने समेत बताए।स्रोतका अनुसार थापाले अब मिलेर काम गर्ने स्थिती छैन कि मैले छोड्नुपर्यो कि रक्षामन्त्रीले छोड्नुपर्यो भन्दै त्यो स्थिती सिर्जना नभए सेना आफैले कदम चाल्ने चेतावनी दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले थापालाई सम्झाए भनिन्छ।

पोखरेल र सेनापति थापाका बीचमा टसल बढेपछि प्रधानसेनापति थापा रक्षा मन्त्रालय कम जान थालेको सैनिक मूख्यालय स्रोतले जनाएको छ ।

इतिहासमा हिन्दूत्व, राजसंस्था र नेपाली सेनाको गठजोडले नेपाल जोगिएको हो: मनीषा कोइराला

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट