बुधबार, साउन २० २०७८

नेपालमा रेल- विगत देखि वर्तमानसम्म [तस्वीर सहित]


  • नेपालदीप
  • शुक्रबार, असोज २ २०७७
22.2K
SHARES

काठमाडौँ। नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गर्‍यो। विभाग गठन भएको नौं वर्ष भइसकेको छ। यसबीचमा रेलका आधा दर्जनभन्दा बढी ठूला योजना अगाडि सारिएका छन्। तर यतिखेर चर्चामा छ– जयनगर–जनकपुर ३५ किलोमिटर रेल।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किलोमिटर रेल विस्तार हुँदै छ। पहिलो चरणमा जयनगर–जनकपुर रेल विस्तार भइसकेको छ। उक्त लिकमा सञ्चालन हुने नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । भारतको आर्थिक एवं प्राविधिक सहयोगमा भौतिक प्राविधिक निर्माण सम्पन्न भइसकेकाे ३५ किलोमिटर लम्बाइको कुर्था-जयनगर खण्डमा रेल सञ्चालन हुन लागेको छ । त्यहीँ सञ्चालन गर्नका लागि रेलको सेट ल्याइएको छ । आवश्यक कानुन बनाएर दसैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने तयारी छ ।

विभागका महानिर्देशक बलराम मिश्रले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्नु भएका नेपाली ट्रेन यस्तो छ :

५२ किमि दूरीमा सञ्चालन हुने गरेको जयनगर–जनकपुर–विजलापुर रेलको लिंक घट्दै, बाढीपहिरोले बगाउँदै जाने र आवश्यक मर्मत नहुँदा रेलमार्ग विस्तारै बन्द हुँदै गएको थियो। जीर्ण हुँदै गएको २९ किमिको दूरीमा मात्रै चल्ने रेल पनि सात वर्षदेखि बन्द छ। यही खण्डलाई पुनः मर्मत गरेर र दूरी बढाएर अहिले तत्कालका लागि ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्न लागिएको हो। यो दूरी ६९ किमिसम्म हुने गरी काम अघि बढाइएको रेल विभागको भनाइ छ।

नेपालमा रेलको इतिहास

लाहुरे श्रीमान्सँग रेल चढेर लाहुर गएका लाहुरेनी हजुरआमाहरूले लाहुरको (भारत) आकाशमा हवाईजहाज देखेपछि त्यसैलाई नै रेल सम्झेर गुनगुनाएछन्, ‘हाम्रो राजाले के जानेका छन् र ! अंग्रेजी राजाले चराक (आकाश) मा रेल घुमाए…।’ हिजोआज पनि विशेषतः भारतीय र बेलायती सेनाको पेन्सन खाँदै गरेका हजुरआमाहरूले गाउँघरमा उक्त गीतको टुक्का भने प्रचलनमा छँदै छ।

गायक लोकबहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँ–बेंसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा..’ गीत पनि नेपाली जनजिब्रोमा फट्किइरहन्छ अझै। नेपाली समाजमा लाहुर र मुग्लान जाने प्रचलनसँगै लोकगीतमा रेलको चर्चापरिचर्चा हुने गर्छ। उतिबेला लाहुर जाने नेपालीले देखेको रेललाई आधार मानेर लोकगीतहरूमा रेलको वर्णन गरिन्थ्यो। लाहुर र मुग्लान जानेहरूले रेल प्रत्यक्ष रूपमा देखे पनि गाउँघरमै बस्नेहरूका लागि भने रेल मगज (परिकल्पना) को बनोट मात्रै थियो। पहाडले रेल नदेखे पनि नेपालको तराईले भने बिसौं सताब्दीको सुरुवातमा रेलको अनुभव गर्न पायो।

नेपालको पहिलो रेल नेपाल सरकार रेलवे ७६२ एमएम न्यारो गेज हो। यो रेल सेवा सन् १९२७ मा सञ्चालनमा आएको थियो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेल निर्माण गरेको थियो। यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो।

तत्कालीन समयमा नेपालमा पहिलो पटक रेल सञ्चालनमा आएको घटनालाई संसारभरबाट प्रकाशित हुने अखबारहरूले स्थान दिए। उक्त रेल सेवा तत्कालिन श्री ५ महाराजधिराज त्रिभुवन वीर विक्रम शाह देवले उद्घाटन गर्नु भएको थियो। उद्घाटनको खबरलाई विभिन्न विदेशी अखबारले समेत आफ्ना सामाचारमा बडो रोचक तरिकाले वर्णन गरेका थिए।

अमेरिकाबाट प्रकाशित हुने ‘दी विनीपेङ ट्रिब्युन’ को २७ मार्च १९२७ को आफ्नो अंकमा नेपालमा पहिलो रेल शीर्षकमा खबर छापिएको छ, ‘हिमाली अधिराज्य नेपालले आफ्नो पहिलो रेल देख्यो र त्यहाँका महाराजाधिराज त्रिभुवन वीर विक्रमले समेत आफ्नो जीवनमा पहिलो पटक रेलमा यात्रा गरे । त्यहाँका २१ वर्षे लक्का जवान महाराजाधिराज आफ्नो जीवनको पहिलो एकदमै नौलो रेल यात्राका क्रममा कत्ति पनि आत्तिएका थिएनन् र साहसपूर्ण तरिकाले यात्रा गरे ।’

उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो। रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो। महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भइसकेको छ।

दोस्रो रेल अहिले चर्चामा रहेको जयनगर–जनकपुर रेल हो। सन् १९३७ मा सञ्चालनमा आएको यो जयनगरदेखि विजलापुरसम्म सञ्चालनमा हुन्थ्यो। तत्कालीन बेलायत सरकारले नेपालबाट जडिबुटी, काठ तथा खनिज पदार्थ भित्र्याउनका लागि रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारो गेजकै थियो।

जनकपुर–विजलापुर २२ किलोमिटरको रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको छ। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिँदै छ। यसलाई जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किमिसम्म विस्तार गर्ने तयारी छ। भारतले निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।

त्यस्तै, भारतबाट नेपालको सीमानाका वीरगन्जको सुक्खा बन्दरगाहसम्म रेलसेवा सञ्चालन हुँदै आएको छ। यो रेलसेवा कार्गो (मालवस्तु ढुवानी) का लागि मात्र प्रयोग हुँदै आएको छ। यातायातका साधनमा सबैभन्दा सस्तो पानीजहाजलाई मानिन्छ भने पानीजहाजपछि रेल यायायात, त्यसपछि सडक यातायात तथा हवाई यातायात पर्छन्।

सुरुवातमा कोइला तथा दाउरा ओसार्न प्रयोग हुने रेलले २०१८ सालदेखि यात्रु बोक्न थालेको थियो । २०२१ सालमा आएर नेपाल यातायात संस्थानको एउटा शाखाका रूपमा कायम भयो जनकपुर रेलवे । भारत सरकारले चार डिजेल पावर इन्जिन र १८ बोगी प्रदान गरेपछि २०५१ सालमा आधुनिक रेल सेवा सञ्चालनमा आएको थियो ।

धरानको ढुंगे रेल 

सन् १९५८ सालदेखि १९६२ सालसम्म धरानमा मालवाहक रेल चल्थ्यो । धरानको फुस्रेबाट घिर्लिङ्ग (रोपवे)ले ल्याएका ढुंगाहरूलाई हालको रेल्वेनजिक झारिन्थ्यो । त्यहाँ झारिएका राम्रा र दह्रा ढुंगाहरू रेलमा हालिन्थ्यो । त्यो रेलको गन्तव्य हुन्थ्यो सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगर । भीमनगर अर्थात् सप्तकोशीको ब्यारेज भएको ठाउँ । हो, त्यही ठाँउमा झारिन्थे धराने ढुंगाहरू ।

कोशी परियोजना सम्झौताको धारा तीनको उपधारा चारमा लेखिएबमोजिम आयाजनालाई चाहिने ढुंगा, गिटीको लागि धरानको फुस्रेडाँडासम्म रेल ल्याउने सम्झौता भयो । सम्झौता अनुसार सन् १९५८ देखि १९६२ सम्म अर्थात् विक्रम सम्वत् २०१६ देखि २०२० आसपाससम्म धरानमा रेल चल्थ्यो । ढुंगा बोक्ने रेल भएकोले ढुंगेरेल भनेर त्यसबेला चिनिएको रेलले सर्दु खोला हुँदै घिर्लिङ्गबाट आएका ढुंगाहरू रेलमा हालेर भीमनगर पु–याउँथ्यो ।

त्यसबेला धरानदेखि भीमनगरसम्म रेल कुद्थ्यो जतिबेला विराटनगरदेखि धरानसम्म आउने हालको पक्की सडक कच्ची मात्रै थियो । त्यसबेलै धरानमा दैनिक तीनपल्ट रेल ओहोरदोहोर गर्थ्यो जबकि विराटनगरदेखि धरानसम्म एउटा मात्रै दैनिक गाडी चल्थ्यो ।

(तस्वीरहरु गुगलबाट लिईएको हो।)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट