बिहिबार, माघ १३ २०७८

संविधान जारी भएको पाँच वर्ष पूरा, राजनीतिक मतभेद कायमै



  • नेपालदीप
  • शनिबार, असोज ३ २०७७
20K
SHARES

काठमाडौं । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । २०७२ असोज ३ का दिन नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको यो दिनलाई राष्ट्रिय दिवस घोषणा गरिएको छ भने सार्वजनिक विदा दिने गरिएको छ । यो पल्ट भने सार्वजनिक विदाका दिन अर्थात् शनिवार यो दिवस परेको छ । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको छ । प्रधानमन्त्री ओलीले देश–विदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्नुहुने बताइएको छ । यो दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् भने देश विदेशमा रहेका नेपालीले आपसमा शुभकामना साटासाट गरिरहेका छन् ।

सम्बन्धित
संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा आएका छन् । कानून र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन् ।

तर, संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म राज्यबाट प्राप्त गर्ने लाभ वितरण भने अझै हुन सकेको छैन । कतिपय कानून निर्माण भए पनि नागरिकले अपनत्व गर्ने गरी कार्यान्वयन अभाव छ । कतिपय कानून अनुसारका संरचना नै निर्माण भएका छैनन् ।

संविधान जारी भएपछि कतिपय काम सम्पन्न गर्ने निश्चित समय तोकिएका थिए । अदालतहरूको पुनर्संरचना, मौलिक हकका कानुन निर्माण, संविधानसँग बाझिने ऐन संशोधनको पनि समय तोकिएको थियो । त्योभन्दा अघि सङ्क्रमणकाल अन्त्य र सङ्घीय संरचनाअनुसार तीनै तहका निर्वाचन अनिवार्य थिए । निर्वाचनपछि सबै तहका सरकारहरू क्रियाशील छन् । तर, संविधानसभाबाट जारी संविधानको अन्तरवस्तुलाई लिएर सिंगो देश एकै ठाँउमा देखिदैन, राजनीतिक मतभेद कायमै छन् । हरेक वर्ष संविधान दिवसमा संविधान बनाउँदा आफ्ना चासो सम्बोधन नभएको ठान्ने शक्तिले असन्तुष्टि पोख्ने गरेका छन् ।

संविधान जारी भएको पाँच वर्षसम्म पनि संविधान दिवस असन्तुष्टि बल्झिने दिनका रुपमा देखिने गरेको छ । सरकार औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने अमूर्त व्याख्या गरिरहन्छ । असन्तुष्ट समूहले पनि संविधान संसोधनको मुद्दालाई राजनीतिक शक्ति आर्जनको हतियार बनाइरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार