सोमबार, साउन ३० २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि अन्योलतिर



  • नेपालदीप
  • आइतबार, असोज ४ २०७७
13.5K
SHARES

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण फेरि अन्योलतातिर धकेलिने देखिएको छ । निर्माण अघि बढाउन भन्दै अहिले धमाधम त्यो क्षेत्रमा कटान हुने रुखको गणना भइरहेको छ । तर, निर्माणसम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने स्वीजरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले अहिलेसम्म पाइला अघि बढाएको छैन ।

निर्माणसम्बन्धी प्रस्ताव पेस गर्न जुरिचलाई दोस्रो पटक दिइएको म्याद समेत असोज १४ अर्थात् ३० सेप्टेम्बरमा सकिँदै छ । यसअघि ४५ दिने म्याद गुजारेको थियो भने दोस्रो पटक पनि मिति गुजारेर पन्छिने मनस्थितिमा छ, जुरिच । निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)बाट अड्को थापेको जुरिचलाई अहिले कोरोना पनि बहाना बनिदिएको छ ।

केपी ओली नेतृत्वको सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनामा राख्दै निर्माणका लागि जुरिचलाई छानेको हो । अन्य ६ कम्पनी अयोग्य ठहरिए ।
लगानी बोर्डले यसअघि जुरिचलाई विमानस्थल निर्माणका लागि ०७६ को १८ फागुनसम्म विस्तृत प्रस्ताव पेश गर्न समय दियो ।

जुरिचले त्यतिबेला पनि विभिन्न कारण देखाई फेरि समय थप्न भनेपछि अन्तिम पटक भन्दै लगानी बोर्डले प्रस्ताव पेश गर्ने समय असोज १४ अर्थात् ३० सेप्टेम्बरसम्म दिएको थियो । त्यो म्याद गुज्रिने दिन मुखैमा आइपुगेको छ ।

यस्तै, जुरिचले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट सफाइ चाहेको छ । विमानस्थल निर्माणका लागि काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) खारेजीसम्बन्धी दुई मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् ।

विनायोजना हचुवाको भरमा सयौं वर्ष पुराना लाखौं सालका रूख काट्दा वातावरणीय विनाश निम्तिने भन्दै वातावरण तथा नागरिक अभियन्ता रन्जुहजुर पाण्डे क्षत्री, विजयकुमार सिंह दनुवार, कृष्णप्रसाद भण्डारी, द्वारिकानाथ ढुंगेल, चिरञ्जीवी भट्टराई, भरत बस्नेत, पंकजकुमार कर्ण, सुकदेव खत्री, केशरमणि अर्याललगायतले सर्वोच्च अदालतमा रिट हाल्नु भएको छ । साथै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता पदम श्रेष्ठलगायतले विमानस्थलको ईआईए प्रतिवेदन खारेज माग गर्दै अलग्गै रिट हाल्नु भएको छ । सर्वोच्चले यी दुबै रिटलाई बृहत् पूर्ण इजलासमा राखेर अघि बढाएको छ ।

सरकारले यो वर्षको नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने भनि उल्लेख गरेको छ । अहिले विमानस्थल बनाउने भनिएको १ हजार ९ सय हेक्टरमा रहेका रूखको गणना भइरहेको छ । प्रदेश–२ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय बाराले रूख गणना गरिरहेको हो ।

डिभिजन वन कार्यालय बारा अनुसार १ हजार ९ सय हेक्टरलाई १२ वटा ब्लक बनाएर रूख गणना अघि बढाइएको छ । १२ मध्ये २ वटा ब्लकमा रूख गणना सकिएको छ । जहाँ (दुईटा ब्लक) मात्रै ५७ हजार ३ सय ५० रूख छन् । जसमा अधिकांश सालका रुख छन् । बाँकी १० वटा ब्लकमा गणना जारी छ । तर, सर्वोच्चबाट मुद्दाको किनारा नलागेसम्म रूख कटानको प्रस्ताव मन्त्रिपरिषद्मा जाने सम्भावना न्यून छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार