बुधबार, मंसिर १५ २०७८

जब ओलीको ‘धक्का’शब्दले देउवालाई झोंक उठ्यो



  • नेपालदीप
  • मंगलबार, माघ २१ २०७६
11.9K
SHARES

प्रधानमन्त्री ओली
यो नयाँ वर्ष २०२०लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौँ । त्यसमा अलिकति सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नु पर्ने छ । सरकार त्यसको तयारीमा लागेको छ ।

विपक्षी दलका नेता देउवा
प्रधानमन्त्री जीले धक्काको कुरा गर्नु भएको छ । धक्का, के धक्का हो यो ? कहाँबाट आयो यो धक्का भन्ने शब्द मैले नयाँ सुने आज । ठूलो धक्का हुन्छ रे नेपालमा अब । कल्ले धक्का दिनेवाला छ, हामीले पनि थाहा पाउनु पर्‍यो । नेपालमा धक्का दिनेबारे थाहा पाउनु पर्‍यो हामी त सामना गर्न तयार छौँ । कसले धक्का दिनसक्छ हामी पनि हेरौँ । (यति भन्दा विपक्षी सांसदले टेबुल ढ्यापढ्याप पारे ) त्यसकारण धक्का कसले दिँदैछ प्रधानमन्त्री जीले बोल्नु भएको छैन ।

मंगलबार संसद बैठकमा मूली शासक एवं प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य विपक्षी दल नेपाल कांग्रेस सदीय दलको नेता शेरबहादुर देउवाबीच एउटा शब्दलाई लिएर जुहारी चल्यो । त्यो हो ‘धक्का’ ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको सन्दर्भ कोट्याउँदै सुरुवातमा केही धक्काका संकेतहरु देखा परेको भाषा प्रयोग गर्नु भयो । काउन्टरमा विपक्षी दलका नेता देउवाले कसले धक्का दिन खोज्यो ? कसले धक्का दिने हो ? जवाफ चाहियो आशयको अभिव्यक्ति दिनु भयो । यसअघि संसदमा एउटा शब्दले हंगामा गरेको थियो । त्यो हो, ‘निम्छरो’ । त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रयो गरेको शब्द थियो । त्यो बेला विपक्षी दलका सांसदले तत्काल प्रतिवाद गरेका थिए भने पछि ‘निम्छरो’ शब्द असंसदीय भन्दै रेकर्डबाट हटाइउनु परेको थियो ।

अहिले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सहयोगको जोडतोडको बहस भइरहेको छ । तर, प्रधानमन्त्रीले के को धक्का भनेर प्रष्ट रुपमा भन्नु भएन । त्यही कारण विपक्षी दलका नेता देउवा जंगिनु भयो ।

घटनाक्रम
अग्निप्रसाद सापकोटा नयाँ सभामुख चयन भएपछि बसेको बैठक थियो र सत्ताधारी दल र विपक्षी दलका शीर्ष नेताले बोले । सभामुख सापकोटाले संसद बैठक सुरू गरेलगत्तै बोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिनु भयो । प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिएर केही कुरा राख्नु भयो ।

सभामुख चयनमा केही ढिलाइ भएको बताउँदै उहाँले अरू विषयमा पछि आफ्ना कुरा संसदमा राख्ने सुनाउनु भयो । र, यहाँले विवादित एमीसीबारे पनि छोटो कुरा राख्नु भयो । ‘‘एमसीसी जस्ता कुरा पारित गर्नुछ’’ प्रधानमन्त्रीले भन्नु भयो, ‘यस्ता विषयमा सविस्तार पछि भन्नेछु ।’’

यति भनेपछि प्रधानमन्त्री यो विषयबाट डाइभर्ट हुनु भयो । नयाँ वर्ष २०२० भ्रमण वर्षको रूपमा अघि सारेको प्रसंग निल्नु भयो, प्रधानमन्त्रीले । प्रधानमन्त्रीले भ्रमण वर्षको सुरूमै प्राकृतिक हिसाबले धक्काका संकेतहरू देखा परेको कुरा राख्नु भयो ।

तर, प्रधानमन्त्रीले प्राकृतिक धक्का के भनेर प्रस्ट रूपमा खुलाउनु भएन । उहाँले प्राकृतिक धक्का भन्नुको आशय अन्नपूर्ण वेसक्याम्पमा हिउँ पहिरोमा परेकाहरू हुनुपर्ने हो । संसदको समय खेर जान नदिई काम अघि बढाइने उहाँले बताउनु भयो ।

यो कुरो टुंग्याउँदे प्रधानमन्त्री ओलीले सभामुखको नेतृत्व सफल रहने विश्वास गर्दै शुभकामना दिई आफ्ना कुरा सक्नु भयो । त्यसपछि सभामुख सापकोटा बोल्नु भयो र नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिन दलीय आधारमा पहिले विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई बोल्न समय दिनु भयो ।

रोष्टममा उभिएर देउवाले कोटको खल्तीबाट कागज निकाल्नु भयो । लेखिएका कुरा हेर्दै उहाँले आफ्ना कुरा राख्नु भयो । उहाँले अगाडि भन्नु भयो, ‘‘धेरै ठूलो रस्साकस्सीका बाबजुद मुश्किल मुश्किलले ढिलै भए पनि सभामुख चयन हुनु भएकोमा सभामुखजीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । तपाईंको कार्यकालका लागि पूरापूरा सहयोग हुनेछ, अहिले नै मेरो शुभकामना छ ।’’ त्यसपछि उनले पार्टीले सभामुखमा किन उम्मेदवारी नदिएको भनी प्रष्ट्याउनु भयो । संसद विपक्षीको हो भन्ने मान्यता रहेको र तटस्थ तथा निष्पक्ष पद भएकाले उम्मेदवारी नदिएको उहाँको भनाई थियो । त्यसपछि उनले सरकारको आलोचना सुरू गर्नु भयो ।

मानव अधिकार, प्रेसलगायत एकपछि अर्को विधेयकहरू नागरिक हितविपरीत हुने गरी सरकारले ल्याएको कुरा देउवाले क्रमशः राख्नु भयो । ‘प्रधानमन्त्रीले लोकतन्त्रको कुरो गर्नुभयो । कति राम्रो ! बडा खुसी लाग्यो’ देउवाले अगाडि भन्नु भयो, ‘तर लोकतन्त्रको खिलापका विधेयकहरू त हटाउनु पर्ने नि !’’ उहाँले विपक्षी दललाई विश्वासमा लिन समेत सुझाव दिनुभयो । तर, केही दिन पहिले भएका बालुवाटार भेटबारे भने देउवाले बोल्नु भएन ।

त्यसपछि देउवा एकाएक जंगिनु भयो । धक्का शब्दलाई लिएर । आफ्नो संसदीय दलको नेताले धक्का शब्दबारे कुरा राखि नसक्दै कांग्रेस सांसदले ढ्यापढ्याप पारे । आफूले बोलेको प्रसंगमाथि देउवाले प्रतिप्रश्न गरेपछि प्रधानमन्त्री चासो लिएर सुनिरहनु भएको थियो ।
यसरी

अन्तिममा प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गर्दै सभामुखलाई फेरि बधाई दिएर देउवा आफ्नो सिटतर्फ लाग्नु भयो । सभामुखले योबीचमा राजपा सांसद महेन्द्रराय यादवलाई बोल्न समय दिनु भयो । देउवा सिटतर्फ लम्कदै हुनुहुन्थ्यो । बाटोमा यादव भेटिए पनि उहाँले हेल्लो हाई केही गर्नु भएन । थपक्क आफ्नो सिटमा गएर बस्नु भयो ।

आफ्नो आसनमा बसेपछि छेवैमा बस्नु भएका प्रधानमन्त्री ओलीले देउवासँग खासखुस केही कुरा गर्नु भयो । त्यो दृष्य हेरिरहेका सांसदहरू हाँसे । र, प्रधानमन्त्री उठेर बाहिर निस्किनु भयो । याे घटना क्रमपछि, देउवाले धक्काको प्रसंग नबुझेर त्यसै झोंकिएको भन्दै आलोचना सुरु भएको छ ।

भिडियाे हेर्नुहाेस

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट