मंगलबार, माघ २४ २०७९

नेपाली शिरमा विदेशी ताज: राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा



  • नेपालदीप
  • आइतबार, असोज ११ २०७७
16.1K
SHARES

काठमाडौँ। साउथ एसियाको नै ठूला व्यापारिक घराना मध्य गनिने चौधरी ग्रुप अन्तर्गत रहेको सीजी हस्पिटालिटी होल्डिङसका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा पर्न सफल हुनु भएको छ। भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर इण्डिया’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूची भित्र राखेको हो।

विश्व आक्रान्त पारेको कोरोना महामारीबीच थलिएको ‘हस्पिटालिटी’ क्षेत्रलाई उकास्न प्रस्तुत गरेका योजना, महामारीबीच आफ्नो संस्थाको कुशल एवं व्यावसायिक व्यवस्थापन गर्न चालेको कदम र महामारी विरुद्धको लडाईमा सामाजिक उत्तरदायित्व वहन गर्दै निर्वाह गरेको भूमिकालाई आधार मानेर ‘होटेलियर इण्डिया’ म्यागेजिनले यस वर्षका २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो।

Rahul Chaudhary

राहुलका अनुसार सीजीले कोभिड—१९ महाव्याधिबाट बच्न आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरू सञ्चालन गरिरहेको छ। महामारीबीच विश्वभरका आफ्ना होटल तथा रिसोर्टलाई सुरक्षित र विश्वसनीय बनाउने कार्यमा सिजी होल्डीङ्ग्स सफल भएको कुरा उहाँले होटेलियरलाई बताउनु भएको छ।

राहुलले चुनौतीहरूले अवसर र शिक्षा दुवै दिने भन्दै कोभिड—१९ ले पर्यटन क्षेत्रको विषयमा पुनर्मूल्या‌ंकन गर्न अवसर दिएको बताउनु भएको छ। राहुल भन्नुहुन्छ, ‘हाम्रो विद्यमान व्यावसायिक ढाँचाबारे यो महामारीले पुनर्विचार गर्न प्रेरित गरेको छ। यो क्षेत्रलाई दिगो रूपमा अघि बढाउन कोभिड–१९ ले विश्वभरि नै शिक्षा दिएको छ।’

राहुलले सिजी होल्डीङ्ग्सले आफ्नो परम्परागत व्यावसायिक ढाँचाबारे पुनविचार गर्दै महामारीका बीच शहरी क्षेत्रमा सञ्चालित आफ्ना होटलबाट खाद्य तथा पेय डेलिभरी गर्नुका साथै रिसोर्टहरूमा कोभिड–१९ परीक्षण सुविधा सञ्चालन गर्ने उद्देश्य राखेको जानकारी दिनु भयो।

कोरोना महामारीका बीच सिजीको मूल मन्त्र- गुणस्तर, सुरक्षा र विश्वसनयता रहेको पनि राहुलले बताउनु भयो। त्यतिमात्र नभई उहाँले यो महामारीले व्यवसायलाई ठूलै असर पुर्याए पनि न्यूनतम क्षति फेरी तंग्रिन स्पष्ट कार्ययोजना बनाएर अगाडी बढेको बताउनु भयो। ‘सीजी हस्पिटालिटीले आगामी ३ वर्षसम्मका लागि कार्ययोजना बनाएको छ—अहिलेको अवस्थामा जोगिने, त्यसपछि तंग्रिने र अन्ततः दौडिने,’ उहाँ भन्नुहुन्छ।

राहुल सन् २०१८ र २०१९ को सूचीमा पर्न सफल हुनु भएको थियो। २०२०को सूचीको उहाँ उमेरका हिसाबले सबै भन्दा कान्छो व्यवसायी पनि हुनु भएको छ।

हाल राहुल ‘सीजी हस्पिटालिटी होल्डिङ्स’ संगै ‘सीजी कर्प ग्लोबल’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ। होल्डिङ्सले भारतलगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ। ‘ताज’, ‘फर्न’, ‘जिंक होटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी/लगानी छ।

नेपालमा मेघौली सेराईजस्तो विश्वस्तरीय रिसोर्टसँगै भिभान्ता, समिट, फर्नलगायत सञ्चालन गरिरहेको सीजी हस्पिटालिटी होल्डिङ्सले निकट भविष्यमा काठमाडौंसँगै पोखरा र लुम्बिनीमा थप होटल स्थापना गर्ने र ललितपुरको होटल समिटलाई विस्तार गर्ने योजना रहेको राहुलले बताउनु भयो।

होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल/रिसोर्ट सञ्चालन गरिरहेको छ। यी होटल/रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन्। ८० वटा होटल/रिसोर्ट त भारतमा मात्रै रहेका छन्।

दुई दशकअघि टाटा ग्रुप/आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो।

Rahul Chaudhary2

 

 

 

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई nep[email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार