बुधबार, मंसिर २२ २०७८

प्रहरीमा जागिर लगाइदिने भन्दै नक्कली इन्स्पेक्टर बनेर परीक्षा लिने पक्राउ



  • नेपालदीप
  • शनिबार, असोज १७ २०७७
12.7K
SHARES

वीरगन्ज। बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय पक्राउ परेका छन्। नक्कली प्रहरी भेषमा वीरगन्जको एक पार्टी प्यालेसमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाईदिने नक्कली परीक्षा संचालन गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

वीरगन्ज १६ नगवास्थित देव पार्टी प्यालेसमा बुधबार २१ जनालाई राखेर नक्कली लोकसेवा आयोगको परीक्षा लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। राय प्रहरी निरीक्षकको बर्दी र फूलीसहित पक्राउ परेका छन्।

पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार उनले १३ जना युवासँग ३ लाख ६१ हजार रुपैयाँ उठाइसकेको पाइएको छ। केहीलाई छ भने रकम अहिले नै दिनुस् नभए परीक्षामा सहभागी भएपछि वा जागिर निश्चित भएपछि मात्रै दिँदा पनि हुन्छ भनेका थिए।

रायले प्रहरीलाई भनेका छन्, ‘६ लाख भने पनि जोसँग जति रकम झार्न सकिन्छ त्यति मागेँ, कतिलाई फर्मको मात्रै भनेर एक हजार मात्रै भएपनि लिएँ, केहीले जागिर लगाइदेवापतको केही रकम पनि दिए।’ उनले परीक्षापछि नक्कली नियुक्ति समेत दिने तयारी गरेको बताएका छन्।

बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षामा सहभागी थिए। परीक्षा सञ्चालनमा अरु ७ जनाले पनि सहयोग गरिरहेका थिए। प्रहरीले उनीहरुसँग पनि सोधपुछ गर्दा पत्ता लाग्यो नक्कली परीक्षा सञ्चालन भइरहेको रहेछ। परीक्षार्थीसहित, परीक्षा सञ्चालन गर्ने र यसका योजनाकार रायलाई प्रहरीले नियन्त्रणमा लियो।

परीक्षा हलबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय वसन्त चौधरी, पर्साको वीरगन्ज महानगरपालिका १६ का २१ वर्षीय रविकुमार चौरसिया, रानीघाटका २५ वर्षीय रामजी चौरसिया र पकाहामैनपुर गाउँपालिका ५ सबैठवाका ४७ वर्षीय शिवनारायण चौरसिया लगायतका व्यक्ति पक्राउ परे। उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी पन्तले बताइन्।

रायले भने आफू बाहेक कसैलाई पनि यो नक्कली हो भन्ने जानकारी नरहेको र उनीहरुलाई पनि आफूले ढाँटेर प्रयोग गरेको बताएका छन्। यत्रो ठगीको प्रपञ्च रच्ने राय भने पढाइमा एसएलसी फेल हुन्। भारतमा कम्प्युटर सिकेको र युट्युबमा हेरेरै प्रश्न पत्र तयार गरेको उनले प्रहरीलाई बताएका छन्। परीक्षामा सहभागी मध्ये १३ जनासँग उनले १ हजारदेखि डेढलाख रुपैयाँसम्म उठाएका छन्।

अजयले २१ जनालाई भीआईपी कोटामा राष्ट्रिय अनुसन्धानको जागिरे बनाइदिन्छु भन्दै रकम असुल गरेका थिए। उनले सबैलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचकमा करारमा भर्ना गर्ने भनेका थिए। ती मध्ये दुई युवती उनकै चिनजानका थिए।

‘राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारी चाहिएको छ, अहिले कोरोनाका कारण विज्ञापन खुल्ने अवस्था छैन। करारमा जागिर खाने हो भने म मिलाइदिन्छु’ भन्दै रायले परिक्षमा सामेल गराएको कुरा ठगिएका व्यक्ति मध्यका एकले बताए।

प्रहरीको अनुसन्धानका क्रममा वीरगन्जमा भेटेका/बोलेका जति सबैलाई आफू बुटवलमा कार्यरत रहेको र हाल बिदामा घर आएको बताउने गरेको खुलेको छ।

वीरगन्ज बासिन्दाले मात्रै नभई स्थानीय प्रहरीले पनि उनलाई ‘इन्सपेक्टर साब’ भनेर चिन्थे। प्रहरी चौकी परवानीपुर र ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गएर उनले आफ्नो परिचय त्यही हिसाबले दिइसकेका थिए। स्थानीयले नपत्याउन् पनि कसरी? यी कार्यालयका प्रहरीले आँखैअगाडि उनलाई सलाम हानेको उनीहरुले देखेका थिए।

इन्सपेक्टर भनेपछि कनिष्ठ प्रहरीले आफूभन्दा माथिका हाकिमको बारेमा सोध्ने आँट पनि गरेनन्। अजय धेरै पटक प्रहरी चौकी आउजाउ गर्थे। कोरोना संक्रमणको असर र सुरक्षा निकायकै बारेमा गफ दिन्थे।

कतिपय बेला त आफ्नो बाइक बिग्रिएको भन्दै प्रहरीको गाडीमै घर जान्थे। उनका बुबा बिरामी भएको बेला पनि प्रहरीकै गाडीमा अस्पताल पु¥याएको पाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट