आइतबार, मंसिर १२ २०७८

पौडेल अर्थ मन्त्रालयको बदलामा प्रदेश राजधानी दाङमा सार्न सहमत



  • नेपालदीप
  • आइतबार, असोज १८ २०७७
23.9K
SHARES

काठमाडौँ। प्रदेश ५ को राजधानी दाङमा सार्ने अन्तिम तयारी भइरहदा लामो समय विवादित स्थितिमा रहेको प्रदेश राजधानी कहाँ बनाउने भन्ने विवाद कुन विन्दुमा गएर मिल्यो होला भन्ने प्रश्न जनजनमा उठेको हुनसक्छ।

विवाद हुनुको मुख्य कारण दाङ र रुपन्देही दुवैमा नेकपाका हाईप्रोफाइल नेताहरु हुनु हो। नेकपा महासचिव विष्णु पौडेल बुटवलबाट निर्वचित सांसद हुन् भने मुख्यमन्त्री शंकर पोखरेल दाङका हुन्। पौडेल र पोखरेल दुवैजना प्रधानमन्त्री ओली निकटका हुन्।

पहिला अस्थायी मुकाम तोक्ने बेलामा पौडेलको जोडबलमा बुटवलमा राखिएको थियो। अहिले प्रदेश राजधानी तोक्ने काममा ढिलाई हुनुको पछाडी पोख्रेल र पौडेल आफ्नो आफ्नै अडानबाट टसमस नहुनु नै रहेको थियो। यद्दपी प्रदेश राजधानी स्थाई रुपमा बुटवल नै हुनुपर्छ भन्ने कुरामा दृण रहेका पौडेलले एकाएक दाङ बनाउने कुरामा ग्रिन सिग्नल दिएका छन्। स्रोतका अनुसार पौडेलको समर्थनमा प्रदेश राजधानी दाङ तोकिएको हो।

अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश राजधानी हुने अपेक्षा स्थानीय तथा त्यहाँका नेताहरुले गरेको स्थितिमा दाङमा राजधानी लैजाने निर्णय आएको छ।

स्रोतको अनुसार बुटवलमै राजधानी राख्नुपर्ने पक्षमा रहेका पौडेललाई अर्थमन्त्री बनाइदिने प्रस्ताव प्रधानमन्त्री ओलीले गरेसंगै उनि पछि हटेको हुन्। पौडेललाई अर्थमन्त्री बनाउने र प्रदेश ५को राजधानी दाङ बनाउने प्रपञ्च अन्तर्गत नै निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको बहिर्गमन भएको हो, स्रोतको दाबी छ।

प्रदेशको स्थायी मुकाम तोक्ने सन्दर्भमा पौडेल पछि हटेको प्रदेशसभा सदस्य बैजनाथ चौधरीको भनाइ छ। “उहाँ सुरुदेखि नै रुपन्देही, बुटवलकै पक्षमा उभिनुभयो। पहिला अस्थायी मुकाम तोक्ने बेलामा पनि उहाँकै जोडबलमा बुटवलमा राखिएको हो। तर, पार्टीमा अहिले उहाँले भूमिका खेल्न सक्नुभएन। सचिवालयमा उहाँ एक्लै पर्नुभयो,” उनी भन्छन्।

आइतबार प्रदेशसभामा प्रस्तुत हुने राजधानी सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने र आन्दोलनलाई साम्य पार्न पौडेललगायतले पहल गर्ने तयारी भइरहेको बुझिएको छ। त्यसैको मुख्यमन्त्री शंकर पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ आएका छन्।

पोखरेलले दाङ लैजान निकै जोडबल गरे। उनलाई पूर्वमाओवादी केन्द्रका सांसद, नेता र प्रचण्ड स्वयम्ले पनि साथ दिए। ओली सकारात्मक भएपछि दाङ प्रस्ताव गर्न कुनै कठिनाइ भएन। पार्टीका नेता एकमुख भएर प्रस्ताव गरेपछि पौडेलले सहमति दिएको प्रदेशसभा सदस्य चौधरीको भनाइ छ। यो सफलतासँगै आगामी महाधिवेशनमा पोखरेललाई महासचिवको सम्भावित दावेदारका रुपमा समेत हेरिएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश ५ को राजधानी दाङ तोक्न आन्तरिक निर्देशन दिएको थियो। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राजधानी दाङ तोक्ने सहमति भएको थियो। प्रदेश- ५ का मुख्यमन्त्री पोखरेलको प्रस्तावमा नेकपाका दुई अध्यक्षले समर्थन गरेपछि प्रदेश राजधानी दाङ हुने निर्णय भएको हो।

शनिबार बसेको प्रदेश ५ को नेकपा संसदीय दलको बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आफ्ना असन्तुष्टि राखे पनि मतदानका क्रममा सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

यद्धपी रूपन्देही र कपिलस्तुका प्रदेशसभा सदस्यले सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए । रूपन्देहीका प्रदेशसभा सदस्यले पूर्वाधार सम्पन्न भएको स्थानबाट पूर्वाधार नै नभएको र बस्ती बसाल्न पनि वर्षौं लाग्ने स्थानमा स्थायी राजधानी तोक्नु दुर्भाग्य भएको बताउँदै निर्णय फिर्ताको माग गरे । कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमै हुनुपर्ने माग गरेका थिए ।

त्यस्तै, देउखुरी क्षेत्रलाई केन्द्र मानेर प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि दाङमा खुसियाली छाएको छ भने बुटवलमा कांग्रेसले विरोध प्रदर्शन थालेको छ । प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको थियो।

कांग्रेसले आन्दोलन थाली रहदा नेकपाका साबिकको लुम्बिनी अञ्चलका नेता भने छलफलमा जुटेका छन् । बुटवलमा हुन सक्ने आन्दोलनको नेतृत्व गर्ने कि नगर्ने र कांग्रेससँग कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको एक नेताले बताए । तर पार्टीका अध्यक्षद्वयबीच सहमति भएको र ह्विप लागेको अवस्थामा विरोधका विषयमा उनीहरू खुलेर बोल्न सकेका छैनन् ।

साबिक लुम्बिनी अञ्चलका पूर्वएमालेहरू बुटवल राजधानी हुनुपर्छ भन्नेमा रहे पनि पूर्वमाओवादीतर्फका धेरै नेता दाङकै पक्षमा छन् । त्यसले नेकपामा आन्तरिक द्वन्द्व बढ्न सक्ने भएकाले उच्च तहबाटै धेरै अघि नबढ्न संकेत आइरहेको रूपन्देहीका एक नेताले बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट