बुधबार, मंसिर १५ २०७८

राजा विरेन्द्र भन्नुहुन्थ्यो- ‘हामी जनताका रक्षक हौं, जनतालाई गोली हान्नु हुन्न’



  • नेपालदीप
  • बिहिबार, असोज २२ २०७७
27.3K
SHARES

डा.रघुनाथ अर्याल, पूर्व पण्डित राजदरबार

देशमा आन्दोलन सकिएको केही महिना मात्रै भएको थियो। श्री ५ महाराजाधिराज वीरेन्द्रले विदेशीको सामु झुक्नुभन्दा नेपाली जनतालाई नै अधिकार सम्पन्न बनाउने गरी बहुदलीय प्रजातन्त्रको घोषणा गरिबक्स्यो। आन्दोलन रोकियो तर मुलुकको धरोहर तत्कालीन राजा रानीका विरुद्ध भाषण रोकिएको थिएन अझै।

यसै क्रममा केही महिनामै विसं २०४७ सालको हरितालिका तीज आयो। बडामहारानी ऐश्वर्य नियमित पूजाका लागि पशुपतिनाथ र गुह्येश्वरी सवारी भएको थियो भने दरबारको पूजाको हाम्रो तयारी सधैं झैं भैसकेको थियो।

तर श्री ५ बडामहारानी ऐश्वर्यको सवारी पशुपतिनाथबाट निर्धारित समयमा फिरेन। हामी वडामहारानीलाई कुरेर बसेका थियौं। सवारीभन्दा केही समय अगाडि नै शाही पाश्र्ववर्ती आइसकेका छन् अर्थात् उनी फिर्ता भइसकेका थिए।

दरबारमा एक किसिमको खैलाबैलाजस्तो भयो कर्मचारीहरुमाझ। बडामहारानी किन ढिला सवारी भयो भन्ने कुराले सबै अचम्मित थिए। खै किन ढिलो भयो थाहा भएन केही समयपछि फोन आयो बडामाहारानीको सवारी भइसक्यो अव श्री सदनबाट सवारी केही समयमा पूजा कोठामा हुने जानकारी आयो।

दरबारको चलनअनुसार, श्री ५ बडामहारानी पशुपतिनाथबाट सवारी हुँदा तत्कालीन श्री ५ अधिराजकुमारी श्रुति, अधिराजकुमारी श्री ५ कोमल, श्री ५ प्रेक्षा, शाहज्यादी पूजा, प्रेरणा, सीतास्मा, दिलाशा र अन्य राजपरिवारका सदस्य साँझमा पशुपतिनाथ दर्शन गरेर फर्किन्थे।

पशुपतिको दर्शनपछि श्री ५ बडामहारानी र अधिराजकुमारी श्रुति पूजा कोठा नारायणहिटी राजदरबारमा सवारी हुन्थ्यो भने अधिराजकुमारीहरु कोमल, प्रेक्षा र शाहज्यादीहरु तत्कालीन अधिराजकुमार श्री ५ ज्ञानेन्द्रको निजी निवास निर्मल निवासमा फिर्ती हुन्थ्यो।

पूजा कोठा राजदरबारमा आवश्यक सामग्रीसहित साविकव्यबस्था अनुसार नै खर्च विभाग राजदरबारका हाकिम र अन्य कर्मचारी, प्रमुख राजदरबार पदाधिकारीहरु उपस्थित भइसकेका थिए। अव सवारीको बाटोतर्फ हाम्रो ध्यान केन्द्रीत थियो। किनकि त्यति बेलासम्म पूजा कोठामा बडामहारानीको सवारी भएको थिएन।

पशुपतिनाथको पूजाबाट ढिला आएपछि केही तनाव त अवश्यभयो होला नै तर पनिबडामहारानीको मुहारमा त्यत्ति धेरै फरक पाइएन। पहिला पूजा कोठाको हवनकक्षमा सवारी भई पूजा गर्दै छोरी श्रुतिलाई पनि सिकाउने गरेको याद अहिले पनि ताजै छ। त्यस समयमा ‘श्रुति पनि छ विस्तारै गर्नु’ हुकुम भएको थियो मलाइ। हरितालिकाको चार प्रहर पूजा हुने, तीन प्रहरको पूजा लाख बत्ती त्यस बेला तीज कै दिनमा नै गरिन्थ्यो।

चतुर्थ प्रहार पूजा भोलिपल्ट विहान गरिने र व्रतपारायण हुने चलन थियो। भोलिपल्टको सवारी साढे १० बजेदेखि ११ बजेसम्म हुने गरेकोमा ‘भोलिपल्ट अलि चाँढै गर्नु पर्ला श्रुति पनि छ, भोलिपल्ट विहान तपाईंहरुलाई कति बेला अनुकुल हुन्छ, सम्भव भएसम्म छिटो गरौं’ भन्ने आसय महारानीबाट व्यक्त भयो। यति भनेर पूजाकोठा भित्र दर्शन गरी मौसुफको फिर्ती सवारी भयो।

पूजा कोठाबाट उहाँ श्री सदनतर्फ फर्किएपछि पूजा कोठामा आउन महारानीबाट किन ढिलाभयो भन्ने कुरा हामीले थाहा पायौं। सवारीका साथमा गएका खर्च अड्डाका हाकिमले पशुपति सवारी हुँदा घटेका घटनाको बारेमा हामीलाई जानकारी दिएका थिए।

घटना थाहा पाएर हामी अचम्ममा परेका थियौं। तर, त्यहाँ त्यसबारे थप छलफल र चासो राख्ने कुरा पनि भएन, चलन पनि थिएन। पूजा कोठामा बालिएको बत्ती कुर्न ब्राम्हणहरु राखेर हामी आ–आफ्नै घरतिर गयौं।

भोलिपल्ट विहान ९ बजे पूजा कोठा सवारी भई चतुर्थ प्रहरको पूजा व्रतपारयण भएपछि मौसुफहरु फिर्ती सवारी भएपछि हरितालिको व्रत निराहार बस्ने शास्त्रीय मान्यता अनुसार विवाहित महिलाहरु निराहार व्रत नै बस्ने चलन दरवारमा पनि थियो। मलाइ जानकारी भए अनुसार, वडामहारानी कोमल र युवाराज्ञी हिमानीबाट पनि निराहार नै व्रत बस्ने गरिन्थ्यो।

पूजाको क्रममा निर्मल निवासतर्फ पनि पूजाकोठा राजदरबारकै ब्राम्हणहरु २ जना खटिई जाने परम्परा थियो। तर निर्मल निवासमा रात्री बत्ती कुर्न ब्राम्हण बस्नु पर्दैनथ्यो। किनकि त्यहाँ सधैं बस्ने ब्राम्हणीहरुले नै कुर्दथे।

हाम्रो संस्कार संस्कृति, रीतिरिवाज र परम्परालाई सिध्याउने खेल २०४६ सालबाट नै शुरु भएको हो। त्यो दिन श्री ५ बडामहारानी सबै सरकारहरु गुह्यश्वरीबाट पशुपति दर्शनपछि फर्किने क्रममा गौशाला वनकाली क्षेत्रबाट मौसुफहरु अघि बढिरहँदा मुर्दावादको नारा लागेको रहेछ। नारामात्र होइन नियोजित भीडले मौसुफहरुको मोटरमाथि ढुंगाप्रहार पनि गरेका रहेछन्। तर, कुनै किसिमको मानवीय क्षति भएन यसलाई सुखद संयोग नै मान्नुपर्छ।

तत्कालीन युवराजधिराज दीपेन्द्र पनि त्यस दिन पशुपतिमा आमा र बैनीको साथमा सवारी भएको रहेछ। चारैतिरबाट ढुंगा, शिशाका बोत्तल प्रहार हुन थालेपछि तत्कालीन शाही रक्षक सैनिक प्रहरीले केही राउण्ड हवाई फायर गर्यो र श्री ५ दीपेन्द्र चढेको मोटरलाई घेर्यो। त्यसपछि ढुंगामुढा गर्नेहरु वेद विद्याश्रमतर्फ भाग्दै ढुंगाहान्दै गरे, मुर्दावादको नारा पनि लगाउँदै थिए।

तत्कालीन अधिराजकुमारी (पछिबडामहारानी) कोमल सो घटनाले निकै आक्रोशित हुनुभएछ। उहाँ मोटरबाट निस्केर ‘हान् मलाइ हान्’ भन्दै कराउन थाल्नु भएछ। उहाँले त्यसरी आक्रोश पोख्न थालेपछि शाही रक्षक सैनिक प्रहरीका अधिकृतले उहाँलाई मोटरमा नै बस्न आग्रह गरेका रहेछन्।

अधिकृतको आग्रह पछि उहाँ आक्रोशित हुँदै मोटरमा फर्कनु भएको र त्यसपछि अलि छिटो गरी सवारी चलाइएको रहेछ। सैनिक प्रहरीले सवारीको मार्ग पनि परिवर्तन गरी रिङरोड हुँदै नारायणहिटी दरबार फर्किएको थियो। रिङरोडतिर फर्किनु परेका कारण निर्धारित समयमा बडामहारानी ऐश्वर्य दरबारको पूजा कोठामा आउन नसक्नु भएको रहेछ।

हाम्रो धर्म संस्कृति र संस्कारमाथि प्रहार त्यसै दिनबाट नै शुरु गरी देवालय, तीर्थ, धर्म संस्कार सबै बुझाउने कवुल गर्नु भएका विदेसीका प्रतिनिधि—हालका पार्टीका नेता डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र अन्य उनैका सहयोगीले तत्काल गरेको त्यो संकेतले के थियो अहिले सबैका सामु छर्लंग छ।

त्यो बेला हानेको ढुंगा हाम्रो राष्ट्रियता, धर्म संस्कार र संस्कृति माथिको प्रहार त छँदै थियो। अव देश कता बुझाउने हो थाहा छैन। राजा रहेसम्म देश टुक्र्याउन पाइँदैन, राजा रहेसम्म धर्म फाल्न सकिँदैन यसैले राजा फलियो भन्ने गहिरो छाप हिन्दू धर्मावलम्बीहरुमा छँदै छ। त्यसबेला महारानीलाई ढुंगा हानेको मजाहाल देश लुटेर लिइरहेका होलान्।

तत्काल त्यहाँ घटनामा किन सैनिक प्रहरीले गोली हानेन? यसमा महाराजधिराज वीरेन्द्रको आदेशले काम गरेको रहेछ। २०४६ सालको आन्दोलनमा केही मान्छे मारेको खवरपछि श्री ५ बाट दललाई बोलाएर निर्दलीय व्यबस्थाको विकल्प कस्तो संविधान चाहिन्छ लेख भनिसकेपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कार्यकारी भई देश हाँकिरहनु भएको थियो।

रक्षामन्त्रीको हैसियतमा उहाँले प्रधानसेनापतिमार्फत जानकारी लिनु हुँदा श्री ५ महाराजाधिराज वीरेन्द्रबाट कहीँ कसैको पनि ज्यान जाने काम नगर्नु नगराउनु, हामी जनताका रक्षक हौं, जनतालाई गोली हान्नु हुन्न, कुनै विषम परिस्थिति नपरे हतियार नचलाउनु भन्ने आदेश सबै सैनिक निकायलाई दिइएको थियो। त्यसैले महारानीलाई ढुंगामुढा गर्दा पनि सैनिकहरुले ताकेर गोली नहानेका रहेछन्।

गोली नचलाई ढुंगा मुढाबाट बचाएर महारानी र राजपरिवारलाई सुरक्षित रुपमा राजदरबार ल्याएकोमा त्यसबेला पशुपतिनाथको दर्शनार्थ सवारी चलाउने सुरक्षाकर्मचारीहरु अधिकृतदेखि सिपाहीसम्म सबैलाई रु. पाँचसयका दरले बकस बक्सेको थियो।

काम गर्ने सेना र सुरक्षा निकायको हौसला यसरी बढाइन्थ्यो तर आजभोलि सेना र सिपाहीको सम्मान ‘लकिरका फकिर’ (रक्षामन्त्री ईश्वर पोख्रेलले केही समयअघि नेपाली सेनाको कामको चर्को आलोचना गर्दै लकिरका फकिरको कथा सुनाएका थिए सार्वजानिक रुपमा) मा पुगेको छ। भोलि कहाँसम्म पुग्ला त्यो समयले नै बताउला।

राजीब गान्धीको हत्यामा ऐश्वर्यलाई मुछेर कांग्रेसआईले रचेको थियो दरबार हत्याकाण्ड

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट