सोमबार, असार ७ २०७८

गणतन्त्र घोषणा पछि काठमाडौँमा पहिलोपल्ट खुलेआम गुञ्जियो ‘श्रीमान गम्भीर नेपाली…’


  • नेपालदीप
  • शनिबार, मंसिर २० २०७७
14.9K
SHARES

काठमाडौँ। नेपालमा पहिलो संविधान सभाको बैठकबाट राजसंस्था उन्मुलन र गणतन्त्र घोषणा भएको लगभग १३ वर्षपछि फेरि देशको राजधानी काठमाडौँमा खुलेआम राजाकालिन राष्ट्रिय धुन ‘श्रीमान गम्भीर नेपाली…’ गुञ्जिएको छ।

शनिवार नागरिक आन्दोलन २०७७ भन्दै भएको प्रदर्शनमा विस्थापित पुरानो राष्ट्रिय गान गुञ्जिएको हो।

डेढ वर्षअघि बुटवलमा भएको एउटा कार्यक्रममा पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली…” बजाएको आरोपमा दुई युवक पक्राउ परेका थिए। उनीहरूलाई त्यसबेला “अभद्र व्यवहार” गरेको आरोपमा मुद्दा चलाइएको प्रहरीले बताएको थियो।

तर डेढ वर्ष बित्न नपाउदै राजधानीको मुटुमा हजारौंले पुरानो राष्ट्रिय गान गाउदा सरकार मुकदर्शकमा परिणत भएको छ।

हजारौं मानिसले एकै स्वरमा पुरानो राष्ट्रिय गान गाउँदा हिडिरहेका गाडी, सर्वसाधारण समेत यथास्थानमा अडिएर सम्मानभाव प्रस्तुत गरेका थिए।

जुन संविधानले नेपालको पुरानो राष्ट्रिय गान विस्थापित गरेर ‘सयौं थुँगा फूलका हामी’लाई मान्यता दिएको थियो। त्यहि संविधान घोषणा भएको तत्कालिन संविधान सभा भवन अगाडी नै फेरि राजाकालिन धुन बजाइएको छ।

बिहानै देखि झाकी, बाजागाजा सहित माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बानेश्वर सम्म आएर कोणसभामा परिणत भएको थियो। हजारौंको संख्यामा उपस्थित आन्दोलनकारीहरुले गणतन्त्रको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका थिए।

देशमा भ्रस्टाचार, विदेशी हस्तक्षेप बढेको, अभिभावकको अभाव भएको भन्दै राजसंस्था पुनस्थापनाको लागि आन्दोलन सुरु गरिएको नागरिक अगुवाहरुले बताएका छन्।

यसअघि व्यवस्था विरोधी आन्दोलनमा सरकार कडा रुपमा प्रस्तुत हुने संकेत दिएपनि अन्तिम समयमा सरकार आफ्नो निर्णयबाट पछाडी हटेको थियो। शान्तिपूर्ण विरोध र्यालीलाई दमन गरे प्रतिकार गर्ने चेतावनी नागरिक अगुवाहरुले दिए पछि सरकार पछि हटेको हो।

त्यस्तै, आजै नागरिक आन्दोलन भन्दै चितवनको पारसबसपार्कबाट राजाको समर्थनमा र्याली निस्किएको छ। चितवनमा भएको बाइक र्यालीमा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति रहेको छ।

उता पूर्व झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नै अगुवाईमा र्याली निकालेको छ। झापामा भएको शान्तिपूर्ण विरोध र्यालीमा ५००० भन्दा बढी मानिस उपस्थित भएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट