बिहिबार, बैशाख ९ २०७८

उखु किसानको करुण रोदन र हराएको सरकार


  • नेपालदीप
  • शुक्रबार, पुष ३ २०७७
5.8K
SHARES

तपाईँ हामी सबैको घर-भान्सा र परिकारमा गुलियो स्वाद बनेर आउने तयारी उत्पादन चिनी, खूदो, भेलि, गुड, सखर वा मदिरा सबै हामीले नगद रकम तिनेर नै किन्छौँ, हैन र ? उपभोक्ताले नगद तिरेर उत्पादन किन्दिने भएपछि सम्बन्धित उद्योग र कारखानाहरुको नगद प्रवाह नियमित हुनु पर्ने हो। तर त्यो नगद ऊखु उत्पादक किसानसम्म किन पुग्दैन र कतै अन्तै हराउने गर्छ ? कठिन परिश्रमका पर्याय ऊखु किसानहरु किन हरेक बर्षको हिउँदमा, आफ्नो उत्पादनको मूल्य नपाएर आन्दोलित हुँदै राजधानी धाउनु पर्ने बाध्यता सिर्जना गरिएको छ? के हो यसको गुत्थी ? स्पष्ट छ, चिनी मिलका मालिकहरु किसानबाट उखु किनेर चिनी आदि बनाई बेच्छन्, त्यो रकम अन्तै लगानी गर्छन् र अझै धनी बन्छन्। अर्को तर्फ आफ्नो परिश्रम र उत्पादनको मूल्य नपाएर गरीब किसान तड्पिई रहन बाध्य छन्।

अहिले मुलुकमा गरीब किसान र मजदूरको कल्याणको मसिहा भएको दाबी गरेर सत्तासीन बनेका कम्युनिष्टरुहको हालीमुहाली छ। उनीहरुले चाहे भने जे पनि गर्न सक्छन् तर उनीहरु २०७० सालदेखि २०७७ सम्मको बक्यौता रकम नपाएका उखु किसानको मूल्य तिराउन केही गरिरहेकै छैनन्। बरु तिनको हिमचिम उद्योगपति मालिकहरुसंग गएर जोडिएको छ र निरुपाय छन् । त्यसो हुँदैनथ्यो र सरकारले चाहन्थ्यो भने त बक्यौता रकम तिराउने शर्तमा गत बर्ष गराइएको सम्झौता कार्यान्वयन गराउन नसकिने कुनै पहाड त बीचमा खडा नहुनु पर्ने !

गरीबका लागि समानता, सम्मान दिलाउन हिंसात्मक माओवादी कम्युनिष्ट क्रान्ति गरी सत्तामा आइपुगेका उद्योगमन्त्री लेखराज भट्ट छन्। गरीब किसान र मजदूरका गीत गाएर तिनको मुक्तिको लागि रगताम्मे युद्ध लडेकाहरु सत्तामा पुग्दा किन कानमा बिर्को ठोसेर लुकिरहेका छन्, उदेक छ। सत्ता बाहिर रहँदा लोककल्याण र समाजवादका धुरन्धर प्रवचन गरेर कहिल्यै नथाक्ने घनश्याम भूसाल कृषी मन्त्री छन्। कुरा सुन्दा, उखु किसानहरुको पक्षमा लागेर अभिभावक बन्नु पर्ने हो उनी। तर, सत्तारूढ पार्टीका दुई अध्यक्ष गूटको कलहमा अम्प्यरिङ गरिरहँदा, उनलाई पनि आफ्नो जिम्मेवारी र कतर्व्यको कौपिन उडेको पत्तै छैन।

आम्दानीको एक मात्र स्रोत उखु उत्पादको मूल्य पाउने अभिलाषामा आफ्ना पिताको उपचार थाति राख्दै पर्खेका राम लखन यादवले धुरुधुरु चुहाएका आँसुले किन सत्तासीनहरुको मन पोल्दैन? जाडो र आसन्न शित लहर संग जुध्न आफ्ना लालाबालाका लागि न्यानो कपडा जोड्ने सपना साँचेर रकम कुरेका शोभन कुर्मीका अश्रूपूर्ण आँखा र अपेक्षामाथि किन सत्तासीनको करुणा जाग्दैन? के हिजोको कम्युनिष्ट क्रन्दन केवल सत्तामा पुग्न कथिएको कारुणिक कथानक मात्र थियो? काठमाण्डौको कठ्याङ्ग्रिने चिसोमा परिश्रमी तराईया किसानको पीडा र दु:खका आँसु तुषारोमा बदलिएर चिनी जस्तै देखिन थालेका छन् । तर गरीब र सर्वहाराका उद्दारकर्ता कम्युनिष्टहरु अचानक दृश्यपटलबाटै गायब बनेका छन्। अथवा ती अग्ला अट्टालिका र भव्य दरबार भित्रको रमझमले अन्धो बनेर बाह्य संसारका दु:ख-पीडा नदेख्ने पत्थरमा बदलिएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट