बिहिबार, बैशाख ९ २०७८

विशेष सम्पादकीय: नेपाली राजनीतिको दोहोरिँदो दुश्चक्र


  • नेपालदीप
  • आइतबार, पुष ५ २०७७
4.9K
SHARES

नेपाली राजनीतिको अस्थिरता र गोलचक्कर दोहोरिएको छ।

दल भित्रको आन्तरिक शक्ति संघर्ष व्यवस्थापन गर्न नसक्दा, मुलुक फेरि एक पटक मध्यावधि निर्वाचनतर्फ धकेलिएको छ। विशाल बहुमतको नेपाल कम्युनिष्ट पार्टीको सरकार आफ्नै दलको आन्तरिक विवादका बोझले थचक्क थेचरिएको छ। स्थिरता र सुशासनको डंका पिटेर ५ बर्ष शासन सम्हाल्ने उसको दावा शिशाको घर झैँ झर्‍यामझुरुम बनेको छ। सत्तारुढ दल भित्रको कचिंगलले मुलुकलाई फेरि अस्थिरता मात्र उपहार दिएको छ। मुलुक असमयको चुनाबमा धकेलिँदा, अनिश्चय र अनहोनीका काला बादल नेपाली क्षितिजमा फेरि मडारिएका छन्। समय बित्दै जाँदा वैशाखमा तोकिएको चुनाब हुन्छ नै भन्ने कुनै निश्चितता हुने छैन।

तत्कालीन नेकपा एमले र माओवादीका शीर्ष नेताहरु केपी ओली र प्रचण्ड एकापसमा सबैभन्दा बिपरित देखिन्थे। ३ बर्ष अघिको चुनाबको मुखमा  रहस्यमय तरिकाले तिनले पार्टी एकीकरणको घोषणा गरे अनि आसन्न चुनाबमा ठूलो बहुमत पनि ल्याए। यत्रो बहुमतको सरकारले स्थिरता र सुशासन देला भन्ने आम नेपाली जनताको स्वाभाविक अपेक्षा थियो। तर, ती दुई शीर्षस्थ नेता द्वयको बिमति, दन्तबझान र बाझबाझ शुरुवाति दिनदेखि नै प्रकट भयो।

नेकपा पार्टी भित्रको झगडामा प्रधानमन्त्री ओलीको आँफू खुशी सरकार चलाउन पाउनु पर्छ ठान्ने उनको अभीप्सा र कम्युनिष्ट पार्टीको शासनमा पार्टीले सरकारलाई नियन्त्रण गरेर चलाउनु पर्छ भन्ने प्रचण्ड समूहका दुई सोचको टकराव यो अवधिमा विवादको जड रह्यो। एकीकरणताका, आधा-आधा समय सरकारको नेतृत्व गरी चलाउने भन्ने सहमति भएको र त्यसको पालना गर्नतिर ओलीले बेवास्ता गरेको बारेमा प्रचण्डको असन्तोषलाई पनि यसको कारक मानियो। सरकारको नेतृत्व नदिने भए, प्रचण्डले नेकपाको पूर्ण कार्यकारी अध्यक्षको रुपमा काम गर्न पाउनु पर्ने जिरह पनि गरिरहे। भएका मौखिक र भद्र सहमतिको भाखा ओलीबाट पूरा नहुँदा, प्रचण्डको बेचैनी बढ्ने नै भयो। दलमा ओली र उनको अहंकारी पेलुवा शैलिसंग पहिल्यै रुष्ट माधव नेपाल समूहले पनि प्रचण्डको बेचैन आगोमा घ्यू थप्ने काम गरी रहयो।

नेकपा एमाले-माओवादी पार्टीबीच अप्रत्याशित, रहस्यमय र असम्भव जस्तो देखिएको पार्टी एकीकरणका लगभग ३ बर्ष पूरा हुँदा, दल भित्रका गूटहरुको शितयुद्धले नै नेपाली राजनीति बलजफ्ति लतारीरह्यो। सरकारमा भएकाहरुको ध्यान आ-आफ्ना गूटलाई नै मलजल गर्ने काम बाहेक अरु रहेन। सरकार हरेक कित्तामा गर्नै पर्ने काम बाहेक सबथोक गर्नमै व्यस्त देखियो। किनभने उसले सरकारमा बसेर मुलुक चलाएन, केवल आफ्नो दल मात्र चलाइरह्यो। परिणाम , ३ बर्ष लगाएर जोड्न खोजिएको पार्टी फेरि फुट्ने संघारमा सुनिश्चित अवतरण भएको छ र मुलुक अस्थिरताको दुश्चक्र सुरुङमा हुलिएको छ। यसमा केवल प्रधामन्त्री ओलीको दम्भ र अहम् जिम्मवार छ। किनभने सरकार प्रमुखका नाताले उनले आवेश, आक्रोश र कर्कशतालाई मलजल गरे, सम्झौता, सुलह र सौम्य व्यवहार उनको स्वभावमा नै थिएन फलत: मुलुकले त्यो पाएन। अंग्रेजीमा एउटा भनाइ छ: ‘ब्याक टू स्क्वायर वन’, मुलुक राजनैतिक दुश्चक्रको त्यही विन्दुमा आइपुगेको छ। दुर्भाग्य !

 

कृष्ण पौडेल

प्रधान सम्पादक, नेपालदीप

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट