सोमबार, मंसिर १३ २०७८

पत्नी जुली जता पति रघुवीर त्यतै : फर्किए ओली गुटमा



  • नेपालदीप
  • बुधबार, पुष ८ २०७७
15.9K
SHARES

काठमाडौँ। औपचारिक विभाजन हुन मात्र बाकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुको कित्ताकाट चलिरहेको बेला पति-पत्नी नै फरक खेमामा पुगेको भनेर चर्चा गरिएका रघुवीर महासेठ र जुली महतो दम्पती फेरी एक ठाउँमा आइपुगेका छन्।

महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आयोजना गरेको स्थायी कमिटी बैठकमा पुगेका थिए भने महतो ओली समूहका भेलामा सहभागी भएकी थिइन्। यसरी श्रीमान श्रीमती नै दुई धारमा लागे पछि केहि संचार माध्यमको ‘लाइमलाइट’मा परेको यो दम्पति फेरी एकै ठाउँमा उभिएको हो।

मंगलवार दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भाग लिएका नेकपा नेता रघुवीर महासेठ पुनः ओली क्याम्पमा लागेका छन्।

स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि उनी आज प्रदेश २ को प्रशिक्षणमा वक्ताका रुपमा राखिएका छन्।

मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा बसेका महासेठ केन्द्रीय कमिटी बैठकमा भने थिएनन्।

महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन्। उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन्।

महासेठ र महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्। स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए। पछि उनलाई हटाइएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट