बिहिबार, बैशाख ९ २०७८

नेपाली राजनीतिका ‘बादल’ हरु:


  • नेपालदीप
  • बिहिबार, पुष ९ २०७७
5.3K
SHARES

राजनीति बिचित्रको खेल हुन्छ, जे बोले पनि , जे गरे पनि जता फर्के पनि तर्क बनाउन र तर्कको खेती गर्न सकिन्छ। आलोचना गर्ने बिरोधीहरुले गर्दै रहन्छन्, समर्थकहरुको झुण्ड पनि खडा गर्न सकिन्छ र तिनले कठिन परिस्थतिमा धिमा रहेको जयजयाकारलाई प्रतिकूलता हट्ने बित्तिकै उजागर गरिहाल्छन्, उचाल्छन् र उत्सव बनाउँछन्। समय नबित्दै, हिजोका चरम विवादित वा दुत्कारयोग्य घटना, सन्दर्भ र पात्रहरु बिस्तारै बिर्सिइन थाल्छन् र तिनको सामान्यीकरण हुन्छ। हाम्रो ताजा स्मरणमा ‘बादल’ लाग्छ र ‘बादलिएको’ यही स्मृति हाम्रो परिचय बनेर स्थापित हुन्छ। ‘बादल’ एउटा प्रवृत्ति हो, जुन नेपाली मानसको सर्वत्र व्याप्त छ। तपाईँ हामी सबै ‘बादल’ हौँ, नभए पनि समय आएपछि ‘बादलिने’ छौँ। तर, एउटा विशिष्ट खालको ‘बादल’ प्रवृत्ति भने वर्तमानमा राजनैतिक चर्चाको केन्द्र बनेको छ, ती विम्व  हुन् वर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’।

तत्कालीन ध्वंश-हिंसा युद्धका सैनिक रणनीतिकार मानिने राम बहादुर थापा ‘बादल’ माओवादी पार्टी सुप्रिमो प्रचण्डका अति निकट दाहिने हात नै मानिन्थे। माओवादी पार्टी भित्रका दुई: युद्ध पक्षीय र वार्ता पक्षीय गूटहरु मध्ये उनलाई युद्ध पक्षका अग्रणी नेता मानिन्थ्यो। राज्य बिरुद्ध हिंसात्मक युद्ध मार्फत पूर्ण विजय प्राप्त गरी उत्तर कोरियाली शैलिको अकण्टक कम्युनिष्ट राज्य सत्ता स्थापना गर्ने उद्देश्यका कट्टर रणनीतिकार थिए उनी। पार्टी भित्र बेलाबखत उठ्ने वार्ता र सम्झौतावादी धारणामा उनी कठोर बिमति राख्थे र त्यस खालका नेता बिरुद्ध उभिन्थे। उनको छवी नबोल्ने तर ‘एक्सन’ मा जाने सैन्य योजनाकारको बनेको थियो। पार्टी भित्र डा बाबुरामको सम्झौता-सुलहवाद बिरुद्ध, प्रचण्डले ‘बादल’ को कट्टरतालाई उपयोग गर्ने गरेका प्रसंग त्यतिबेला चर्चित थिए। तर परिस्थिति ‘बादल’ को चाहना अनुसार मात्र चलेन। माओवादी पार्टी समग्रमा अन्तत: शान्ति सम्झौतामा अवतरण भयो।

माओवादी पार्टी भित्रैका कट्टरपन्थी मानिने नेताहरु- मोहन वैद्य, बादल, सिपी गजुरेल, देव गुरुङ, विप्लव, पम्फा भुसाल शान्ति सम्झौता र संसदवादी बाटोमा भासिनका लागि ल्याइ पुर्‍याएको आरोप आफ्नै पार्टीका प्रचण्ड समूह, बाबुराम, महरा आदि नेताहरुलाई लगाउने गर्थे त्यति बेला। फलत: वैद्य र विप्लवले असन्तुष्ट क्रान्तिकारीहरुको बिगूल बजाइरहे र त्यही बाटो रोजे। वैद्य असन्तुष्ट बनेर सिद्धान्तको झण्डा बोकेर लगभग चुपचाप छन् र विप्लवले चन्दाको धन्दा र हिंसात्मक विरासत सम्हालेर ‘माओवादी’ हुनुको वजूद रक्षा गर्दैछन्। शुरुमा, संसदवादी र बिसर्जनको भासमा जाकिन आइपुगेको नेपाली माओवादबारे चरम असन्तुष्ट भई असन्तुष्ट समूहसंगै फेरि हिंसात्मक बाटो लागेर कम्युनिष्ट सत्ता निर्माण गर्ने कि भन्ने दोधारमा परेका ‘बादल’ हरु क्रमश: सत्ता र चमकधमकको बाटोमा लहसिन थाले। भर्खरै गरिएको संसद बिघटनको विन्दुमा आइपुग्दा भने, उग्र कम्युनिज्मको पर्याय रहेको ‘बादल’ वाद १८० डिग्री फर्केको देखिँदैछ। किनभने, सरकारको अत्यन्त प्रभावशाली अनि ग्लामरस, लाभ र रवाफको पर्याय  गृहमन्त्रालय  प्रमुखकको रुपमा ‘बादल’ आफ्नो हिंसात्मक विरासतको ‘माओवाद’ मा फर्किनै नसकिने गरी ‘मेटामर्फोज्ड’ बनेका छन्, आफ्ना पुराना नेता एवं राजनैतिक गुरु ‘प्रचण्ड’ को साथ र सान्निध्यलाई प्रणाम गर्दै धेरै पर पुगेका छन्। अब ‘बादल’ ओलीका सारथी हुनेछन् , जुन उनका लागि अति उचित छनोट रहेको हुनैपर्छ।

‘बादल’ प्रसंगले  नेपाली राजनीतिमा एउटा सत्यलाई भने बलियो लाहाछाप ठोकेको छ। त्यो के भने सबै विचार, क्रान्ति, आन्दोलन र समीकरणहरुको अन्तिम गन्तव्य सत्ता हो। सत्ताको वर्चस्व हस्तलाभ गर्न, रचिने, कथिने वा गरिने सबै उपायहरु अपेक्षित सत्ताको मुकाम हासिल गरेपछि सवयंका लागि वैध बन्छन्, त्यसमाथि कसले के टिप्पणी गरे, गर्छन् वा गर्लान् भन्ने कुरा गौण हुन्। राजनीतिमा लज्जा र संकोच भन्ने शब्दलाई स्थान हुँदैन, लक्षित प्राप्तिले साधन र साधनालाई वैध बनाउँछ। शास्त्रले पनि एउटा विजयी सूत्र पस्केको छ: एक लज्जां परित्यज्य सर्वत्र विजयी भवेत् !

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट