मंगलबार, मंसिर २१ २०७८

कांग्रेसको नियति: कुहिरोको काग



  • नेपालदीप
  • आइतबार, पुष १२ २०७७
16.8K
SHARES

केपी ओली र विद्या भण्डारीको कम्युनिष्ट पार्टी गूटले संसद बिघटन गर्दा, प्रचण्ड-नेपाल पक्षीय कम्युनिष्ट समूह तिलमिलाउनु स्वाभाविक थियो किनभने यो पार्टी बिखण्डनको उत्कर्ष कारक थियो। तर, सत्तारुढ दल भित्रको विवादमा आत्म ध्वंशमा उत्रिएको प्रतिपक्षी कांग्रेसका समचार आश्चर्य र उदेक पार्ने खालका बनेर आए! अस्ति एउटा खबर सनसनीखेज भएर फैलियो: ‘संसद बिघटनको प्रसंगमाथि बहस गर्न बसेको कांग्रेस पार्टी केन्द्रीय समितिको बैठकमा झण्डै मुक्कामुक्की!’ यस खालको समाचारले कांग्रेस भित्रको अराजकता र दिशाबिहीनता दर्शाउँछ, यसो हुनु कांग्रेसीजनको दुर्बुद्धि र मूर्खता हो।

संसद बिघटन र पार्टी फूटले मर्माहत पूर्व सत्तारुढ एकीकृत पार्टीको असन्तुष्ट समूहको पिछलग्गू बन्नु कांग्रेसको हैसियत हैन। अरुको पछि लागेर हैन, संसदको विद्यमान मुख्य प्रतिपक्षी दलको नाताले उक्त असंवैधानिक कदम प्रतिरोधी आन्दोलनको पहिलो नेतृत्व र अग्रसरता कांग्रेसको हुनुपर्ने थियो। संविधानले अधिकार नदिएको संसद बिघटननको काम प्रधानमन्त्रीको लहडमा राष्ट्रपतिद्वारा अनुमोदित भएको छ।  प्रतिक्षपक्षीको नाताले त्यस्को सशक्त बिरोध र जनता समक्ष पुन: म्याण्डेटका लागि जाने परिस्थतिका लागि तयार रहेको स्पष्ट सन्देश पनि कांग्रेसले दिन सक्नु पर्थ्यो। तर, किंकर्तव्य बिमूढताको विषम ‘नियत र नियति’ बाट कांग्रेस गुज्रेको देखियो।

यो जगजाहेर भइसकेको छ कि कांग्रेस भित्रका थुप्रै गूट र समूहहरु आ-आफ्नो स्वार्थका बन्दी बनेका छन् । अनि ती सर्वथा अपेक्षित तर अचानक उत्पन्न राजनैतिक घटनाक्रम पश्चात के गर्ने वा कोसंग पछि लाग्न जाने भन्ने भीषण दोधारमा फँसेका छन्।

कांग्रेसको वर्तमान नेतृत्व समूहका नायक सभापति शेरबहादुर देउवा पहिलेदेखि नै सत्तारुतिढ समूहको लाचार छाया बनेर भाग र लेनदेनका लाभमा रमाइरहेको रुपमा जानिएका छन्। सरकार भ्रष्टाचार, कमिशन र बेथिका ठेक्कापट्टामा डुब्दा पनि, उनले यो अवधिमा कांग्रेसलाई जुझारु र प्रखर प्रतिपक्ष बनाउन आवश्यक नै ठानेनन्। सत्तासीन दलका दुई गूट ३ बर्षसम्म सरकार र प्रतिपक्ष बनेर लडिरहे तर आफ्नो भूमिका बिर्से झैँ संस्थापन कांग्रेस भने यही बीचमा च्याँखे थापेर खेलिरह्यो। स-साना लाभका दाना टिपेरै खुशी रह्यो। प्रधानमन्त्रीले संसद बिघटनको तानाबान बुनिरहँदा, एकसाथ गरेका थुप्रै कुटिल राजनैतिक नियुक्तिहरुमा प्रतिपक्षी दलका नेता र तटस्थ सम्मानित न्यायलयका प्रमुख समेत भाग-बण्डामा रमाएको समाचार सार्वजनिक भए।  कर्तव्य र भूमिकाबाट नचिनेर हराउनु र नदारद रहनु अवाक पार्ने घटना हुन्। राजनैतिक संस्कृति स्खलनका बिद्रुप नमूना हुन्।

सुनिँदैछ, कांग्रेसको असन्तुष्ट समूहका प्रमुख रामचन्द्र पौडेललाई, कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले राष्ट्रपति बनाउने उधारो ‘चारो’ फालेर उचालेको छ । उनी पनि त्यही फेरो समाएर आन्दोलनको भुंगो ताप्नु पर्ने जिरहमा उग्र बनेका हुन्। संसद पुनर्स्थापना गर्ने दबाब र आन्दोलनमा साथ दिनुपर्ने र त्यो भएपछि राष्ट्रपतिलाई महाभियोग लगाई पदमुक्त गर्ने  अनि रिक्त हुने पदमा पौडेललाई ल्याउने प्रचण्डको ललिपप उनले पाएको चर्चा छ। यसले मात्र उनी उचालिएकै हुन् भने यो अर्को चरम स्वार्थी र विचारबिहीन राजनीतिको नमूना हो। प्रचण्डको उधारो ‘ललिपप’ को उनी पछिल्लो शहिद बन्नेछन् भन्नेमा ढुक्क भए हुन्छ।

ठूला समाजवादी राग बेला-बेला उरालेर नथाक्ने पौडेल, आफ्ना अतृप्त महत्वाकांक्षा र साँघुरो वृत्तबाट माथि उठ्न सकेनन् भने क्रमश: पार्टीमै एक्लिने छन्। उनको पछिल्लो उग्र ‘स्टण्ट’ले पार्टी भित्रै साथ पाएको छैन र उनी असान्दर्भिक बन्दैछन्। कांग्रेस भित्रका कोईराला, बिमलेन्द्र, सिटौला आदि गूटहरु पनि उस्तै दिशाबिहीन देखिँदैछन् । उता आशा मानिएका गगन, विश्वप्रकाशहरुको आवाज पनि मलिनो र अस्पष्ट बनेको छ। समग्रमा, कांग्रेस कुहिरो भित्र हराएको काग बनेको छ।

सत्तारूढ पार्टी प्रचण्ड बहुमतको सत्ता सम्हाल्न नसकेर बिश्रृंखल र खण्डित बन्न पुगेको परिस्थति प्रतिपक्षी दलका लागि स्वर्णिम मौका हो। साथै मूलधारको एक मात्र लोकतान्त्रिक पार्टी भएको नाताले ‘उदारवादी लोकतन्त्रको’ स्वामित्व र गरिमा अक्षुण्ण राख्न पनि यस्ता संगीन परिस्थतिहरु सिद्धान्तनिष्ठ कांग्रेसको लागि चुनौति र अवसर हुनुपर्थ्यो। परिस्थति र मुद्धाको सही आँकलन गरी, असंवैधानिक कदम बिरुद्ध प्रतिरोधमा उभिन र नया जनमत लिन जाने दुबै अवसरलाई बलियो रुपमा मुखरित गर्न सकेन र असमञ्जसको दोसाँधमा यसरी नै असरल्ल रहने हो भने कांग्रेसका लागि कम्युनिष्टहरुले अवसर कतिञ्जेल जुराई रहलान्?

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट