बुधबार, मंसिर २२ २०७८

गाली-गलौजपूर्ण बिकारबाट माथि उठौँ, सभ्य बनौँ कामरेडहरु



  • नेपालदीप
  • मंगलबार, पुष २१ २०७७
10.8K
SHARES

कम्युनिष्टहरु विचारले तीखा र व्यवहारले उग्र एवं बिरोधी बिरुद्ध आक्रामक हुनु अस्वाभाविक हैन। आँफू असहमत विचार, सिद्धान्त र दलहरुलाई प्रतिस्पर्धी नभनेर ‘शत्रू’ मान्दै समूल अन्त्य खोज्नु कम्युनिष्ट भाष्य भित्र पर्छ। लेनिन, स्टालिन, माओ, चे, हो चि मिह्नदेखि नेपालसम्म आइपुगेको कम्युनिष्ट सोचमा ‘कुशको शत्रू’ खडा गरेर भए पनि, दुश्मन परम्पराको रित थाम्नु जरुरी मानिन्छ। यो ‘शत्रु’ परम्पराको मुख्य बिकृति के छ भने कथम कदाचित आफ्नै दल बिभाजित भयो वा पूर्ववत् दलका मित्रहरु फरक  बाटो लागे भने, तिनको नियति पनि परम शत्रु कै बन्न पुग्छ। कम्युनिष्टहरु बिभाजित पार्टी वा नेता बिरुद्ध पनि त्यही आक्रामकता र उग्रता लागू गर्छन् जुन उनीहरुले आज पर्यन्त अर्को चरम शत्रु दलका लागि गर्थे। नेपालमा हिजोआज ठ्याक्कै त्यही भएको छ।

सत्तारुढ कम्युनिष्ट पार्टी बिभाजित भई बनेका दुई समूहका कार्यकर्ता स्तरका मानिसहरुले सार्वजनिक रुपमा उरालेका नाराहरु त अश्लिलताको पनि हदमा पुगेका छन्। यो तँछाडमछाडमा स्वयं प्रधामन्त्री र उनका प्रतिद्वन्दीहरु पनि यस रुपमा सामेल छन् कि, अब केटाकेटी र सभ्य मानिसहरुलाई त्यो अश्लिलताबाट जोगाउनु पर्ने अवस्था आएको छ। ती नारा र आरोपहरु सभ्य मानिसले सुन्न लायकका छैनन्। यो उग्र अश्लिलताको श्रृंखलामा  ‘..सिन्दूर खोई…… पोई’, ‘….महिलाको मृगौला..’ र ‘…..वहाँहरु….. श्रद्धाञ्जली भन्न हुन्थ्यो’ केही प्रतिनिधि उदाहरण हुन्। यी मध्ये पहिलो माधव-प्रचण्ड समूहका कार्यकर्ताले लगाएको नारा भनिएको छ भने, अर्का दुई स्वयं प्रधामन्त्रीले आवेग र उत्साहको क्रममा बोल्दै जानु भएको भिडियो सामाजिक सञ्जालमा व्यापक छन्। यस्ता गाली-गलौजपूर्ण निकृष्ट शैलिका आरोप-प्रत्यारोपको वर्तमान फेहरिस्त यहीँ रोकिँदैन, यो बढेको बढ्यै छ। यसले हामीले सुधार गर्न नसकेको राजनैतिक विकृति र असहमतसंग सहज हुनै नसक्ने हाम्रो संकृणतालाई दर्शाउँछ। सामान्य समर्थक र कार्यकर्ताको कुरा छोडिदिऊँ, राजनैतिक नेतृत्व र तिनको विचार परम्परा अपशब्द बिकार बिरुद्ध उभिनु पर्ने हो, तर त्यो हुन सकेन।

हिजोसम्म एकै ठाउँमा र एकसाथ उभिएर समान उद्धेश्यका लागि काम गरेका राजनैतिक समूह र पात्रहरु, फरक बाटो हिँड्ने बित्तिकै त्यो विधिको शत्रुता र गाँड कोराकोरमा झर्नु पर्छ र ? गाली-गलौज र अपशब्दपूर्ण आरोप-प्रत्यारोपले मनको तुष प्रकट गर्ने र एकापसको तिक्तता अरु बढाएर लैजाने बाहेक कुनै फाइदा गर्छ ? के ती कार्यकर्ता र नेताले बक्दै गरेका गाली र अश्लिलताले तिनको कद माथि उठाउन वा तत् तत् पार्टी वा समूहको वर्चस्व वृद्धिमा मद्दत पुग्छ? के उनीहरु आफ्नै परिवारजनका बीचमा बसेर ती अश्लिलताको आनन्दपान गर्न सक्छन्?

मनोवैज्ञानिकहरु भन्छन् ‘साँघुरो सोच भएका असहिष्णु मानिसहरु, असहमतिलाई रत्तिभर सहन्नन् र चाँडो रिसाउँछन्। यसरी रिसाउँदा र आवेग-आक्रोशको प्रतिकृयामा तिनले स्वयंलाई बढी हानी पुर्‍याइरहेका हुन्छन्’। रिस, आवेग र अपशब्दले गर्ने भनेको केवल क्षति मात्र हो र त्यो संकीर्ण मानसिकताको द्योतक हो। सामान्य व्यक्तिले पनि त्यो नियन्त्रण गर्नुपर्छ भने राजनैतिक नेतृत्व त झन् दृष्टान्त बन्नु पर्ने हो। हाम्रोमा उनीहरु उदाहरण त बने, तर नकारात्मक!

राजनीति र समाज दुबै गतिशिल छन्। हिजोका परम मित्र आज चरम प्रतिस्पर्धी बन्न सक्छन्। प्रतिस्पर्धा गतिशिलताको प्राण हो, प्रतिस्पर्धीलाई ‘शत्रु वा दुश्मन’ मान्ने विचार वा दिक्षाको मुख्य खोट नै यही हो कि, यसले स्वस्थ राजनैतिक संस्कार निर्माणमा अवरोध गर्छ। ७ दशक भन्दा लामो राजनैतिक आन्दोलनको संक्रमणबाट पनि हामीले ‘संस्कार’ सिकेनौँ ‘बिकार’ को जालो मात्र निर्माण गर्न सक्यौँ यो जान्दाजान्दै कि यस्तो बिकृतिपूर्ण व्यवहारको कुनै गतिलो परिणाम हुँदै हुँदैन।  अब पनि यस्तै गर्दै रमाइरहने हो? सभ्य बनौँ ,माथि उठौँ कामरेडहरु!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट