
काठमाडौँ। गायक किरण भुषालले ‘बाडुली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भुषालको गीत पुष २१ गतेका दिन युट्युबमा प्रिमियर गरिएको थियो।
गीतको शब्द, ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आफै तिर पारेर गइ’ बोलको बहुचर्चित गीतका सर्जक, पुरुषोत्तम ढुंगेलको रहेको छ।
विदेश जानु नेपालीको नियति नै भएको छ। विदेशको यात्रा अझ भनौं मुग्लानको यात्रा जहिले पनि सुखद हुदैन। त्यस्तै सपनाहरु संगालेर विदेश पुगेको एक ठिटोको कारुणिक अवस्थाको चित्रण ‘बाडुली’ले गरेको छ।
नेपालमा कुरिरहेकी एक्ली आमाले दुर क्षितिज पारी पुगेको आफ्नो छोरोलाई, खसम आउने प्रतिक्षामा बसेकी बिटुलिएकी प्रियसीले प्रेमिल क्षण सम्झिदा मुग्लानी लाहुरेलाई आउने स्पन्दन नै गीतमा ‘बाडुली’ भएको छ। स्पष्ट रुपमा भन्नु पर्दा गीतले वैदेशिक रोजगारीमा गएर पनि नियतिले लक्ष्यबाट बेदखल गरिएकाहरुको यथार्थ चित्रण गरेको छ।
गीतको सांगीतिक पक्ष पनि उत्कृष्ट रहेको छ। गीतमा संगीत भुषाल आफैले भरेका छन्। बासुरीमा किरण बराल, सारंगीमा मनिष गन्धर्वले संगीतलाई कर्णप्रिय बनाएका छन्।
त्यस्तै, भिडियोमा बेनिषा थापा, दिपिका थापा, अशोक भुजेल, संगीता सुनदास, विवेक धिमालले प्रस्तुती दिएका छन्।
भिडियो मनोज भट्टराईले निर्देशन गरेका हुन्। भिडियो मूडअन टिभीले निर्माण गरेको हो।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।