आइतबार, मंसिर १२ २०७८

मुलुकको अस्तित्व खतरामा परेको बेला सेना हेरेर बस्दैन: पूर्व प्रधानसेनापति कटवाल



  • नेपालदीप
  • सोमबार, पुष २७ २०७७
28.5K
SHARES

काठमाडौँ। नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कट्वालले मुलुकको अस्तित्व नै मेटाउन खोजे सेना चुप लागेर हेरेर नबस्ने चेतावनी दिएका छन्। कट्वालले नेपाली सेनाले सरकारको निर्देशन मान्ने भएपनि राष्ट्रियताको सवालमा आफ्नै विवेक प्रयोग गरेर निर्णय गर्ने बताएका हुन्।

पृथ्वी जयन्तीको अवसरमा कट्वालले नेपाली सेनाको गौरव गाथा बडामहाराजधीराज पृथ्वीनारायण शाहसँग जोडिएको हुदा आफ्ना पिताविरुद्धको आवाज सेनाले सहन गर्न नसक्ने बताएका छन्।

उनले भने, ‘नेपाली सेनाले सरकारको निर्देशन मान्‍छ तर मुलुकको अस्तित्व मेटाउने निर्णय गरिन्‍छ भने त्यसको प्रतिवाद गर्छौ। नेपाली सेनाको गौरवमय इतिहास पृथ्वीनारायण शाहको मुलुक एकीकरणसँग जोडिएको छ। त्यसैले पनि सेनालाई कमजोर बनाउन खोज्‍ने तत्वलाई सेनाले त्यसै छाड्दैन।’

कट्वालले आफ्नै पिताको सम्मान गर्न नसक्नेहरु नै राजनीतिमा हावी भएको बेला पृथ्वी नारायण शाहलाई सम्मान नगरिनुलाई अच्चम मान्न नहुने पनि बताए। ‘हुनत आफ्‍नै बाबुलाई बाबु भन्‍न नसक्ने जमातको नेतृत्व अहिले राजनीतिमा छ,’ उनले भने।

कट्वालले २०६३ सालको आन्दोलनका दिनहरु पनि सम्झिन भ्याए। उनले त्यतिबेलाका ‘नवनेता’हरुले पृथ्वी नारायण शाहको शालिक भत्काएको नेपाली सेनाले टुलुटुलु हेर्न बाध्य भएको पनि दुखेसो पोखे। अन्तराष्ट्रिय स्थितिले गर्दा सेना बाहिर निस्केर कारवाही गर्न सक्ने स्थिति नरहेको पनि उनले बताए।

उनि भन्छन्, ‘त्यतिबेला नवनेताहरू सालिक भत्काउने, पुरातत्व नष्ट गर्ने काममा उद्यत भएको समेत देखियो । तर, सेनाले हेर्न मात्र सक्‍ने अवस्था थियो। सेना बाहिर आएर कारबाही गर्दा अन्तर्राष्ट्रिय समुदायले अर्कै भावले हेर्ने हुनाले खुम्चिन बाध्य थियौँ तर कुनै न कुनै उपाय अवलम्बन गरेर बचाउने काम पनि भएको थियो।’

कट्वालले माओवादी नेतृत्वको सरकार आएपछि नेपालको एकता खत्तम पर्ने डरले विश्व इतिहासमा नै पहिलोपल्ट सेनाको समर्थनमा जुलुस निस्किएको उनले दाबी गरे। ‘माओवादी नेतृत्वको सरकार फेरिएपछि हामीले नेपालको एकता खत्तम पार्ने दिशातर्फ गयो, त्यस्तो कार्यका लागि स्थान दिनु हुँदैन भन्दै नेपाली सेनाको समर्थनमा जुलुस नै निस्कियो,’ उनले भने।

कट्वालले माओवादीको नेतृत्वमा नेपाल र नेपाली सेना सिध्याउने प्रयास भएको बताए। उनले नेपाली सेना सधै जनताको पक्षमा रहेको पनि बताए। ‘सेना जनताको पक्षमा रहेकाले सधैँ सेनाले जनतालाई नै ध्यानमा राखेको थियो। त्यतिबेला शक्तिखोरको भिडियो पनि सार्वजनिक भयो । बाहिर निस्किन समेत नमिल्ने भएपछि सरकार फेरियो। माओवादी नेतृत्वको सरकार फेरियो। माओवादीको अगुवाइमा नेपालको एकता र नेपाली सेना खत्तम पार्नेसम्मका प्रयास भएका थिए।

उनले २०६३ साल देखि नेपाली राजनीतिकर्मीहरु विदेशी एजेण्डाको भरिया भएको पनि आरोप लगाए। उनले अहिले त्यस्तै प्रवृतिका मान्छेहरु व्यवस्था ढल्ने डरले बचाउमा उत्रिरहेको पनि बताए। उनले भने, ‘विशेष गरी ०६२/६३ पछि विदेशीको अजेन्डा बोक्‍ने ‘सिलौटा’ प्रवृत्तिहरू बढी हाबी भए। अहिले पनि त्यस्तै सिलौटा पथका व्यक्तिहरूले आफूले ल्याएको व्यवस्थामा धक्का पुग्ला भन्‍ने ठूलो त्रास छ। त्यसमा बचाउ गरिरहेका छन्। मुलुकमा विद्रोह रोप्‍ने यस्ता कसिंगरहरूलाई के थाहा मुलुकको महत्व?’

संविधानसभाको पहिलो चुनावबाट नेकपा माओवादीका तर्फबाट पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको मन्त्रीपरिषदले नेपाली सेनाका कार्यालयबाट राजारजौटाको तस्विर हटाउने निर्णयको कागज आएको र आफूले त्यसलाई तत्काल च्यातिदिएको पनि कटवालले स्मरण गरे। ‘अचानक एक दिन राजा रजौटाका तस्बिर सरकारी कार्यालयबाट हटाउनू भन्दै मन्त्रिपरिषद्‌को पत्र आयो । मैले पत्र पढेँ र त्यही च्याति नै दिएँ,’ उनले भने।

सेनाले त्यहि झोकमा पृथ्वी नारायण शाहको फोटो नभएको स्थानमा पनि थप्ने निर्णय गरेछ। कट्वालले थपे, ‘सेनाले आफ्‍नो कुनै पनि कार्यालयबाट पृथ्वीनारायणका फोटा नझिक्‍ने मात्र होइन, नभएको स्थानमा थप्‍ने निर्णय गर्‍यो। मेरो विचारमा इतिहास मेटेर मेटिँदैन। हामीले त्यसलगत्तै आर्मी सभाकक्षमा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक बनायौं। सबै आर्मी अफिसमा पृथ्वीनारायण शाहको फोटो छैन भने फोटो राख्‍नू भन्‍ने आदेश दिइयो। पृथ्वीनारायणको अर्को छेउमा भानुभक्तको तस्बिर राखियो।’

पृथ्वी जयन्ती एवं एकता दिवसको दिन बिदा काटिनुमा नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र तत्कालिन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको ‘गलत सोच’को उपज भएको कट्वालको बुझाइ छ। कोइरालाले छलपूर्वक पृथ्वी जयन्तीको विदा काटेको पनि उनले बताए।

उनले सम्झिए, ‘बिदा कटौती भएको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर यो निर्णय गलत छ भनेँ। उहाँलाई निर्णय सच्याउन भनेँ। त्यसबेला उहाँले कसरी भयो त्यस्तो मलाई थाहा छैन भन्‍ने जानकारी दिनुभयो। उहाँले पृथ्वी जयन्ती मनाइन्‍छ, राष्ट्रिय एकता दिवस मनाइन्‍छ भन्‍नुभयो तर पछि राजपत्रमा बिदा कटौती भएको पो आयो। हामीले मन्त्रिपरिषद्‌ निर्णय कार्यान्वयन गरेनौं । मैले गिरिजाप्रसादले भनेजस्तै थाहा नपाएको होइन । मन्त्रिपरिषद्‌ निर्णय कोइरालाको जानकारी नभई हुने कुरा भएन ।’

नेपालमाथि अत्यन्तै ठूलो षड्यन्त्र भएको पनि कट्वालले बताए। उनले नेपाली झण्डामा पनि नेताहरुले फेर्नु पर्छ भनेको पनि सम्झिए। त्यस्तो राष्ट्र नै निल्ने स्थितिमा पनि तत्कालिन राजाले आफू नै गद्दीबाट तल झरेर देशलाई जोगाएको पनि बताए।

‘कडा कदम’ चाल्न सेना प्रमुख थापाले बढाए सक्रियता, पदावधी पनि थपिने

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट