मंगलबार, मंसिर २१ २०७८

भारत हाम्रो ठूल्दाइ हैन, मोदी र म बराबर हैसियतका हौँ – प्रधानमन्त्री ओली



  • नेपालदीप
  • मंगलबार, पुष २८ २०७७
16.1K
SHARES

भारतीय टेलिभिजन च्यानल जी न्यूजका मुख्य सम्पादक सुधिर चौधरीले काठमाण्डुमै आएर प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीसंग नेपाल-भारत सम्बन्धका विविध पक्षबारे विशेष (एक्सक्लुसिव) अन्तरवार्ता लिएका छन्।

अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत, प्रधानमन्त्री नरेन्द्र मोदी, भारत-चीन विवाद र नेपाल सम्बन्ध बारे आफ्नो धारणा राखे। लगभग एक घण्टा लामो सो अन्तर्वार्ताको सार यस प्रकार छ:

प्रधानमन्त्री ओलीका अनुसार भारत र नेपालको सम्बन्ध कुनै ठूलो दाजु र सानो भाइको सम्बन्ध हैन। नेपाल र भारत दुबै समान संप्रभुत्ता सम्पन्न देश हुन् र अहिलेको भारतले पनि आँफूलाई ‘स्वयं मालिक’  मान्दैन। प्रधानमन्त्री नरेन्द्र मोदीबारे उनले भने ‘पिएम मोदी स्वयं पनि समान स्तरको सम्बन्धमा विश्वास गर्नुहुन्छ तर जब मैले  त्यही कुरा दोहोराउँछु, केही मानिसहरुलाई खराब लाग्न थाल्छ, बढी बोलेको झैँ लाग्छ’। ती ‘मानिसहरु’ भनेर सायद केही अघि आक्रामक रहेका भारतीय मिडियालाई ओलीले लक्ष्य गरेको हुनसक्छ।

प्रधानमन्त्री ओलीले आँफूले भारत-चीन विवादको प्रयोग आफ्नो स्वार्थका लागि नगर्ने र त्यो ‘कार्ड’ आँफूले नखेल्ने कुरा दोहोराउँदै थपे उनी नेपाल र भारत बीच सन्तुलित सम्बन्ध चाहन्छन्। भारत-चीन सीमा तनाव बारे दुबै मुलुकले चाहे नेपालले भारत र चीनबीच मध्यस्थता गर्न सक्ने पनि बताए। किनभने भारत र चीन बीच तनाव भए त्यसको नोक्सानी नेपालले भोग्नु पर्ने हुनाले नेपालले शान्ति र विकास मात्र चाहेको पनि उनले प्रष्ट पार्ने खोजे।

नेपालले कसैका बिरुद्ध लडाइँमा आफ्नो भूमि प्रयोग गर्न नदिने विषय दोहोराउँदै प्रधानमन्त्री ओलीले भने चीन र भारतबीच गलवान घाँटीको तनाव हुँदै गर्दा  नेपाली जमिनमा समेत बनेको राजमार्गको  भारतले एकतर्फी उद्घाटन गरेको बताए। यसरी नेपाली जमीनलाई भारतको नक्शामा देखाइएको हुनाले नेपालले यसको बिरोध गरेको र आफ्नो नक्शा जारी गर्नु परेको कुरा ओलीले प्रष्ट राखे।

प्रधामन्त्री ओलीले यो शताब्दि एशियाको भएको बताए। नेपाल र  भारतीय उपमहाद्वीपको संस्कृतिमाथि आँफूलाई गर्व रहेको पनि ओलीले बताए। तर धार्मिक वा सांस्कृतिक समनाताको अर्थ ‘एक विशाल भारत’ कुनै हालतमा हैन भन्दै ओलीले थपे प्राचीन समयमा पनि समान सनातन  वैदिक संस्कृतिका बावजुद पाञ्चाल, मगध, विराटनगर आदि अनेकौँ देशहरु अस्तित्वमा रहेका थिए। यो सम्पन्न र वैभवशाली सभ्याताको विरासतमा अप्रतिम विज्ञान र ज्ञानको खानी निहित थियो भन्दै उनले दावा गरे हाम्रो विज्ञानले ग्यालिलियो र न्यूटन भन्दा अघि नै तिनले पत्ता लगाएका सिद्धानतहरु अघि ल्याएको थियो। त्यो विज्ञानको सिद्धांत र ज्ञानको केन्द्र नालन्दा विश्वविद्यालय पुस्तकालय आगलागीमा नष्ट भएको प्रसंग पनि उनले उल्लेख गरे।

‘हामीले फराकिलो दिमागले सोच्नु पर्छ र कमजोडी निकाल्न ध्यान केन्द्रित गर्नु हुँदैन। भारतीय मित्रहरु पनि यो कुरामा सहमत हुनुपर्छ’ प्रम ओलीले भने। मस्तकमा रामजन्मभूमिको माटोको टीका लगाएर कल्याणको प्राप्ति हुन्छ र हामीबीच विवादित जमिनलाई ध्यानमा राखेर विवादित नक्शा बारे सहमत हुन सकिन्छ। हामीबीच समानता र सम्मानको भाव रहने बित्तिकै विवाद पनि सकिन्छ र सम्बन्ध राम्रो बन्छ, रहिरहन्छ। देश आकारमा ठूलो र सानो भए पनि, प्रतेक मुलुकको हैसियत सबैको उस्तै हो भन्ने बुझ्नु आवश्यक छ भन्दै प्रधानमन्त्री ओलीले निचोड पस्केका थिए।

अन्तरवार्ता  हिन्दी भाषामा रहेको थियो। यसको कारण बारे अन्तरवार्ताकार सम्पादक सुधिर चौधरीले भने ‘नेपालको दृष्टिकोण भारतीय जनतामक्ष पुराउनु यो वार्ताको उद्देश्य हुनाले यो हिन्दीमा गरिएको हो।’  प्रसारित अन्तरवार्ता लगभग ४५ मिनट लामो थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट