मंगलबार, मंसिर २१ २०७८

अलबिदा प्रेजिडेण्ट ट्रम्प, स्वागतम् प्रेजिडेण्ट बाइडेन!



  • नेपालदीप
  • मंगलबार, माघ ६ २०७७
21.2K
SHARES

अबको केही घण्टामा अर्थात् बुधबार २० जनवरी २०२१ मा, नव निर्वाचित अमेरिकी राष्ट्रपति जोजेफ रुबिनेट बाइडेन (जुनियर) र उपराष्ट्रपति कमलादेवी ह्यारिस्को पदस्थापन र शपथ ग्रहण कार्यक्रम सम्पन्न हुनेछ। प्रतेक चुनाबी बर्ष (४ बर्ष पछि) को नोभेम्बरको पहिलो सोमबारको अर्को दिन (अर्थात् मंगलबार) राष्ट्रपति-उपराष्ट्रपति जोडीको निर्वाचनपछि अर्को सालको जनबरी २० तारिखका दिन नया कार्यकारी प्रमुखको उद्घाटन अमेरिकी संविधान निर्देशित घटना हुन्। लगभग दुई शताब्दिभन्दा लामो अमेरिकी र त्यो भन्दा पनि लामो युरोपेली लोकतान्त्रिक राजनैतिक परम्पराको विरासतस्वरुप निर्वाचन, जय-पराजय र पदस्थापनलाई स्वाभाविक परिघटनाको रूपमा लिइने अमेरिकी परम्परा यो पटक अपवाद भयो। गैरराजनैतिक, व्यापारिक र रियलिटी टेलिभिजन शोको पृष्ठभूमिबाट अचानक अमेरिकी वरिष्ठतावादको बिगूल फुक्दै राजनीतिमा उदाएका डोनाल्ड ट्र्म्पले अमेरिकी राजनीतिको भद्र परम्परालाई अपवाद र तमाशा बनाएर बहिर्गमन हुँदैछन्।

डोनाल्ड ट्रम्पले आज पर्यन्त आफ्नो पराजय र जो बाइडेनको विजयलाई स्विकारेका छैनन् र त्यही कारण भोलि ह्वाइट हाउस परिसरमा हुने नया राष्ट्रपतिको उद्घाटन र पदस्थापनमा भद्र राजनैतिक परम्परा अनुरुपको सहभागिता नजनाई बिदा हुनेछन्। त्यति मात्र हैन, २ हप्ता अघि अमेरिकी संसदका दुबै सभाले राष्ट्रपति निर्वाचन नतिजाको अन्तिम प्रमाणीकरण गरिरहेको बेला, आफ्ना समर्थकहरुलाई अमेरिकी संसद भवनमाथि धावा बोल्न लगाएर ट्रम्पले अमेरिकी इतिहासमै संस्कार र पद्धतिको धज्जी उडाउने काम गरेका छन्। पदासीन राष्ट्रप्रमुखको आह्वानमा घटित यो खालको घटनालाई राष्ट्रद्रोह सरह मानिएको छ।  यो कार्यलाई ‘इन्सरेक्सन’ र ‘ट्रिजन’ को कोटीमा राखेर कारवाही अघि बढाउनु पर्ने आवाज बढेको छ। अहिले त्यहाँको संसद र संघीय अनुसन्धान आयोगले खोज र अनुसन्धान चलाइरहेका छन् भने अमेरिकी संसदको तल्लो सदनले ट्रम्पलाई महाभियोग लगाइसकेको छ। यसको सुनुवाइ माथिल्लो सदनले गर्न बाँकि छ र सम्भवत: यो कारवाही पूरा भयो भने ट्रम्ट फेरि कुनै सार्वजनिक पदमा बहाल हुन योग्य नरहन सक्छन्।

‘अमेरिका फर्ष्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) को नारा लिएर गैर राजनैतिक पृष्ठभूमिको पपुलिष्ट मोर्चाबाट डोनाल्ड ट्रम्प, ३-४ दशक लामो उदारवादी अमेरिकी राजनीतिप्रतिको बिरोध स्वरुप उदाएका थिए। शहरिया, पढेलेखेका, अश्वेत, मिश्रित जातिका, आप्रवासी, अल्पसंख्यक, श्रमजीवी, महिला र मध्यम वा निम्न-मध्यम वा बिपन्न वर्गका अमेरिकीहरुको मतको प्रतिनिधित्व गर्ने डेमोक्याट्स र उदारवादी वा ‘मेनस्ट्रिम’ रिपब्लिकन उदारवादीहरुको प्रतिरोध गर्दै ट्रम्पवाद हुर्केको हो। लामो समय सत्ता र नीति निर्माणको तहमा रहेको उदारवादी राजनैतिक वर्चस्वका कारण मूलधारका ‘कञ्जरवेटिव’ अमेरिकीहरु अमेरिकामै अल्पसंख्यक बन्न पुगेको, बढ्दो आप्रवासी संख्याका कारण अमेरिकीहरुको रोजगार खोसिएको अनि आतंकवाद बढेको, ठूला उद्योगपतिहरुलाई बढी कर लगाइएका कारण उद्योगहरु अरु देशतिर बाहिरिएको र अर्थतन्त्र खस्किएको जस्ता आरोपहरु अमेरिकाका भित्री राज्यहरुमा बसोवास गर्ने परम्परावादी श्वेत, धार्मिक, बुढापाका र चरम दक्षिणपन्थी रुझान राख्ने युवाहरूबीच पनि बढ्दै गएको आक्रोशको जगमा ट्रम्पवादको उदय भएको थियो। केही अति दक्षिणपन्थी जस्ता सुनिने यस्ता विचारहरुलाई मूलधारको अमेरिकी सोचले असभ्य र असहिष्णु ठान्दै निषेध गर्ने गरेको परिस्थतिमा, ट्म्पवाद र उनका समर्थकहरुले यो सोचको नामाकरण वैकल्पिक सत्य (‘अल्टरनेटिव ट्रूथ) भनेर गरे। ‘अल्ट राइट’ अथवा वैकल्पिक दक्षिणपन्थ ‘अल्ट ट्रूथ’ अर्थात वैकल्पिक सत्यको दावा गर्दै उनीहरुले मूलधारका उदारवादी मिडियाहरुले दिने समाचार र रिपोर्टिङलाई ‘फेक’ वा झूट बताइरहे र आफ्नै सत्य स्थापित गर्न लागीरहे।  टाइकून रुपर्ट मर्डकका मिडिया सञ्जाल, स्टिव बानोन र अतिवादी दक्षिणपन्थी साइबर भानगार्ड, फक्स न्यूज  आदिले अमेरिकामा यो विचारको पक्षपोषण र जनमत बढाउने अभियानको काम गरिरहे। अमेरिकाका कम आवादी भएका भित्री र मध्य अमेरिकी राज्यहरु, गोरा मानिसहरु, बन्दूक लबी समर्थकहरु, क्रिश्चियन अति धार्मिक मानिसहरु, उद्योगपति र बढी करको बिरोध गर्नेहरु, मिश्रित जातीको अमेरिका आगमनको बिरोध गर्ने आप्रवासन नियमका बिरोधीहरु, उदारवाद बिरोधीहरु र अमेरिकी वरिष्ठतावादका अभियन्ता वा समर्थकहरु ट्रम्पवादको उद्भवमा सहयोगी थिए। ती मध्ये सानो अल्पसंख्यक समूह (एक्स्ट्रिम राइट अन द फ्रिन्ज) अतिवादी पनि थियो जसले ट्रम्पले हार्छन् भन्ने मान्न अन्तिमसम्म तयार थिएन। आफ्नो तारिफ आँफै गर्न मन पराउने ‘मेगालिमानियक’ ट्रम्प र उनका कट्टरपन्थी समर्थकहरुकै बलमा २ हप्ता अघि अमेरिकी संसद भवन परिसरभित्र त्यो ताण्डव सम्भव भएको थियो। जुन अमेरिकी इतिहासकै लाजमर्दो घटना हो।

ट्रम्प कार्यकालको मुख्य विशेषता के रह्यो भने उनले जे बोलेका थिए त्यो गरे वा गर्ने इच्छाशक्ति देखाए। कोरोनाकाल शुरु नभएको भए, ट्रम्पलाई हराउन  गाह्रै हुन सक्थ्यो भन्छन् राजनैतिक पण्डितहरु। किनभने कोविड पूर्व ट्रम्पको अवधिमा अमेरिकी अर्थतन्त्रले एकदमै राम्रो गति लिएको थियो र बेरोजगारी घटेको थियो। ट्रम्पले अमेरिका भित्र आतंकवादलाई अन्त्य गर्न भन्दै आप्रवासीहरुलाई रोक्न विवादास्पद कार्यकारी आदेश जारी गरेर कतिपय मुश्लिम देशका मानिसहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाए; मेक्सिको सीमामा विशाल पर्खाल लगाउने कामको प्रारम्भ गरेर अगाडि बढाए, इराक, अफगानिस्तान आदि मुलुकबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य अघि बढाए भने संसारको कुनै पनि मुलुकमाथि सैनिक कार्वाही गरेनन्। यद्यपि कतिपय मित्र मुलुकहरुसंग अमेरिकी फाइदाका लागि भन्दै स्थापित सन्धि सम्झौता तोडेर तिक्तता बढाए। उत्तर कोरियासंग ‘’इङ्गेज्ड्’ रहेर मित्रता बढाउन त्यहाँका शाषकसंग दुईटा भेटघाट गरे, इजरायललाई पुल्पुलाए भने इरानलाई खेदो खन्दै र बिच्काइरहे। चीनले आफ्नो आर्थिक फाइदाको लागि आफ्नो मुद्राको सही मूल्यांकन हुन नदिएको,  व्यापारिक नीतिहरु अमेरिकी हित प्रतिकूल बनाएको आदि मुद्धामा निरन्तरको व्यापारिक युद्ध जारी राखे, संयुक्त राष्ट्रसंघ र उसका एजेञ्सीहरुसंग टकराव र असहयोग  र इरानलाई ‘रग स्टेट’ भन्दै अनवरत ट्रम्पले  गाली गरिरहे, धम्कि दिइरहे। मध्य पूर्वका शाषकहरुसंग व्यापारिक र वैयक्तिक प्रभावका पहलमा सम्बन्ध ठिक राख्ने सफलता उनलाई मिल्यो।

ट्रम्प घमण्डी, जिद्धी र र एकलकाटे ढंगले कुरा लाद्ने अनि अतिवादी थिए भन्नेमा शंका रहेन। यही ‘ब्राण्ड’ बनेर राजनीतिको शीर्ष स्थानमा आएका उनी अझै बढी दम्भ र आवेगका ‘विम्व’ बन्दै बाहिरिँदै छन। उनले अमेरिकी समाजलाई अरु बढी बिभाजित बनाउन भूमिका खेले जसका कारण स्वस्थ प्रतिस्पर्धात्मक राजनीतिको अमेरिकी लोकतन्त्र ‘अतिवादी’ ध्रुवीकरणमा आज तन्किँदै विभक्त बनेको छ। अमेरिकी राजनीतिमा अक्सर प्रयोग गरिने ‘बाइपार्टिसानशिप’ वर्तमानमा जस्तो उग्र कहिलै थिएन र यसको असर आगामी केही बर्ष र दशकसम्म जान सक्ने खतरा उत्तिकै छ। लेफ्ट उदारवादी लोकतन्त्रवादी र ट्रम्प बिरोधीहरु सिनेटले भविष्यमा उनी फेरि राजनीतिमा फर्किन नसक्ने गरी कारवाही बढाओस् भन्ने चाहन्छन् भने ट्रम्प समर्थकहरु २०२४ को चुनाब मार्फत ट्रम्प फेरि फर्किने कुरामा निश्चिन्त जस्तै छन्।

ट्रम्प अर्को पटक फेरि फर्किएलान् वा नफर्किएलान् तर पनि अतिवादमा बिभक्त अमेरिकी समाजलाई उपचारको खाँचो भने देखिन्छ। डेमोक्र्याट र रिपब्लिकन पार्टी भित्रका अति लेफ्ट र अति राइट नेताहरु अझै पनि एक-अर्कासंग आँकडा असूल गर्ने ‘मुड’ र मुहिममा देखिन्छन् । तर शीर्ष नेतृत्वले अतिवादको मलजल गरेन भने, समन्वय, सहयात्रा र सुझबुझले जित्नेछ। पदको गरिमालाई बुझेका स्वाभावले शितल र सौम्य नव-राष्ट्रपति जोझेफ बाइडेन स्वयं पनि अमेरिकी सिनेटका सबैभन्दा पाका र अनुभवी राजनेता हुन्; उनको उद्भवले उत्तेजना र आक्रोशलाई लगाम लगाउने र राजनैतिक संस्कार र सभ्यतलाई अगाडि बढाउने कुरामा आशा  राख्न सकिन्छ।

स्थापित लोकतन्त्रको यही एउटा सबल पक्ष हुन्छ कि, अपवादमूलक रुपमा जति नै ‘बर्बाद’ भइसकेको देखिए पनि लोकतन्त्रको आफ्नै उपाचारात्मक खूबीले यसको मलहमपट्टि गर्ने सामर्थ्य राख्छ। ट्रम्पवादको जद्दोजेहदले अमेरिकी लोकतन्त्रका केही ‘शक एबजर्बर’ हरुको परीक्षण भने गराएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट