बुधबार, मंसिर २२ २०७८

घर पोलेर खरानीमा रमाइरहेको राजनैतिक नेतृत्वको देशमा



  • नेपालदीप
  • बिहिबार, माघ १५ २०७७
14.4K
SHARES

देश अनिश्चय र संकटमा धकेलिएको छ तर राजनीति मनोरञ्जनमय बनेको छ। सामाजिक सञ्जालको यो युगमा टिकटक, फेसबुक, युट्युब र ट्विटर खोलेर हेरौँ हाम्रा शीर्ष राजनैतिक नेताहरुले एक-अर्का बिरुद्ध गरेका हास्यास्पद र कटू प्रहार वाणीहरु ‘मिम’ बनेर भाइरल भएका छन्। सायद नेताहरुलाई लाग्दो हो, यो हास्य ‘मिम’ मा प्रयोग भएको वहाँहरुको तस्वीर, भिडियो र बोलीहरुको प्रयोग नै आफ्नो लोकपृयताको मानक हो। हिन्दीमा एउटा कहावत छ: ‘बद्नाम हुआ तो क्या हुआ, कुछ नाम तो हुआ’। यो व्यंग्य वाणीको अर्थ हुन्छ, ‘बद’ र ‘नाम’ जोडिएर बन्ने ‘बद्नाम’ शब्दमा पनि ‘नाम’ त जोडिएको हुन्छ नि! त्यो मान्ने हो भने ‘बद्नाम’ हुँदा गलत रुपमै भए पनि चर्चामा त आइन्छ। यसको कारक अज्ञान हो। अज्ञान आनन्द पनि हो। राजनीतिका शीर्ष मानिएकाहरु यही गलत र हास्यास्पद चर्चाको विषय बनेर नै आनन्दित रमाइरहँदा, मुलुक भने दुर्भाग्यको गर्तमा नराम्ररी फँस्दै गएको छ, भोलिका लागि आशा र सम्भावना दुबैको गुञ्जाइस हराउँदै गएको छ। देशको राजनीतिले सही मार्ग लिएन भने मुलुकका सम्पूर्ण प्रणाली र यावत् अवयवहरु छरपष्ट बन्छन्, ती दृश्य देखिँदै छन्।

अर्थ मन्त्रालयले हालै प्रकाशित गरेको सरकारको अर्धवार्षिक आम्दानी-खर्चको एउटा सारांशले, समग्र सरकारी संयन्त्रको कार्यप्रणालीको क्षमता र मुलुकको गति बताउन पर्याप्त हुन सक्छ। राजश्व रु ३ खरब ८० अरब, बिदेशी ऋण रु ३० अर्व ४ करोड र बिदेशी अनुदानको रुपमा रु ५ अरब ६१ करोड गरी कूल अर्धवार्षिक आम्दान: रु ४ खरब १५ अरब ६५ करोड रुपैयाँ गरेको नेपाल सरकारले ३ खर्ब ४२ अरब ३६ करोड चॅाही तलब, भत्ता, सुविधा जस्ता चालु खर्चमा मात्रै सकेछ भने संघ, प्रदेश र ७६१ स्थानीय सरकारहरुले उदेक लाग्दो  ५० अरब ८२ करोडको विकास निर्माण खर्च गरेछन्। मुलुकको अर्थतन्त्रको यो कृषकाय तस्विर मुलुकमा के भइरहेछ र मुलुक कता जाँदैछ भन्न पर्याप्त छ। समग्र बजेटको १२% जति मुलुकभरको विकास निर्माणमा खर्चेको सरकारले कस्तो समृद्धि र कायाकल्पको  मार्गचित्र लिएको छ प्रष्ट छ। राजनैतिक अस्थिरतामा धकेलिएको मुलुकको आगामी आधा आर्थिक बर्ष अरु निकम्मा ढंगले बित्ने छ भन्नेमा दुविधा हुनुपर्दैन। त्यस्का संकेतहरु देखिइसकेका छन्।

प्रधामन्त्रीको सनकमा लगभग दुई तिहाइ बहुमतको सरकारले संसद विघटन गरी मुलुकलाई चुनाबमा धकेलेपछि उत्पन्न परिस्थितिमा ‘धमिलो पानीमा माछा मार्नेहरु’ कालागि पर्व आएको छ। यसको ज्वलन्त उदाहरण हो, विकास-निर्माणको मौसम शुरु हुँदाका बखत निर्माणका लागि आवश्यक सामग्री: फलामे छड, सिमेण्ट, ग्रील-रेलिङ लगायत समस्त वस्तुहरुमा गरिएको असामान्य मूल्यवृद्धि। यो बाहेक महंगी र कालोबजारीको सल्बलाहट हरेक अरु क्षेत्रमा पनि देखिन थालेको छ। लगभग हरेक जसो व्यवशाय, व्यापार र सेवाका क्षेत्रहरुमा गतिरोध, असामान्य बिचलन, गैरजिम्मेवारीपन बढ्न थालेका छन्। यो बद्लावको मुख्य कारक, प्रचण्ड बहुमतको सरकारले असमयमै घोषणा गरेको निर्वाचन र यो परिघटनाले निम्त्याउने अस्थिरता हो।

सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका काम होऊन् अथवा व्यापार-व्यवशाय, सबै क्षेत्रमा राजनैतिक अस्थिरताले भ्रष्टाचार र दिशाहीनता बढाएको बिगतदेखि नै देखिएको हो। यसको प्रमुख कारण सरकारका मन्त्रीहरु, राजनैतिक दलका नेताहरु र तिनका स्थानीय तहसम्मका कार्यकर्ताहरु निर्लज्ज बनेर रकम, चन्दा र सहयोग असूलीका लागि उद्योगी, व्यवशायी र व्यापारीकोमा पुग्नु हो। यो जालो कर्मचारीप्रशासन, बैंक, बिमा, म्यान पावर, प्राइभेट स्कूल-कलेज, जग्गा दलालदेखि र हरेक आर्थिक क्रियाशिलताका क्षेत्रमा प्रवेश गर्नाले, राजनीति र प्रशासन त्यहाँ उत्पन्न हुने प्रतेक बेथितिको संरक्षक हुनुपर्ने स्थिति बन्छ।

जब राजनैतिक नेतृत्वको इच्छाशक्ति, आफ्नो वैयक्तिक वा गूटगत अहमको उकेरा लगाउन मात्र त्वंशरणं हुनपुग्छ, मुलुकको भविष्य अन्धकार बन्छ। हाम्रो कहिल्यै अवकाशमा नजाने बूढो राजनैतिक नेतृत्वले घर पोलेर खरानीमा रमाउने प्रवृत्ति लिऊञ्जेल समृद्धि, शुशासन र विश्वगतिमा सहभागी हुने नेपालीजनको सपना सार्थक हुने लक्षण देखिएन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट