सोमबार, फाल्गुन १७ २०७७

१६ वर्षे पेन्सन प्रावधान मन्त्रिपरिषदबाट स्वीकृत, सिपाहीहरु हर्षित


  • नेपालदीप
  • बिहिबार, माघ १५ २०७७
11.4K
SHARES

काठमाडौँ। नेपाल सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावलीलाई स्वीकृत गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत् माघ ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको जानकारी दिएको हो।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्।

यो सँगै अब नेपाली सेनाका सिपाहीले १६ बर्षको सेवा अवधिमै पेन्सन पाउने भएका छन्।

मन्त्रिपरिषद्ले संसोधित सैनिक नियमावली पारित गरेसँगै अब सो निर्णय स्वीकृतीका लागि राष्ट्रपति कार्यालयमा जाने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती प्रदान गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएपछि १६ बर्षे पेन्सन सेवा नेपाली सेनामा कार्यान्वयनमा आउने छ।

सैनिक सेवा नियमावलीको तेस्रो संशोधन २०७७मा नेपाली सेनाका सिपाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने उल्लेख छ।

नयाँ नियमावली अनुसार ०६० साल वैशाख  २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएकाका लागि यो संशोधन लागु हुने भएको छ।  ‘संवत २०६० साल बैशाख २८ र सो भन्दा पछि नेपाली सेनामा भर्ना भएका देहायका सैनिक व्यक्तिले,’ २०७७को संशोधन अनुसार पेन्सन पाउने छन्।

हाल नेपाली सेनाका सिपाहीको पेन्सन अवधि २० बर्ष छ। त्यसअघि १६ बर्ष रहेकोमा बीचमा बढाएर २० बर्ष बनाइएपछि लामो समयदेखि सिपाहीहरूले गुनासो गर्दै आएका थिए ।

सिपाहीजस्तै अन्य दर्जाकाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ। नियमावलीअनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ।

त्यस्तै, संशोधित नियमावली अनुसार, अब सहायक सेनानी र सोभन्दा माथि महारथीले सैनिक सेवामा प्रवेश गरेको २० वर्षमा पेन्सन पाउने छन्। सुवेदार र प्रमुख सुवेदारले १९ वर्ष, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको १७वर्षमा पेन्सनमा निस्किन पाउने व्यवस्था गरिएको छ।

संसोधित नियमावली मन्त्रिपरिषद्बाट पारित भएसँगै तल्लो तहमा कार्यरत सिपाहीहरुलाई राहत मिलेको छ।

सेनामा यो नयाँ पेन्सन अवधि लागू भएसँगै सबैभन्दा धेरै तल्लो तहका सेनाका कर्मचारी लाभान्वित हुने विश्वास लिइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट