सोमबार, मंसिर १३ २०७८

के म्यानमारमा जस्तै नेपालमा पनि सेनाले शासन सत्ता आफ्नो हातमा लिन सक्छ?



  • नेपालदीप
  • सोमबार, माघ १९ २०७७
13.1K
SHARES

म्यानमारमा सेनाले शासन सत्ता आफ्नो हातमा लिएको छ। सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लियो।

सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको समाचार एजेन्सीहरुले बताएका छन्। सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको छ।

बंगालको खाडी इनिसियटिभ(बिमस्टेक)को सदस्य समेत रहेको म्यानमारमा सेनाले सत्ता हातमा लिए सँगै यसले दक्षिण एसियाको राजनीतिमा असर गर्न सक्ने बताइएको छ।

नेपालमा पनि राजनीतिक अस्थिरता बढ्दै गइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे देखि नेपालमा राजनीतिक संकट गहिरिदै गएको हो। त्यो सन्दर्भमा नेपालमा पनि सेनाले सत्ता हातमा लिने आंकलन धेरैको छ। त्यसको सम्भावना कति छ होला त?

२०६३ सालमा भएको परिवर्तन पछि नेपाली सेना राजसंस्थाको प्रत्यक्ष नियन्त्रणबाट बाहिर पुगेको थियो। तत्कालिन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले दरबारबाट बाहिरिएका तत्कालिन महाराजधीराज ज्ञानेन्द्र शाहलाई सुरक्षा दिन पनि सेना प्रयोग गर्न नहुने भन्दै सेना र राजालाई अलग्याउन ठूलो भूमिका खेलेका थिए। उनको नै अगुवाईमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरी पूर्वराजाको सुरक्षामा खटाइएको थियो। हुन सक्छ, बिजुली गारद दरबारभित्र हुदा १७ सालको घटना घटेको भन्ने आफ्ना नेता वीपी कोइरालाको विश्लेषण पढेका सिटौलाले त्यसैबाट प्रभावित भएर त्यो निर्णय गरे।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वको सरकार पछि आएका कुनै पनि सरकारले नेपाली सेनालाई आफ्नो मातहतमा लिन सकेका छैनन्। त्यसपछि बनेका कुनै पनि रक्षामन्त्रीको काम सेना माथि निर्देशनकारी भन्दा पनि समन्वयकारी देखिएको छ।

गणतन्त्र स्थापना पछि यसो त कुनै पनि प्रधानमन्त्री सेनासँग जोरी खोजी हाल्ने स्थितिमा छैनन्। पहिलो संविधानसभाको निर्वाचनमा बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा माओवादीले सेनालाई आफ्नो अनुकुल ल्याउन खोजेको थियो।

तत्कालिन रक्षा मन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालिन सेना प्रमुख रुक्माङ्गद कटवाल बीच द्वन्द बढ्दै गयो। उक्त सरकारले तत्कालिन सेना प्रमुखलाई बर्खास्त नै गर्यो। तर, तत्कालिन सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादवले त्यो निर्णय अस्विकार गरे पछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएका थिए।

त्यो घटना पछि सेनाका हरेक निर्णयहरु र मागहरु मन्त्रीपरिषदले स्वीकार्ने बाहेक राजनीतिक नेतृत्वले सेनालाई केही कुरामा रोक्न सकेको छैन।

केही समय अघि मिडियाहरुमा आए अनुसार रक्षा मन्त्री इश्वर पोखरेल र सेनाप्रमुख बीच द्वन्द देखिएको थियो। तर त्यो द्वन्द बढे आफैलाई खतरा हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँमा राख्दै पोखरेललाई अर्को मन्त्रालयको जिम्मेवारी दिएका थिए। यसैबाट आँकलन गर्न सकिन्छ नेपाली सेनाको शक्ति।

त्यसो हुँदा सेना अझै पनि गणतान्त्रिक शक्तिहरुको नियन्त्रणमा नआइसकेको बुझ्न कठिन हुँदैन।

सेनाले सत्ता हातमा लिनुपर्छ भन्ने आवाज बुलन्द हुदै

नेपालमा बढ्दो अस्थिरता, भ्रस्टाचारले गर्दा अब सेनाले सत्ता हातमा लिनुपर्छ भन्ने जस्ता विचारहरु पनि प्रकट हुन थालेका छन्। विशेष गरि २०६३ सालमा भारत र पश्चिमा देशको स्पष्ट सहयोग र निर्देशनमा भएको १२ बुदे समझदारीले नेपालमा राजसंस्था र नेपाली सेनाको भूमिकालाई खुम्चाएको भन्ने मान्यता राख्ने विद्वानहरु र अधिकाँश नेपालीले सेनाले सत्ता हातमा लिनु पर्ने आवाज उठाउन थालेका छन्।

पत्रकार एवं राजनीतिक विश्लेषक युवराज घिमिरेले नेपालमा राजनीतिक दल र नेतृत्वमा रहेका नेताहरुले विश्वसनीयता गुमाइ रहेको अवस्थामा सेनाले शासन हातमा लिनुपर्छ भन्ने जस्ता ‘असंगठित विचारहरु’ आम जनता र विज्ञहरुले प्रस्तुत गर्न थालेको बताए।

(अब पनि सेना मौन बसे जनताबाट भद्रकाली घेरिन सक्छ: युवराज घिमिरे)

घिमिरेले भने, ‘राजनीतिक नेतृत्व र दलहरुले आमजनताको विश्वसनीयता गुमाएको अवस्थामामा आम जनता र विज्ञहरुले के भन्न थालेका छन् भने नेपाली सेना मात्रै राज्यको भरपर्दो निकाय हो र अब त्यसले शासन सत्ता हातमा लिनु पर्छ।’

घिमिरेले भ्रस्टाचार र स्थायित्वका लागि सेनाले शासन लिनुपर्छ भन्ने माग देश भित्र बढदै गएको भन्दै कुनै दिन जनताले भद्रकाली (सैनिक मुख्यालय) घेरे भने आश्चर्य मान्न नहुने बताएका छन्। उनले भने, ‘यस्तै भइरहे भोलि भद्रकाली घेरिन सक्छ। त्यसबेला नकारात्मक हिसाबले हेर्नु हुदैन। सेनाले आफ्नो भूमिका लिएन भनेर जनताले भन्न सक्छन्। जनता जहिले पनि सहि हुन्छन् भन्न त सकिन्न तर त्यो स्थिति बन्न सक्छ।’

त्यस्तै सेनाले सत्ता हातमा लिने सम्भावनालाई दुई छिमेकी चीन र भारतले पनि स्वीकारेर आफ्ना गतिविधि अगाडी बढाएको बुझाई घिमिरेको छ। उनले भने, ‘भारत र चिनियाँ पक्षलाई के लागेको छ भने नेपालमा राजनीतिक नेतृत्व र दलहरु अलोकप्रिय भएका छन्। जसले नेपालको राजनीतिक स्थिरतामा असर गर्छ। भोलि सेना एउटा ठूलो फ्याक्टर बन्न सक्छ भन्ने।’

आफ्नो तर्कलाई पुष्टि गर्न घिमिरेले चिनियाँ विदेश मन्त्री आउने तय भएकोमा अन्तिम समयमा रक्षा मन्त्री आउनुको बीना कारण नभएको बताए।

२०६३मा बिग्रिएको व्यवस्थामा ‘कोर्ष करेक्सन’

२०६३को परिवर्तन र ‘१२ बुँदे लोकतन्त्र’का मान्यताहरु गणतन्त्र, धर्मनिरपेक्षता र संघियताले नेपालको एकता र राष्ट्रियता कमजोर बनाएको भन्ने जमात दिनप्रतिदिन नेपालमा बढ्दै गइरहेको छ। भारतका कर्मचारी स्तरका व्यक्तिहरुले पनि नेपालमा आफ्नो अगुवाईमा परिवर्तन भएको भनेर बयान दिने गरेका छन्। र, गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको माग आफूहरुले लाद्न सफल भएको भन्ने किसिमका अभिव्यक्तिहरु दिइरहेका छन्।

सामाजिक सञ्जालमा गणतन्त्र, धर्मनिरपेक्षता र संघियताको विरुद्ध कसैले आफ्नो आवाज प्रकट गरेका समाचारहरु केही छिनमा नै भाइरल हुने गरेका छन्। यसैबाट बुझ्न सकिन्छ नेपाली जनताको आशा नेपालका दलहरुबाट कति उठिसकेको छ भन्ने। त्यसमा पनि पूर्व महाराजधिराज ज्ञानेन्द्रको शालीनता र धैर्यता देखेर नेपाली जनता मात्र होइन छिमेकी मुलुकका शासकहरु पनि अच्चममा परेको बुझिएको छ।

त्यही सन्दर्भमा नेपाली सेना अझै पनि महाराजधिराजको इशाराको प्रतिक्षामा बसेको छ भन्ने कुरा तथ्यगत आधार सहित केही विश्लेषकहरुले प्रस्तुत गर्न थालेका छन्।

‘दी राइजिङ्ग नेपाल’ का पूर्व प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पी खरेलले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापाले समसामयिक विषयमा चासो बढाएको सूचनाहरु पाएको बताउँछन्। खरेलले सेनाप्रमुख थापाले केहि समय यता पूर्व जर्नेलहरुसँग सम्पर्क बढाएको खुलाएका हुन्।

पूर्वराजा निकट खरेलले नेपालमा २०६३ पछि विदेशीहरुको इशारामा बिग्रिएको स्थितिलाई सपार्न कोर्ष करेक्सन हुन लागेको पनि खुलाए। उनले कोर्ष करेक्सन गर्ने बेलामा ‘कडा कदम’ चाल्न सक्ने संकेत गरेका छन्। त्यसको लागि नेपाली सेना सक्रिय हुन तयार भएर बसेको पनि उनले खुलाए।

खरेलले भने, ‘इण्डियन सेना प्रमुख गए पश्चात सेनाप्रमुखको सक्रियता, भन्नाले समसामयिक विषयमा चासो बढेको देखिन्छ। विभिन्न शक्तिकेन्द्रहरु सँग छलफल एक दुई हप्तादेखि बढेको छ।’

खरेलले नेपाली सेनाको सक्रियतालाई व्यवस्थापन गर्न अहिलेका बहालवाला प्रधानसेनापति थापाको पदावधी बढाउन भित्री सहमति भएको दाबी गरेका छन्। पूर्वराजा निकट मानिने खरेलले नेपाली सेना प्रमुखको पदावधी बढाउन लागिएको खुलाएका हुन्। उनले भने, ‘नेपाली सेनाका प्रमुखको पदावधी बढाइदै छ। यदी त्यस्तो गर्न नमिले नयाँ पोष्ट क्रियट हुन्छ। जसले प्रोमोसन हुनेहरुलाई असर गर्दैन।’

सेनाले दिइरहेका संकेतहरु

नेपाली सेनाले स्पष्ट रुपमा केहि नगरे जस्तो देखिए पनि गहिरिएर हेरियो भने सेना चुप बसेको छैन। उसले विभिन्न संकेतहरु दिएको छ। गणतन्त्र स्थापना पछि ओझेलमा परेको पृथ्वी जयन्ती र नेपालको एकीकरण गरेका श्री पाँच बडामहाराजधीराज पृथ्वी नारायण शाह प्रति उसले देखाई रहेको सम्मान अति नै महत्वपूर्ण छ।

शाहवंशीय इतिहास र विरसतको चिहान माथि स्थापना भएको भनिएको गणतान्त्रिक व्यवस्थामा पनि सेनामा व्याप्त पृथ्वी मोहले अहिलेको व्यवस्था प्रति सेनाको अटल विश्वास छ भन्ने कुरा पुष्टी हुँदैन।

त्यतिमात्र होइन केहि वर्ष अघि देखि नेपाली सेनाले आफ्ना हरेक पृतनामा बडामहाराजको शालिक बनाउने अभियान नै चलाएको छ।

२९९ पृथ्वी जयन्तीको अवसरमा काठमाडौँ विजयको इतिहासलाई सम्झिने भन्दै पृथ्वी नारायण शाहको नेतृत्वमा रहेको गोर्खाली सेना हिडेको बाटोमा पदयात्रा गरेर फेरी एकताको लागि सेनाले कदम चाल्ने संकेत दिएको छ।

पृथ्वी जयन्तीको नै दिन पृथ्वी नारायाण शाह अध्ययन केन्द्र स्थापना गरेर सेनाले आफ्नो राजभक्ति प्रदर्शन गरेको छ।

माघ १९ गते नै राती आफ्ना बख्तरबन्द गाडीहरु काठमाडौँका सडकमा गुडाएर सेनाले फेरी तत्कालिन महाराजधीराज ज्ञानेन्द्रले सत्ता हातमा लिएको दिनलाई महत्व दिएको संकेत नेपाली जनता र नेपाली राजनीतिक नेतृत्वलाई दिन खोजेको हो कि भन्ने शंका गर्ने ठाउँ रहन्छ।

नेपाली सेनाको चरित्र

नेपाली सेना शाहवंशीय राजाको प्रत्यक्ष सक्रियतामा निर्माण भएको संस्था हो। २०६३ सम्म सेना राजाको नै प्रत्यक्ष नियन्त्रणमा थियो। एक हिसाबले भन्दा ०६३ साल पछि मात्रै सेना अभिभावक विहिन भएको जस्तो देखिन्छ।

तर पनि नेपाली सेनाले १४ वर्ष सम्म अत्यन्तै सौम्य भएर गणतन्त्रलाई स्वीकार गरेको छ। त्यसैले पनि केहि विद्वानहरु नेपाली सेनाले शासन सत्ता हातमा लिन्छ भन्ने विश्वास नभएको बताउँछन्।

एक विद्वानले नेपाली सेनाको चरित्र हेर्दा सेनासँग सत्ता हातमा लिने ‘गट्स’ नभएको दाबी गर्छन। उनका अनुसार नेपाली सेना चरित्र संगठनिक नभई व्यवसायिक हुँदै गएकोले सेनाले सत्ता हातमा लिने कुरा तथ्यगत रुपमा पुष्टी हुन नसक्ने बताए।

‘विश्व परिवेश हेर्दा पनि सेनाले सत्ता हातमा लिन्छन्। थाइल्याण्डमा १९ औं पटक ‘कु’ भएको छ, म्यानमारमा त्यस्तै छ, पाकिस्तानमा पनि सेनाको नै प्रत्यक्ष-अप्रत्यक्ष नियन्त्रणमा शासन चल्छ। उनीहरुको जस्तो नेपाली सेनाको चरित्र छैन,’ भन्दै उनले भने, ‘नेपालको सेना अझै पनि शासनमा पल्केको छैन। दक्षिण पूर्वी एशियाका म्यानमार र थाइल्याण्डका सेना प्रमुखहरु यस्तो गरिरहन्छन्। शासनमा पल्केको सेना मान्छे खान पल्केको बाघ जस्तै हुन्छ, स्वादमा उसको लत लागेको हुन्छ।’

यो तर्क पनि कता न कता अपूर्ण भएको अरु विश्लेषकहरुले बताउँछन्। राजा हुँदा सेनालाई कहिल्यै पनि सत्ता हातमा लिनु पर्ने अवस्था नै नआएकोले पटकपटक ‘कु’ गर्नु नपरेको उनीहरुको तर्क छ।

भने, एक विश्लेषकले नेपाली सेनाको चरित्र पटकपटक सत्ताहातमा लिने नभएको बताउँछन्। उनका अनुसार नेपाली सेनाको रणनीति बुझ्न मकवानपुर विजय पछि बंगालको सेनासँग नेपाली सेनाले अपनाएको युद्ध रणनीति बुझ्नु पर्ने बताए।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको थियो। उक्त युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासँग लडेको पहिलो युद्धका रुपमा लिइन्छ।

मकवानपुरसँगको लडाइँ जितेर काठमाडौं उपत्यका छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बंगाली फौजको थियो। मकवानपुरमा आएको त्यस बंगाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो। गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो। माघ ९ गते मध्यराति सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण गर्यो।

ती विश्लेषकले भने, ‘यो सेना चानचुन सेना होइन गोरखनाथी महासिद्ध भगवन्तनाथले स्थापना गरेको सेना हो। उनिबाट पाएको भवानीको तलवार लिएर त्रिलोक विजय गर्न निस्केको सेना हो। त्यसैले यसको चरित्र भिन्दै छ। यसमा धैर्यता छ।’

उनका अनुसार नेपालको इतिहास हेर्दा सेनाले पटकपटक कदम नचाले पनि जहिले चालेको छ त्यसपछि लामो समय शासन गरेको छ। उनले भने, ‘राणाशासन १०४ वर्ष टिक्यो, पञ्चायती शासन ३० वर्ष टिक्यो। लामो समय नटिकेको राजा ज्ञानेन्द्रको शासनमात्र त हो। त्यो पनि राजा ज्ञानेन्द्र नै सेना परिचालन गर्न अनइच्छुक भएर हो। दरबारको अनुदार शक्तिले भनेको मानेको भए अहिले सम्म उनकै शासन हुन्थ्यो। भारतसँग झुक्नु भन्दा आफै सत्ताबाट बाहिरिएका हुन राजा।’

सम्भावना र आशंका, नजिर र चरित्र हेरेर जति बोलिए पनि जीवन वर्तमानमा चल्छ। शासन हातमा नलिने बेला सम्म सम्भावना हुन्छ, लिएको क्षण पछि त्यहि नै वास्तविकता। हेरौं, सेनाले सत्ता हातमा लिन्छ कि लिंदैन भन्ने कुरा आगामी दिनले बताउँलान नै!

(लेखक त्रिचन्द्र कलेज स्थित मानवशास्त्र विभागको स्नातकोत्तर तहका विद्यार्थी हुन्। आफ्नो शोधपत्रको लागि उनले नेपालमा २०६३को परिवर्तनले, जीवित देवी कुमारीको सत्तामाथि अडिएको राजसंस्थाको भूमिकालाई ‘डिनाइ/निलम्बन’ मात्र गरेको तर पूर्ण विस्थापन गर्न नसकेकोबारे अध्ययन गरिरहेका छन्।)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट