मंगलबार, मंसिर २१ २०७८

मन्त्री थापाले ‘श्री पाँचको सरकार’ भनेपछि गाली भन्दा वाहवाही बढी…



  • नेपालदीप
  • मंगलबार, माघ २० २०७७
11.6K
SHARES

काठमाडौँ। देशमा राजतन्त्र अन्त्य भएको पनि १४ वर्ष बितिसक्यो। पहिले पहिले राजाहरु ‘अमन-चयन’को कुरा गर्ने गर्थे, अहिलेका शासकहरु समृद्धी र विकासका कुरा गर्छन। भन्नाले, एक किसिमको भाष्य नै परिवर्तन भइसकेको यी बितेका वर्षहरुमा।

‘श्री पाँचको सरकार’ पनि परिवर्तन भएर ‘नेपाल सरकार भइसकेको छ। तीनै गणतान्त्रिक सरकारका मन्त्रीले सम्बोधन गर्ने क्रममा भुलवश जिब्रो चिप्लिएर ‘श्री पाँचको सरकार’ भनेपछि अहिले देशमा त्यहि कुराको चर्चा परिचर्चा भएको छ।

जिब्रो चिप्लिएका मन्त्रीले आफ्नो कृत्यको लागि माफी मागीसकेका छन्। तर उनले किन माफी मागे भन्ने कुरा नै अहिले धेरैलाई अचम्मको विषय भएको छ।

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपाल सरकारलाई ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका हुन्।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा (ओली पक्ष) का नेता समेत रहेका थापाले नेपाल सरकारको साटो श्री ५ को सरकार भनेर सम्बोधन गरेका थिए।

उनले लेखेका छन्, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।

थापाले उक्त कुरा बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। कुनै दल विशेषका कार्यकर्ता र मुलधार भनिने मिडियाका पत्रकार बाहेक मनिसहरुले उनले बोलेको कुरालाई समर्थन गरेका छन्।

कसैले नेपाल सरकार भन्दा त श्री पाँचको सरकार नै ठिक थियो भनेका छन् भने कसैले थापाले अब भोलिको दिनमा आउन सक्ने राजाको शासनबारे पूर्वसंकेत गरेको भन्दै खुसी व्यक्त गरेका छन्। कसैले ढिलै भए पनि सहि बोलेको भन्दै धन्यवाद दिएका छन्। भने, कसैले राजसंस्था बाहिर हटे पनि मनमस्तिष्कको कुनाकन्दरामा अझै जीवित रहेको बताएका छन्।

गणतान्त्रिक व्यवस्था अझ भनौं जनताको शासन भनेर प्रचारित व्यवस्थामा जनताले नै ‘श्री पाँचको सरकार’ भनेर बोल्दा सामाजिक सञ्जालमा थापाको समर्थनमा वाहवाहिका शब्द र प्रतिक्रियाहरु व्यक्त हुनु व्यवस्थाको भविष्यको लागि राम्रो कुरा होइन। जनताको इच्छा आकांक्षाबारे पनि अहिलेका नेताहरुले ध्यान दिनु पर्ने बेला पो आएको हो कि?

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट