सोमबार, फाल्गुन १७ २०७७

पर्यटकलाई ध्यानमा राख्दै कालिञ्चोकमा स्वास्थ्य शिविर सञ्चालन


  • नेपालदीप
  • सोमबार, माघ २६ २०७७
1.4K
SHARES

चरिकोट। दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

गणका क्याप्टेन रोशन बस्तेतले कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पर्यटकलाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए। शिविरमा आइतबार ६० पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो। मौसममा परिर्वतन आएसँगै कालिञ्चोक क्षत्रमा केही दिनअघि परेको हिमपातमा रमाउन आउने पर्यटकलाई हाई अल्टिच्युट (लेक लाग्ने) र श्वासप्रश्वासमा समस्या हुनका साथै स्वास्थ्यमा समस्या देखिने भएका कारण शिविर सञ्चालन गरिएको गणले जनाएको छ।

हिउँ खेल्नका लागि उपयुक्त गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षत्र कालिञ्चोकमा शनिबार बाक्लो हिमपात भएको थियो। ३८४२ मटिरको उचाइमा रहेको यस क्षत्रमा हिउँ खेल्नकै लागि काठमाडौं तथा तराईका विभिन्न जिल्ला र भारतदेखि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन्। तराईका विभिन्न ठाउँबाट त्यस क्षत्रमा हिउँ खेल्न जाने र हिमाली क्षत्रका बारेमा जानकारी नहुने हुँदा धेरै पर्यटकको स्वास्थ्यमा समस्या हुने गरेको पाइएकाले यो वर्ष त्यस्ता पर्यटकलाई मध्यनजर गरी शिविरबाट स्वास्थ्य सेवा प्रदान गरिएको क्याप्टेन बस्नेतले जानकारी दिए।

कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा आएको भए पनि स्वास्थ्य चौकी तथा फार्मेसी सञ्चालनमा आउन सकेका छैनन। यस समयमा अधिकांश समय हिउँ पर्ने यस क्षत्रमा पर्यटकलाई सामान्य स्वास्थ्य समस्या भए पनि सदरमुकाम चरीकोट ल्याउनुपर्ने बाध्यता रहेका छ। कालिञ्चोक तथा दोलखा उच्च क्षेत्रमा यो वर्षकै पहिलो पटक बाक्लो हिमपात भएको छ। हिउँ खेल्ने विभिन्न क्षेत्रबाट कालिञ्चोकमा आन्तरिक पर्यटक आउने गर्दछन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट