बिहिबार, फाल्गुन १३ २०७७

बलात्कार र बलात्कारीको मनोविज्ञान


  • नेपालदीप
  • शुक्रबार, माघ ३० २०७७
3.7K
SHARES

एक हुल छ यो देश भित्र

रगतमा लत्पतिएकाहरुको

कुनैदिन

मेरी आमा,

म घरमा फर्किन भने

ठान्नु, म त्यो हुल भित्र

मिसीइसकेको  हुनेछु,

आमा बिन्ती

तिम्रो छोरीको बालापनको फोटो

र जवानीको फोटो लिएर

न्याय माग्न

सडकमा, सिंहदरबारमा

नढुक्नु  होला है

कृपया,

 मेरी आमा

म मेरो रगत देखेर

त्यति दुख्दिन, जति

तिम्रा आँशु देखेर म दुख्छु

आमा, ए आमा

मेरी आमा

बुझेउ नि है…

तथ्यांक भन्छ करिब करिब ६ जना एक दिनमा बलात्कृत हुन्छन नेपालमा। तर यति हो, कुनै घटना त्यसै सेलाएर जान्छ भने कुनैले देशलाई डढाएर लान्छ। धेरै जसो घटनाको कारण  मात्र एउटा घर खरानीमा परिणत  हुन पुग्छ। सोह्र हजार अमेरिकी महिलामा गरिएको  एक रिसर्चले भन्छ करिब १८. ३% महिलाहरु जीवनको कुनै कालखण्डमा बलात्कारको शिकार भएका हुन्छन् जस मध्य ४२.२ %  चाही १८ बर्ष मुनिका छन्। करिब ४१% महिलाहरु आफ्नै चिनजानका व्यक्तिहरुबाट बलात्कृत हुने गर्दछन्।

अहिले बैतडी आगोको लपेटामा लपेटिएको छ। आगो उही बलात्कारको घटनाको झिल्कोले सल्काएको हो। सत्र वर्षीय एक युवतीको निर्मम तरिकाले बलात्कार पछी हत्या गरिएको भनेर पोस्टमार्टमको जाचले पुष्टि गरेको छ। एउटा युवतीको अस्तित्वको कुरो हो यहाँ। एउटा कलिला सपनाको भताभुङ्ग भग्नावशेषको लेखाजोखाको कुरो हो यहाँ। एउटा आशाको दियोको अचानक निभ्नुको रहस्यमयी वातावरणको कुरो हो यहाँ।

किन चेली बारम्बार आँफूलाई सुरक्षित महसुस गर्दिन यो संसारमा? किन नारी भएर बाँच्दा भयको आकाशले थिची रहन्छ सधै? किन युवतीको मिठो सुगन्ध हावामा मिसिएर वातावरणमा तरङ्ग ल्याउदा दुर्गन्धको आभास दिलाउन तत्पर छन् बिषालु, क्रुर, कुहिएका र गन्हाउने फोहोरका पुरुषवादी चिन्तनहरु? उत्तर पाउन सायद त्यति सजिलो छैन न त कोही उत्तर दिने वाला छन् यहाँ। कुन मानसिकता बोकेर डुलिरहेछन् यी बलात्कारीहरु? मानव सभ्यताको इतिहास के छ यसबारे?

कुनै पनि मानिसलाई बुझ्न एकदमै कठिन छ। झन् मानवले गर्ने अमानविय कुकर्महरु किन र कसरी हुन्छ भन्ने बारे बुझ्न अझै कठिन छ। मानव विकासको क्रममा मानव जाति धेरै संघर्ष, त्याग, तपस्या र उत्तिकै मात्रामा हण्डर खादै यो युगमा आएको हो। आजको युगसम्म आइपुग्न प्रत्येक जातिका पुर्खाहरुले हत्या, हिंसा, अत्याचार र बलात्कार जस्ता क्रियाकलापहरु प्रशस्त मात्रामा गरेका तथा भोगेका छन्। विकासवाद सिद्धान्तका प्रवर्तक चार्ल्स डार्विनले भनेजस्तै आफ्नो अस्तित्व बचाउने क्रममा प्रत्येक पुरुष र नारीको एउटा बेग्लै प्रकारको मानसिकताको साम्राज्य विकशित भएर मजबूत रुपमा खडा भएको छ जुन आज हाम्रो नशा नशामा अनि शरिरका कोषहरुमा दौडी रहेको छ। यही मानसिकताले हामीलाई केहि रुपमा बचाई रहेको पनि छ र ध्वस्त पनि बनाइ रहेको छ। स्पष्ट रुपमा भन्दा पुरुष ह्रिसक र कठोर छ भने नारी मायालु र कोमल छे। पुरुष आगो छ भने नारी शितल छे। पुरुष उग्र छ, नारी शान्त छे। यो अपत्यरिलो सत्य हो जुन हामीले स्वीकार्ने पर्छ नत्र यो पृथ्वीमा मानवको अंश नै जीवित हुदैनथ्यो। पुरुष उत्पादक अभिमुखी हो नारी संकलन कर्ता अनि पालनकर्ता। पुरुष बिउ हो, नारी जमिन हो, त्यही बिउ र बिजक को उपज हो यो संसार। आजसम्म पनि यो संसारको लडाई यही सिद्धान्तमा चलि रहेको छ।

लाखौँ वर्षा अगाडी देखि पुरुष र नारी मिलेर यो सृष्टी चलाइ रहेका छन्। यी दुई बीच एक नियम छ केहि प्राकृतिक केहि आँफैले समयानुसार बनाएका। पुरुषको जिम्मा प्राय वंश चलाउनुमा बढी केन्द्रित रह्यो भने नारीले त्यसमा साथ दिई रहिन्। विभिन्न कारणहरुले वंशको नाश हुने सम्भावना हुने भएकोले पुरुषले बढी भन्दा बढी श्रीमतीहरु बनाउने क्रमले गर्दा पुरुषको विर्यको कोष त्यही रुपमा विकशित हुदै गयो।  यो विकास लाखौँ वर्षको उपज हो। पुरुष आफ्नो वंश बढाउन बढी नारीहरुसँग संगत गर्ने हुनाले पुरुषको बानी व्यहोराहरु बढी अरुलाई अधिनमा राख्न खोज्ने किसिमको विकसीत हुन पुग्यो। फलत: आज पनि पुरुष उही किसिमको व्यवहार बेलाबेलामा दोहोऱ्याउन पुग्छ जून अहिलेको युगमा जायज छैन र जरूरी पनि छैन। त्यसैले बलात्कार जस्ता घटनाहरु त्यही युगका बानीहरुका उपज हुन भनेर भन्न मिल्ने प्रशस्तै दाबीहरु विभिन्न अनुसन्धानबाट भेट्न सकिन्छ।

बलात्कार शब्दले वैदिक समय देखि नै पालो पाएको देखिन्छ। संसारकै सबै भन्दा पुरानो मानिएको ऋग्वेदमा पनि यो शब्द भेटिन्छ जहाँ बिहानी (उषा) बलात्कृत भएर गुफामा लुक्न जान्छिन् र धेरै ऋषिहरुको अनुनय विनय पछि मात्र बाहिर निस्कन्छिन्। अन्त्यमा, त्यो बलात्कारीले वाणले घोपिएर सजाँय पाउँछ।  त्यस्तै अर्को घटनाको उल्लेख रामायणमा पनि छ जहाँ सुर्यवंशी राजकुमार दण्डले बलात्कार गरेकोमा सजाय दिएका छन्।  त्यस्तै अरुहरु थुप्रै बलात्कारका घटनाहरुले भरिएको छन् धार्मिक ग्रन्थहरु। अरु विभिन्न धार्मिक ग्रन्थमा पनि बलात्कारको बारेमा उल्लेख पाइन्छ। बाइबल तथा कुरानमा पनि यस बारे चर्चा छ।  यसबाट के बुझिन्छ भने यो घृणित कार्य आजको मानवको दिमागको मात्र उपज हो भनेर नमान्ने प्रमाण हरु धेरै छन्। मानव सभ्यताको सबै भन्दा गहिरो रुपमा छापिएको मानसिकता हो बलात्कार।  यो दण्डनीय थियो, छ र हुनै पर्छ।  यति हुदा हुदै पनि किन तर पुरुष अझै यो कुकर्म गर्न पछाडी हटेको छैन? किन उत्प्रेरित रहन्छ? कस्तो हुन्छ उनीहरुको मानसिकताको मनोविज्ञान? यो बारे अलिकति चर्चा गरौ यहाँ।

मनोवैज्ञानिकहरु मानव विकासको क्रमलाई आधार मानेर हेर्दा बलात्कारिका ५ प्रकार हुने दाबी गर्दछन्। यी प्रकार मध्य पहिलो ति बलात्कारी हुन जो ‘सुविधा विहिन बलात्कारी’का दर्जामा अटाँउछन्। ति प्राय गरिब र समाजमा तल्लो ओहदामा बस्ने हैसियतका हुन्छन्।  ति गरिबीले सताइएका हुन्छन्, समाजबाट अपहेलित छन् अनि राज्यबाट पनि ठगिएका छन्। मानव विकासको क्रमको आधारमा हेर्ने हो भने ति सबै सेवाबाट बन्चित छन्। किनकि कतै न कतै तिनीहरु मानव विकास क्रममा हरुवा जीनको वंशाणु लिएर यहाँ सम्म आएका छन्। ति करिब करिब हारेका पुरुषहरु हुन् जसलाई लाखौँ बर्ष अगाडी पनि कुनै नारीहरुले स्वीकारेका थिएनन्। त्यसैले उनीहरु लाखौँ वर्ष अगाडिको बदला लिन सधै मौकाको ताकमा रहन्छन् र अबला नारीको अवस्थालाई प्रयोग गर्दछन्। सायद एउटा सानो जितको झलक पाएर रमाउँछन् यिनीहरु। नत्र त किन यत्रो जघन्य अपराध मानिएको कृत्य गर्न उद्दत हुन्थे होलान् र?

दोश्रा किसिमका बलात्कारीलाई ‘विशेष खालका’ भनेर चिनिन्छ जो आफ्नो प्यास शान्त पार्न हिंसात्मक तरिकाहरु मात्र मन पराउँछन्  जसमा जबर्जस्ती शक्तिको प्रयोग प्रचुर मात्रामा हुने गर्दछ। यो जिन प्राय बलियो हुन्छ र बलिया पुरुषहरुको प्रतिनिधित्व गर्दछ। दण्ड सजाय हुने डर हुँदाहुँदै पनि यो प्रकारका बलात्कारी येस्तै योजनामा मात्र रमाउछन्। डार्विनको सिद्धान्तको आधारमा हेर्ने हो भने यिनीहरु अलि उर्वर नारीहरुमा बढी आकर्षित हुन्छन्। यिनीहरुको जालमा प्रायः जवान युवतीहरु बढी पर्दछन्। लाखौं वर्ष अघिको जङ्गली मानवको यो आचरण अझैं पनि यस किसिमका बलात्कारीमा देख्न पाईन्छ।

तेश्रा प्रकारका बलात्कारी भनेका ‘अवसरवादी बलात्कारी’ हुन्। यिनीहरुको कुनै सिद्धान्त नै हुँदैन न कुनै सोच। मौकाको फाईदा उठाउनु यिनीहरुको गुण हुने गर्दछ। प्रायः यिनीहरु आँफू बच्न सक्ने स्थिति अथवा धेरै खतरा मोल्न नपर्ने स्थितिमा मात्र आक्रमण गर्ने गर्दछन्।

चौथो प्रकारका बलात्कारी भनेका ‘बलवान आत्मशक्ती’ वाला भएको भनेर बुझिन्छ। यिनीहरुको आत्मबल धेरै हुन्छ र सबै कुरामा आफूँलाई सक्षम र सबल ठान्दछन्। त्यसैले यिनीहरुलाई ‘साईकोप्याथ’ भनेर पनि चिनिन्छ। यिनीहरुको मानसिक घेरा र स्थिति अल्लि छुट्टै प्रकारको हुन्छ जुन समाजलाई त्यति पाच्य हुँदैन। यिनीहरूको धेरै स्त्रीहरूसँग शारीरिक सम्बन्ध हुने गर्दछ जसले गर्दा यिनीहरूलाई आफ्नो आत्मबल प्रति धेरै नै विश्वास रहेको हुन्छ। यिनीहरू यही कारणले गर्दा आफूप्रति धेरै सन्तुष्टी रहेका भेटिन्छन्। यिनीहरू प्रायः सानो उमेर देखिनै सम्बन्धमा जोडिएर अभ्यस्त भइसकेका हुन्छन् जसले गर्दा यिनीहरूको अहंकार र आँफू प्रतिको विश्वास दिन प्रतिदिन बढ्दै गइरहेको हुन्छ जसको परिणाम बलात्कार जस्ता अमानवीय अपराध हुन पुग्दछ।

अन्तिम तथा पाँचौं प्रकारका बलात्कारी अल्ली अनौठो किसिमका छन् जसलाई ‘पार्टनर बलात्कारी’ भनेर चिनिन्छ। यिनीहरूले आफ्नै पार्टनर अर्थात् केटी साथी, श्रीमती तथा साथीहरुलाई बदलाको भावनामा यस्तो पशुवत कर्म गर्ने गर्दछन्। डार्विनको विकास क्रमको सिद्धान्तमा हेर्ने हो भने ‘वीर्य कम्पिटिसन’ को उपज हुन सक्छ यो बलात्कार। आफ्नो भन्दा अर्काको वीर्यको जित देख्न नसक्ने लाखौं वर्ष अघिको पुरुष सोचको भग्नावशेषको उपज हुन सक्छ यो बलात्कार। उदाहरणको लागि आफ्नो श्रीमतीले आँफूलाई धोका दिए अथवा त्यस्तो लागेमा कुनै पुरुषले आफ्नी श्रीमतीलाई गर्ने बलात्कार प्रायः यो प्रकारका बलात्कारीहरुले गर्दछन्। प्रायः श्रीमतीले बलात्कार सहनु पर्ने यस्ता पुरुषबाट हो जुन आजसम्म पनि समाजमा भूसको आगोको रुपमा फैलिरहेको नै छ।

यी बाहेक पनि बलात्कारीका थुप्रै प्रकारहरू हुन सक्छन् जुन अध्ययन तथा अनुसन्धानको विषय बनेर वैज्ञानिकहरुलाई चुनौती दिइरहेकै छ। सत्य के हो भने पुरुष सधैं नारीलाई आफ्नो अधिकार भित्र राख्न चाहन्थ्यो र अझैं चाहन्छ पनि तर भविष्यमा नचाहोस्। तैपनि लाखौँ वर्ष अगाडीको “जिन” वंशाणुगत रुपमा आधिपत्य जमाएर बसेको छ जुन अर्को रुपमा बद्लिन त्यति सजिलै मान्दैन् र भने जस्ता सजिलो पनि छैन। परिवर्तनको लागी अझैं कति शताब्दी शायद कुर्नु पर्ला यो कटु सत्य हो। मानवको पुरुष सोच मात्र यस्तो हैन चराचुरुङ्गी, किराफट्याङ्ग्रा तथा कैयौं जनावरमा पनि बलात्कारी प्रयोग प्रशस्त रुपमा फेला पार्न सकिन्छ। मानवसँग नजिकैको नाता रहेको रातो खालको बाँदर ‘ओराङगुटान’ ले स्त्री बाँदरलाई प्रायः बलात्कार नै गर्दछन्। त्यस्तै गरी ‘स्कोर्पियन फ्लाई’ नामक किरामा शरीरको नै एउटा अंग यसैको लागि बनेको हुन्छ। जसरी मानवको संसारमा नारी बलात्कृत हुन्छे त्यसै गरी पृथ्वीका हरेक नारी अस्तित्वहरु बलात्कृत भइरहेका छन् र भै रहने छन्। यो सृष्टिको क्रुर, अमानवीय, असभ्य अनी अस्वीकार्य सत्य हो।

तर बुद्दिको खजाना प्राप्त गरेको मनुष्यले यो विकृत कृत्य बन्द कहिले गर्ला भन्नेमा अन्योलता व्यापक छ। प्रमुख कुरा नारी अस्तित्वलाई यो समाजले किन स्वीकार्न यति समय लगाइरहेको छ बुझ्न साह्रै कठिन भइरहेको छ। नारीलाई वैदिक काल देखिनै पुजिँदै आएको प्रमाण हाम्रा वेदहरुमा प्रष्ट छ। जुन जो सुकैले वेद पल्टाएर हेरे हुन्छ तर कुन काल खण्डमा किन र के कति कारणले नारी अस्तित्व धरापमा पर्यो भन्ने खोज्नलाई धेरै गाह्रो छैन र यो खुड्किलो कहाँ छ पनि सबैलाई थाहा छ। नारी हक, स्वतन्त्रता तथा अधिकारहरूको वकालत गर्नेहरू विदेशी दस्तावेज अनुसार नारी अस्तित्वको दुहाई दिएर यसको समाधान खोज्छन् जुन भेटिन असम्भव छ। समाधान हाम्रै पुर्खाले वेदमा दिएका छन्। केटा बच्चालाई नारीले नैं हुर्काउने क्रममा केटी बच्चीहरूको इज्जत गर्न सिकाए मात्रै पनि त्यो बच्चो पछि पुरुषको रूपमा नारीलाई सम्मान गर्ने खालको भएर निस्कन्छ। हो, यहि उच्च विद्या आफ्नी आमाबाट सिकोस् भनेर नारी शिक्षा जरुरी छ भनिएको छ वेदमा पनि र अहिले पनि। तर विडम्बना नारीलाई आफ्नो आत्मबलको साटो पुरुषप्रति घृणा फैलाउने नारी शिक्षाले पनि समाजमा नारी र पुरूष बीचको समझदारीको दायरा दिन प्रतिदिन टाढिँदै गएको छ। आफ्नो अस्तित्वको झुटो बचावको लागी पारपाचुके लिने फेसन बढेसँगै केटी बच्चाहरू झन् झन् पुरूषप्रति आक्रामक र अविश्वासी हुँदै गइरहेका छन्। बुबाको छविको नराम्रो पाटो मात्रै देखेका साना बालिकाहरु पछि कसरी पुरूषलाई आदर गर्न सक्लान् ? र, सानैमा आमाको धमिलो छवि देखेको बालकले कसरी नारीलाई ईज्जत गर्न सक्ला? यी दुवैको मनमा बदलाको भावना प्रचुर मात्रामा हुने हुँदा पछि शारीरिक रूपमा अशक्त नारीलाई यस्ता पुरूषहरुले बलत्कार गरेर बदला पक्कै लिन खोज्छन्।

पेचिलो सम्बन्ध हो यो। साह्रैँ गाँठो परेको विषय हो यो। तर यस्तो अपराध कदापि हुनु हुँदैन र दोषीले तुरुन्त सजायँ पाउनु पर्छ त्यो पनि वैज्ञानिक र मनोवैज्ञानिक सहजीकरण गरेर। जबसम्म बलत्कारको मनोवैज्ञानिक कारण पत्ता लगाएर समाधान खोजिन्न तब सम्म यी घटनाहरु घट्ने वाला छैनन्। आउनुहोस्, एक स्वच्छ समाज निर्माण गरौं जहाँ बालकको सानिध्यमा बालिका सुरक्षित महसूस गरोस् अनि त्यो सामीप्य एक अर्का प्रती आदरको भावनामा ओतप्रोत भएको होस्। समय लाग्नेछ तर असंभव छैन।

म आशावादी छु र म बलात्कारको घोर निन्दा गर्दछु। म आशावादी छु अब मलाई युवती बलात्कृत भएको समाचार पढ्नु पर्ने छैन, लेख्नु पर्ने छैन।

(लेखक ‘नेपाल मनोविज्ञान संगठन’मा कार्यरत हुनुहुन्छ।)

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार