
मानिस त मरिरहन्छन्
यो एउटा रित हो, प्रकृतिको।
बाबु मर्छन्, फेरि पनि घर त चल्छ,
आमा मर्छिन्, फेरि पनि घर त चल्छ
नेता मर्छ्न्, फेरि पनि देश चल्छ
तर, जब विचार मर्छ
केही बाँच्दैन, सबै थोक मर्छ।
म अहिले देख्दैछु
विचार मरेपछि
इमान मर्दो रहेछ
नैतिकता मर्दो रहेछ
सत्य पनि मर्दो रहेछ
प्रेम पनि मर्दो रहेछ
मित्रता पनि मर्दो रहेछ
निस्टा पनि मर्दो रहेछ
केवल
अराजकता बाँच्दो रहेछ
छलकपट बाँच्दो रहेछ
र
अश्लिल राजनीति बाँच्दो रहेछ।
कम्युनिस्टमा समाजवाद नास हुँदोरहेछ
उदारबादमा संकीर्णवाद जाग्दो रहेछ
इमानी भित्र बेइमानी जाग्दो रहेछ र
बेइमानी इमानको जामा लगाएर नाच्दो रहेछ
परेवाले उल्लुसङ्ग प्रेम गर्दो रहेछ
गोही धर्म गरेर स्वर्ग जाने तपस्या गर्दो रहेछ
न्याउली बेइमानीको गीत गाउँदो रहेछ
शिक्षितलाई उल्लु हुने रोग लाग्दो रहेछ
गरीब तमासा हेरेर भोको पेट छाम्दो रहेछ।
तेसैले मलाई यो भीडबाट टाढा गएर
मौरी चर्ने तोरी छर्न मन लागेको छ
रछ्यान फ्याँकेर, बिरुवा रोप्न मन लागेको छ।
-युवराज संग्रौला
(फेसबुकबाट साभार)
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।