शनिबार, फाल्गुन १५ २०७७

राजा रणबहादुरको पालामा पशुपतिमा राखिएको चाँदीको जलहरी मर्मत गर्न क्षमा पूजा सुरु


  • नेपालदीप
  • आइतबार, फाल्गुन ९ २०७७
1.7K
SHARES

काठमाडौँ। श्रीपशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नको लागि पूर्ववत रुपमा रहेको चाँदीको जलहरी मर्मतको लागि क्षमापूजा शुरु गरिएको छ। ९६ नेपाली ब्राह्मण र दक्षिण भारतबाट आएका २५ ब्राह्मणले सामूहिक रुपमा क्षमापूजा गर्न सुरु गरेका छन्।

क्षमापूजामा शनिवारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना गर्दै शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। उनका अनुसार आगामी बुधवारसम्म क्षमापूजा हुनेछ।

अत्यन्तै क्रुर राजा एवं मठ मन्दिर भत्काउँदै हिडेका भनेर इतिहासकारहरुले चित्रित गरेका रणबहादुर शाहको शासनकालमा चाँदीको जलहरी पशुपतिमा राखिएको थियो। अहिले त्यही चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ। चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो। सुनको जलहरी निर्माण पनि शुरु भइसकेको कोषले जनाएको छ। एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ। मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ। गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ। यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ। ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट