बिहिबार, बैशाख ९ २०७८

देउवा-ओली सहकार्य: कांग्रेस सरकारमा नजाने, एक वर्ष भित्र निर्वाचन गराउने


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
5.6K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली बीच सहकार्य गर्ने बारे गोप्य सहमति भएको बुझिएको छ। देउवाले राखेको ‘अर्ली इलेक्सन’को प्रस्ताव ओलीले स्वीकार गरेपछि दुई नेता बीच सहकार्य गर्ने अघोषित सहमति भएको बताइन्छ।

बुढानिलकण्ठ निकट स्रोतले बताए अनुसार देउवा र ओली बीच देशलाई एक वर्ष भित्रै चुनावमा लैजाने र अहिलेको सरकारलाई नै निरन्तरता दिने सहमति भएको छ। प्रधानमन्त्री हुनबाट रोक्न पार्टी भित्रैबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला सक्रिय भएसँगै सरकारमा नगई देशलाई ‘अर्ली इलेक्सन’मा लैजाने खेलमा देउवा लागेका हुन्। ‘उहाँलाई पार्टी भित्रैबाट रोकिँदै छ। सरकारमा ‘गयऊ भने!’ भनेर दारा किट्नेहरु पार्टी भित्रै छन्। त्यसैले पनि चुनाव गराउनेलाई समर्थन गर्ने तर्फ उहाँ लाग्नु भएको हो। ओलीले गराए भने कांग्रेसको समर्थन उनैलाई हुन्छ। अर्को पक्ष चुनावको पक्षमा उभिए हामी उनीहरुलाई पनि समर्थन गर्न सक्छौं,’ स्रोतले भन्यो।

केही दिन अघि एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेस नेता अमरेश कुमार सिंहले ७४को निर्वाचन भइसकेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिटौलाले ५० औं राउण्ड वार्ता गरेको बताएका थिए। अहिले पनि शान्ति प्रक्रिया र १२ बुँदे लोकतन्त्रका पालक सिटौलाले आफ्नै पार्टी सभापति भन्दा प्रचण्डलाई नै कांग्रेसको सहयोगमा प्रधानमन्त्री पुरस्कृत गर्न लबिङ गरिरहेका छन्। त्यसमा अहिले पौडेल र केही युवा नेताहरु पनि मिसिएका छन्। जसले गर्दा देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन। त्यसैले पनि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने डिजाइनको ‘काउन्टर’ गर्न ओलीलाई समर्थन गर्ने किसिमको सन्देश दिन खोजेका हुन्।

सर्वोच्चको फैसला नआउने बेलासम्म निर्वाचनको तयारी गर्ने निर्देशन कार्यकर्तालाई दिंदै हिडेका देउवा अहिले पनि चुनाव भन्न छाडेका छैनन्। स्मरणीय छ, नेकपा भित्रको माधव-प्रचण्ड समूह अहिले नै चुनावको पक्षमा छैन। केही दिन अघि हर्षका साथ बुढानिलकण्ठ भेट्न पुगेका दुई नेतालाई देउवाले ‘पार्टीमा सल्लाह गर्छु,’ भन्दै फर्काइदिएका थिए।

देशलाई ‘अर्ली इलेक्सन’मा लैजाने प्रतिबद्धता प्रस्तुत गरेसंगै देउवा ओलीलाई नै साथ दिने मनसाय बनाएका छन्। त्यसबारे पार्टी भित्र र बाहिरबाट कस्तो प्रतिक्रिया आउँछ भनेर आँफू निकट एनपी साउदमार्फत ‘अर्ली इलेक्सन’मा जानेलाई समर्थन गर्ने कुरा देउवाले बाहिर ल्याउन खोजेका देखिन्छ। धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता साउदले मुलुकलाई अस्थिरताको बाटोमा जान नदिन प्रतिनिधिसभा निर्वाचन अत्यावश्यक भएको बताएका थिए। उनले नेकपाको विवाद निरुपण भएर पार्टी फुटेको खण्डमा एक वर्ष भित्रै निर्वाचनमा जान तयार शक्तिसँग कांग्रेसले सहकार्य गर्ने बताए।

‘मुलुक अस्थिरताको बाटोमा लागिराख्या छ। यो अस्थिरताको बाटोबाट मुलुकलाई बाहिर निकाल्न पनि एक वर्षभित्रै या एक वर्षमा ‘अर्ली इलेक्सन’ गर्नुपर्ने अवस्था छ। जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ, निर्वाचनमा सँगसँगै जान तयार हुन्छ, सोहीसँग हाम्रो सहकार्य हुन्छ,’ साउदले भनेका थिए।

त्यस्तै, नेकपाको फुटेको खण्डमा कुनै एकसँग सरकारमा सम्मिलित भएर आलोचनाको भारी खेप्नु भन्दा जो निर्वाचनको पक्षमा हुन्छ त्यसैलाई बाहिर नै बसेर कांग्रेसले सहयोग गर्ने देउवा निकट एक नेताले बताए। उनले भने, ‘नेकपा विभाजित भयो मानौं, प्रचण्डसँग मिल्दा ओलीले कांग्रेसबारे भन्नु नभन्नु भन्ने छन्। उता ओलीसँग मिले प्रचण्डले कांग्रेसको आलोचना गर्ने छन्। निर्वाचनको मुखमा किन कसैबाट आलोचित हुने भन्ने हो सरकारमा गएर। उनीहरु नै आँफै आरोप प्रत्यारोपमा छन्। हामी त्यहाँ मिसिदैनौं। हामी जनताबाट दुईतिहाई ल्याएर निर्वाचित हुन्छौं।’

देउवाको नेतृत्वमा सरकार बन्न नहुने थापाको भनाइ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट