बिहिबार, बैशाख ९ २०७८

सत्ताको लागि मात्र हैन, विचार र नीति मिल्नेसंग गठबन्धनको सरकार बनाऊ


  • नेपालदीप
  • शुक्रबार, फाल्गुन २८ २०७७
6.5K
SHARES

नेपाली राजनैतिक भाष्यमा ‘अपवित्र गठबन्धन’ पदावली निकै चर्चित छ।
शाब्दिक लफ्फाजीको राजनीतिमा महारथ प्राप्त कम्युनिष्टहरुका लागि त यो पदावली अरु बिरुद्ध जप्नु दैन्दिनी हुने गर्थ्यो कुनै बेला। गठबन्धनको पवित्रता वा अपवित्रताको सोच भन्दा कम्युनिष्ट माथि उठिसके वा थच्चिए पत्तो छैन; उनीहरु पनि यो कमै प्रयोग गर्छन् अचेल।

‘अपवित्र गठबन्धन’ ले पत्रुता हासिल गरेपछि सबै खाले गठबन्धनहरु उलटफेर भएर ठगबन्धन बनेका छन्।  जनसामान्य पनि राजनीतिलाई ठग पेशा र राजनीतिका समीकरण वा गठबन्धनलाई सिद्धान्त, विचार र नीति बिहीन गाँठेसाङ्लो ठान्दछन्। तर पनि राजनीतिको पेशा टिकाउ भने छ किनभने यो देिनभरीको शिकार जो ठहरेको छ, ‘खाऊँ त कान्छा बाउ जस्तो, नखाऊँ त अर्थोक खान्की छैन, कस्तो हो कस्तो!’

साढे ३ बर्ष अघि अहिलेका प्रधामन्त्री केपी ओली र माओवादी सरगना प्रचण्ड सबैभन्दा बढी बाझाबाझ गर्थे। शान्ति प्रकृयामामा आइसकेको माओवादीको उद्धण्डतालाई ओली सराप्थे। यहाँसम्म कि प्रचण्ड शीर्ष रहेको एउटा मोर्चाले ओलीलाई मानसिक उपचार गराउन राँची नै लानु पर्ने प्रस्ताव गर्‍यो। त्यो अराजनैतिक उत्पात काण्डको ठ्याक्कै २ महिनामा कुन अदृश्य प्रभुको चमत्कारी छूमन्तरले हो, यिनै दुई नेताले आँफूले नेतृत्व गरेका दुई पार्टीको एकीकरण गर्ने  घोषणा गर्दै कलेजो मिलाए। यो एकीकरणबारे कम्युनिष्टहरु खुशी थिए, त्यसैले उनीहरुले ‘पवित्रतता’ को जल छर्केर यसको अनुमोदन गरे।

तत्कालीन एमाले र माओवादी एकीकरणको पहिलो बर्षको रुमानी समय ठिकै चल्यो। दुबै धडका कम्युनिष्ट नेताहरु सत्तामा थिए, राज्यका अवसर, स्रोत र साधन माथि निर्बन्ध हात थिए। दोस्रो बर्ष एकीकरणको खुमार बिस्तारै उत्रिन लागेको संकेतहरु देखा पर्न थाले, खटपटको कङ्ल्याङ-बङ्ल्याङ सुनिन थाल्यो। तेस्रो बर्षमा त गोरु र गाडा अलग अलग बाटोतर्फ तानातानमा क्रियाशिल भैहाले। समीकरण अपवित्र र गठबन्धन ठगबन्धन भएको प्रष्ट धुवाँ पुत्ताउन थाल्यो। एउटा धडले संसद विघटन गर्‍यो अर्कोले पुनर्स्थापनाको मुद्धा हाल्यो र जित्यो। भाउन्निएको पहिलो धडले आफ्नो लुकाएर राखेको तुरुप खेल्यो, सर्वोच्चका दुई न्यायधीशले सत्ताका वाण राम्रै खेले।  पार्टी साढे ३ बर्ष अगाडि कै २ जाँघको  जरासन्धमा विभक्त बनाइयो; सरकार बनाउने गठजोडको ०५२-२०७४ सर्कसमा नेपाललाई शानदार अवतरण गराइयो। यति बेला सर्वोच्चका न्यायधीश यो अवतरित रथका सारथी बने।

अब फेरि सत्ता गठजोडको जोड घटाउमा मुलक फर्काइएको छ; मानौँ गएको ३ बर्षमा हामी त्यो तमाशा आस्वादन गर्न नपाएर अवसादमा थियौँ!
संकेतहरु बताउँदै छन्, मधेशवादी दलहरुको मोर्चा ‘जसपा’ सग्लै वा फुटाएर वर्तमानमा सत्तासीन रहेको पुन: नामाकृत नेकपा एमालेको ओली नेतृत्व सरकारलाई टेको लगाउन वैशाखी बनाइँदैछ।

नेकपा एमाले , प्रम ओली र मधेशवादी दल र तिनका सात दिशा फर्केका नेताहरुको सोच- र चोँच त कुरै छौडौँ , मौकाले पस्केको पुलाऊ लुँड्याउने बाहेक अरु कुनै कुरोमा मतैक्यता हुनेछ भनेर विश्वास गर्ने ठाउँ हिजो पनि थिएन र आज पनि छैन। यो पवित्र गठबन्धन त हुने छैन नै, विचारको आइनो-साइनो पनि यिनको कहिँ कतै देखिँदैन। सरकारले टीकापुर संहारको प्रतीक बनाएर थुनिराखेका रेशम चौधरीलाई जेल मुक्त गर्ने कुरोमा हिसाब फच्चे गर्ने तरिकाको गठबन्धन स्वार्थको नग्न नाच बाहेक केही हुने छैन।

चुनाबी लोकतन्त्रको लज्जा बचाउनु छ भने सिद्धान्त, विचार र सोच मिल्ने निकटका पार्टी वा समूहहरु बीच मेलमिलापको सरकार बनेको सुहाउने कुरा हो; नत्र बाम भाष्यका प्रदूषित पदावली ‘अपवित्र ठगबन्धन’ को दुश्चक्र दोहोरिने भयो !

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट