आइतबार, बैशाख २६ २०७८

‘भुस्याहा’ हैनन् ‘सामुदायिक’ कुकुरहरु:


  • नेपालदीप
  • मंगलबार, चैत्र ३ २०७७
2.3K
SHARES

पशु अधिकारवादीहरुका अनुसार ‘भुस्याहा कुकुर’ भन्नु गलत र अपमानपूर्ण हो तिनलाई ‘सामुदायिक कुकुर’ भनिनु पर्छ। यो विचार सही छ। अहिले काठमाण्डु उपत्यकामा लगभग २० देखि ३२ हजारसम्म त्यस्ता कुकुरहरु  भएको अनुमान छ। यसको अर्थ यो पनि हो कि तिनको संख्या बारे अनुमान बाहेक निश्चित तथ्यांक छैन।

व्यक्ति वा परिवारले पाल्तुको रुपमा हेरदेख नगरेका वा नपालेका तर मानव समुदायको बसोवास क्षेत्र वरपर डुल्दै, खाने कुरा खोज्दै अनिर्दिष्ट ठाउँमा दिनरात बिताउने यस्ता कुकुरकहरुलाई सामुदायिक भनिनु जायज छ। आँफू रहे-बसेको समुदाय र त्यहाँका मानिस एवं पशुहरुसंग समेत यस्ता कुकुरहरुको गजबको राम्रो सम्बन्ध देख्न पाइन्छ। सुँघ्ने वा घ्राण शक्ति बेजोड भएका, व्यक्ति वा चिनेका मिल्ने जीवसंग अति राम्रो सम्बन्ध कायम गर्न सक्ने एवं प्रेमपूर्वक वा पीडक मानिस वा जनावरलाई अति सुक्ष्म ढंगले परख गर्न सक्ने सामर्थ्य भएको जीव हो कुकुर। त्यसैले कुकुरको सामुदायिकता र मालिक वा माया गर्नेसंगको सम्बन्ध विशिष्ट र उदाहरणीय हुन्छ।

मान्छे चिन्न सक्ने तीक्ष्ण प्राकृतिक खूबी भएका कारण पनि कुकुरले आफ्नो र पराई अति सजिलै चिन्न सक्छ। कुकुर वर्गभेदी, गरीब र मगन्तेलाई हेप्ने वा भुक्ने हेपाहा जनावर हैन। आँफू बस्ने टोल र क्षेत्रमा फोहोर टिप्न आउने झोला वा थैला बोकेका, असामान्य देखिने पहिरन लगाएका वा त्यस्तै देखिने मानिसहरुलाई कुकुरले अक्सर भुक्ने र झम्टिन खोजेको जस्तो पाइन्छ त्यसको कारण हो त्यस्ता मानिसहरुले आफ्ना खानेकुरा वा छाउरा  लैजान्छन् कि भन्ने डर तिनीहरुमा हुने गर्छ। प्रायःजसो त्यस्ता व्यक्तिलाई भुक्ने, लखेट्ने गरेको त्यो बाहेक आफ्नो टोलहरुमा प्रवेश गर्ने नचिनिएका र चोर जस्ता देखिने मानिसबाट समुदायमा खतरा हुनसक्छ है भनेर तिनले सचेत पनि गराएका हुन् । प्रायःजसो त्यस्ता व्यक्तिलाई कुकुरहरुले भुक्ने, लखेट्ने गरेको पाइन्छ।

त्यो बाहेक कहिलेकाहीँ कुकुरहरुले मोटरसाइकल, स्कुटर वा यातायातका वाहनहरुलाई भुक्दै लखेटेको देख्न सकिन्छ। आफ्नो साथीलाई कुनै वाहनले किचेको वा मारेको देखेका कुकुरहरुले  त्यो सम्झनाको ‘ट्रमा’ का कारण त्यस्तै देखिने यातायातका साधनलाई शत्रूवत् व्यवहार गर्दै लखेट्ने र झम्टने गरेका हुन्।

सामान्यतया कुकुरले आफ्नो रक्षा गर्न मात्र अरुलाई टोक्ने गर्छ। कुकुर बहुलायो भने ‘हलुसिनेसन’ र असुरक्षाका कारण पनि कुकुरले टोक्न सक्छ। समुदायका कुकुर सामान्यतया हिंस्रक वा टोक्ने खालका हुँदैनन्, तिनलाई समुदायसंग मिलेर बस्ने पर्याप्त ज्ञान आफ्नो परिस्थिति र वातावरणले दिएको हुन्छ। तर जब कसैले पिट्छ वा ढुंगाले हिर्काउँछ अनि मान्छेसँग कुकुर सशंकित हुन्छ र प्रतिकार गर्छ। कहिलेकाहीँ, अपरिचित मान्छेले हातमा बिस्कुट लिएर जाँदा पनि पिट्ने हतियार बोकेको हो कि भन्ठान्छन् र  भुकिरहन सक्छन्।

सामुदायिक कुकुरले खुला घर-कम्पाउण्डमा खाने कुरो भेट्टायो भने खाइदिन वा अशुद्ध पारीदिन सक्छ, तर तिनले समान्य स्थितिमा जबर्रजस्ति सीमाको उल्लंघन भने गर्दैनन् बरु अपेक्षा र आशा गर्छन्। सामुदायिक कुकुरलाई रेबिज बिरुद्धको खोप र पोथीहरुलाई बन्ध्याकरण गरिदिनु उचित हुन्छ। त्यसो भयो भने कुकुर मारेर गरिने अत्यचार र तिनको संख्या असामान्य बढ्ने सम्भावना रोकिन्छ, संख्या नियोजन हुन्छ। पशु अधिकारवादी स्वयंसेवी संस्था, स्थानीय सरकार र कुकुर सम्बन्धी क्लब (केनाइन क्लब) आदिको संयोजनमा यस्ता कामहरु हुँदै आएको पनि पाइन्छ।

सामुदायिक कुकुरका पोथीको बन्ध्याकरण गर्‍यो भने तिनको संख्या असामान्य भएर बढ्दैन। भालेको भन्दा पोथी कुकुरको बन्ध्याकरण गरिनु उचित हो, यद्यपि यो ३ गुणा महंगो हुन्छ। किनभने ९९ वटा भाले कुकुरको बन्ध्याकरण गर्दा १,१ वटा भाले  पोथी चुटे पनि परिणाम उही हुन्छ। वधशाला वरिपरि धेरै कुकुर बस्ने गर्छन्। त्यस्ता ठाउँ चिनेर बन्ध्याकरण गर्नु उचित हुन्छ। बन्ध्याकरण गरिएको पोथी कुकुरको छेउमा भाले कुकुर एकछिन पनि बस्दैनन्। पोथी खोज्दै अर्को ठाउँ पुग्छन् र नगरिएका पोथीकै वरिपरि बस्न थाल्छन्। एक ठाउँमा मात्र बन्ध्याकरण गरिँदा नियन्त्रण हुन सक्दैन। तर पोथी कुकुरले आफ्नो क्षेत्र निर्धारण गर्छन् र वासस्थान छाडेर अन्त कतै जाँदैनन्। यसले कुकुरको आफ्नो समुदायसंगको अपनत्व र घनिष्ठता प्रष्ट्याउँछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार