सोमबार, असार ७ २०७८

कोरिया जान रोकिएका नेपालीलाई तत्काल वातावरण बनाउन सांसद संग्रौलाको माग


  • नेपालदीप
  • बुधबार, चैत्र १८ २०७७
2.3K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले इपीएसअन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएपनि गएको १३ महिनादेखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवालाई चाँडो भन्दा चाँडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसँग माग गरेकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौं युवाहरुको लगानी र समय खेर गइरहेकाले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसँग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसँग माग गरेकी हुन्।

उनले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको, दशौँ हजार नेपाली युवा स्वदेश फर्केको तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल न गरेको बताइन् ।

नेपाली कांग्रेसले गठन गरेको छायां मन्त्रिपरिषदमा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले यस अघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई छुट्टाछुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराएकी थिइन् ।

उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्री द्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन् ।

संग्रौलाले कोरिया जानबाट बन्चित रहेका कामदारहरुले बुझाएको ज्ञापनपत्र पनि मन्त्री ज्ञवालीलाई बुझाएकी थिइन् । ज्ञापनपत्रमा हाल नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी युवाहरु कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट बञ्चित हुँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरुको भविष्य नै अन्योलमा परेको उल्लेख छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट