बिहिबार, बैशाख ९ २०७८

अबको महाधिवेशनमा पुराना गुटहरु भत्किन्छन्, नयाँ सम्मिकरण बन्छः कोइराला


  • नेपालदीप
  • बुधबार, चैत्र २५ २०७७
2.8K
SHARES

काठमाडौँ। नेपाली काग्रेंसका नेता शेखर कोइरालाले अबको महाधिवेशनमा परमपरागत गुटहरु भत्किने दाबी गरेका छन्। कोइरालाले अघिल्लो महाधिवेशनको सम्मिकरण यस महाधिवेशनमा पूरै परिवर्तन हुने बताएका हुन्।

कोइरालाले भने, ‘यसपटक एउटा कुरा तपाईंहरु बुझ्नुस् कि पहिलेको अवस्था रहँदैन। तपाईहरुले, पहिलेको ग्रुप ठ्याक्कै त्यही अवस्थामा अहिले पनि छैन। परिवर्तन भइरहेकै छ। १२औँ महाधिवेशनको स्वरुप १३औँ महाधिवेशनमा परिवर्तन भएको छ। रामचन्द्रजीका केही साथीहरु शेरबहादुरजीतिर जानुभयो, शेरबहादुरजीका मान्छेहरु रामचन्द्रजीसँग जानुभयो।’

कोइरालाले यसपटक जुनसुकै गुटबाट भएपनि राम्रा मान्छेहरुलाई पार्टीमा स्थापित गर्न आँफूले भूमिका खेल्ने बताए।

कोइरालाले भने, ‘बेटर मान्छे, असल मान्छेहरुलाई त हामीले साथ लिएर हिँड्नुपर्‍यो। शेरबहादुरजीसँग पनि त रामा मान्छेहरु त छन् नि त। नत्र भने त ग्रुपको राजनीतिले त राम्रा मान्छेहरु फेरि पनि पाखा लाग्छन् नि! यो गुटको सबैभन्दा ठूलो समस्या हो। राम्रा मान्छे जोगाउन त मैले मात्र गरेर पनि हुँदैन, दुवैतर्फबाट यी यी मान्छे जोगाउने भन्ने न्यूनतम समझदारी आवश्यक हुन्छ। मलाई मन नपराओस्, मेरो आलोचना गरोस्। तर, पार्टीका लागि राम्रो गर्ने मान्छे छ भने त्यो मान्छे त केन्द्रीय समितिमा ल्याउनुपर्‍यो नि।’

कोइरालाले कुनै कुनै जिल्लामा विवाद आएपनि भदौमा महाधिवेशन हुने कुरामा आँफू ढुक्क रहेको बताए।

फरक प्रसंगमा कोइरालाले सरकारको नेतृत्व फेर्नुको विकल्प नरहेको बताए। उनले अब कांग्रेसलाई नेतृत्व गर्ने मौका मिल्यो भनेपनि चुनावी सरकारको नेतृत्व लिनुपर्ने बताए।

कोइरालाले भने, ‘सरकारको नेतृत्व फेरिनुपर्छ। यो आम नेपाली कांग्रेसका कार्यकर्ताको मात्र होइन, आम नेपाली जनताको आवाज त्यही देखिन्छ। तर, यसमा समय आएको छ कि छैन भन्ने कुरा त राजनीतिलाई तपाईंले कसरी डोर्‍याउनुहुन्छ, समय त्यही रूपमा अनुकूल बन्दै जाने हो। तर, म त भन्छु, कांग्रेसले नेतृत्व लिँदा पनि चुनावी सरकारको नेतृत्व गर्नुपर्छ। किनभने, यो संसद्ले अब काम गर्न सक्ने अवस्था देखिएन।’

कोइरालाले अहिलेको सरकार असफल र संसद त्रिशंकुमा परिणत भएको बताए। उनले भने, ‘सरकारले बिजनेस नदिने, संसद्ले आफैँ पनि केहीगर्न नसक्ने अवस्थाले निकास निस्कँदैन। प्रधानमन्त्री कहिले बजेट ल्याउने र संसद् विघटन गर्ने भनेर बाटो हेरिरहेको जस्तो देखिँदैछ, त्योभन्दा पहिले हामीले निर्णय गर्नुप¥यो। यो संसद्लाई काम गर्न नसक्ने बनाइयो। म दुई वर्ष कुर्नुपर्छ भन्ने पक्षमा छैन, कांग्रेसको निर्णय आएपछि पार्टीको धारणा बन्ला।’

तर सरकार परिवर्तन गर्ने कुरा कांग्रेसले चाहेर मात्र सम्भव नहुने कोइरालाको भनाइ छ। उनले भने, ‘बाहिर सुन्दा, पत्रपत्रिका पढ्दा, टेलिभिजन हेर्दा बाबुराम र उपेन्द्र समूह प्रधानमन्त्री हट्नुपर्छ भन्दै हुनुहुन्छ। महन्थ–राजेन्द्रहरु ओलीसँगै मिलेर जानुपर्छ भन्दै हुनुहुन्छ।संसदीय व्यवस्थामा अंकगणितको खेल पनि त हुन्छ। त्यो खेलमा हामीले मात्र पहल गरेर त हुनेवाला छैन। त्यसका लागि माओवादी केन्द्र र सिंगो जसपा आयो भने मात्र वैकल्पिक सरकार बन्ने हो।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट