आइतबार, बैशाख २६ २०७८

स्पष्टीकरण दिँदै पाण्डेले भने: कारबाहीले निम्त्याउने दुष्परिणामको भागीदार ओली नै हुनेछन्


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
1.6K
SHARES

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरूले आँफूलाई सोधिएको स्पष्टीकरण बुझाउन सुरु गरेका छन्। यसैबीच नेता सुरेन्द्र पाण्डले स्पष्टीकरण बुझाएका छन्।

पाण्डेले बुझाएको स्पष्टीकरणमा पार्टी भित्र चलिरहेको क्रियाकलाप नरोकिए त्यसको दुष्परिणामको भागीदार स्वयम् अध्यक्ष केपी शर्मा ओली हुने चेतावनी दिएका छन्। उनले ओलीका क्रियाकलाप कम्युनिष्ट आन्दोलन समाप्त पार्न उन्मुख भएको पनि बताए।

पाण्डेले भने, ‘अन्त्यमा, म के पनि यहाँ उल्लेख गर्न साँदर्भिक ठान्दछु भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले हाल चालिरहेका कदमहरु पार्टी विधान विपरित त छन् नै, सो भन्दा पनि वढि नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु। अन्यथा, यसले निम्त्याउने दुष्परिणमको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने छ।’

ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण पत्र लेखेका थिए।

नेता पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा आफूलाई लगाइएको आरोपहरु निराधार भएको बताएका छन् ।

स्पष्टिकरणमा लेखिएको छ, ‘सबै आरोपहरु निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन । नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसंग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ।’

पाण्डेले आँफूले पार्टीको विधान र नेपालको संविधानले दिएको अधिकारको परिधिमा बसेर काम गरेको बताउँदै नयाँ पार्टी खोल्ने, पार्टी फुटाउने आफ्नो कुनै मनसाय नभएको बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार