आइतबार, बैशाख २६ २०७८

त्रिकोणात्मक टि-२० सिरिज: नेपालद्वारा मलेसिया ६९ रनले पराजित


  • नेपालदीप
  • बिहिबार, बैशाख ९ २०७८
703
SHARES

काठमाडौँ। नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श‌ृंखलामा मलेसियालाई राउण्ड रोबिन लिगको अन्तिम खेलमा ६९ रनले पराजित गरेको छ। मलेसियाले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई २ सय १७ रन बनाएको थियो।

जवाफमा आएको मलेसिया १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट भयो। यसअघि नै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले राउन्ड रोबिनको चार मध्येको तीन खेल जित्यो। मलेसिया ४ मध्येको तीन खेलमा पराजित रह्यो। २ जित र एक बराबरीका साथ यसअघि नै फाइनल पुगेको नेदरल्यान्ड्ससँग नेपालले शनिबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ।

नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले ३/३ विकेट लिए। सन्दीपले ४ ओभरमा ४२ रन खर्चन पुगे। सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चे।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका कमलले ३.१ ओभरमा १६ रन खर्चे। प्रतियोगितामा पहिलोपटक अवसर पाएका सुशन भारीले १ विकेट लिए। उनले ३ ओभरमा ३५ रन खर्चे।

मलेसियाबाट अमिनुद्धिन राम्लीले ४१ रन बनाए । उनले १८ बल खेली १ चौका ५ छक्का प्रहार गरे। कप्तान अहमाद फेज २१ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३१, फिती शाम १४ र वीरनद्विप सिंह १३ रनमा आउट भए।

यसअघि करण केसीले विष्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिवि मैदानमा जारी प्रतियोगितामा नेपालले २१७ रनको विशाल योगफल बनाएको हो।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो। नेपालले यसअघि यही शृङ्खलामा २ सय ६ रन बनाएको थियो। नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो।

यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए।

मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार