आइतबार, बैशाख २६ २०७८

ती प्रधानन्यायधीश दामोदर, यी साधु ‘बाबा’ दामोदर !


  • नेपालदीप
  • शुक्रबार, बैशाख १० २०७८
3.7K
SHARES

काठमाडौँ। मानव जीवन अचम्मको छ। कोहीलाई जीवन बाँच्न नै गाह्रो छ, कोही जीवन मात्र बाँचिरहेका छन् भने कोही जीवन भन्दा माथिको अस्तित्वको खोजमा निस्किन्छन्।

हाम्रो संस्कृति जीवन पर्यन्त जीवनको खोजको आधारमा बनेको छ। त्यसैले हामीसंग असंख्य, असीमित भाष्य छन्, जीवन भन्दा माथिको अस्तित्व खोज्नेहरुको लागि।

त्यस्तै हुन्छ,

जब एउटा राजकुमार महल त्यागेर बुद्ध हुन्छ, वैभव त्यागेर जब कोही सन्यासी बन्छ, त्यो पुज्य हुन्छ, वन्दनीय हुन्छ।

त्यसमा पनि नेपाल त सिद्ध-बुद्धको भूमि, देवताको भूमि। यो भूमिमा असंख्य मुमुक्षुहरु जन्म लिन्छन् र, आफ्नो यात्रालाई पूर्णता दिने गर्दछन्।

त्यही भीडमा एक थिए पूर्वप्रधानन्यायधीश दामोदरप्रसाद शर्मा। शर्मा, जसलाई अड्डा-अदालतमा ‘बाबा’ भनेर पनि चिनिन्थ्यो, उनी कायम मुकायम हुँदै पछि प्रधानन्यायाधीश बने। प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि सर्वोच्च अदालतको जिम्मेवारी शर्मामा आयो।

शर्मा उति बेला देखि नै साधुको भेषमा हुन्थे र आश्रममा बस्थे। आँफू बस्ने स्थललाई घर भन्दैन्थे उनी, आश्रम भन्थे। उनको काठमाडौ आरुबारीमा एउटा आश्रम छ, चितवनको भरतपुर नगरपालिका–१ देवघाटमा अर्को आश्रम बनाएका छन्। २४ कोठाको यो आश्रमलाई ‘श्री अखडानन्द निकेतन’ नाम दिइएको छ। सेवा निवृत भएपछि भगवद् सेवामा अर्पण गर्ने इच्छा व्यक्त गर्थे। देवघाटमा साधनामा बाँकी जीवन व्यतित गर्ने उनको इच्छा थियो।

प्रधानन्यायाधीश हुनुअघि यो आश्रम बनाउन लागिएको थियो। यही आश्रममा उनी प्रधानन्यायाधीश हुँदा पनि साता/पन्ध्र दिनमा पुग्थे। अहिले उनी उता बढी बस्छन्, काठमाडौं कम आउँछन्। विवाहलगत्तै श्रीमतीसँग छुट्टिएर बसेका शर्मा प्रधानन्यायाधीशबाट सेवा निवृत भएपछि वानप्रस्थ जीवन बिताइरहेका छन्।

शर्माको परिचय चितवन देवघाटमा मुलुकको पूर्वप्रधानन्यायाशीश भन्दा पनि ‘बाबा’कै रुपमा बढी छ। धेरै वर्षदेखि पटक पटक देवघाट आएर न्यासध्यानमा लाग्ने शर्मा अवकाश पाएपछि यतै छन्।

उनी २००६ साल असोज २४ गते सोमबार जन्मिएका थिए। उमेरले ७२ वर्ष पुग्दा पनि उनको अनुहारको तेज कुनै उर्जावान युवकको भन्दा कम छैन। धार्मिक अनुष्ठान गर्ने, तीर्थ यात्रामा जाने, हरपल भगवद् नाम जप्नु नै अहिलेको उनको दैनिकी छ।

सार्वजनिक पद धारण गर्दा त्यसका आफ्नै सीमा हुन्छन्। आफ्नै कर्तव्य छन्। संसारमा बस्नु पर्दा धर्मसम्मत गतिविधि गर्दा सहज भन्दा पनि असहज बढी हुन्छ। तर त्यही  साधना पनि हो; असहजलाई पनि सहज बनाइदिनु नै त योग हो, साधुत्व हो। उनले आफ्नो कर्तव्य पनि त्यागेनन्। आफ्नो समाज प्रतिको कर्तव्य, मानव हुनुको दायित्व पुरा गरे उनले। र अन्तिममा सबै बिर्सिएर भागवत भक्तिमा बिताइरहेका छन् बाँकी जीवन।

सामिप्यमा बस्दा लाग्दैन कि उनी नेपाल राष्ट्रको कुनै उच्च ओहोदामा पुगेका व्यक्ति थिए भनेर। बरु लाग्न सक्छ एक योगी जो आफ्नो यात्रामा छ। हुनत, साधुलाई उसको बिगतको कुनै औचित्य हुँदैन। जति वैभवशाली किन नहोस्, जति पीडादायी किन नहोस् उसको लागि कुनै अर्थ छैन। उसको लागि त जे छ उही छ, उही सिवाय केही छैन। संसार जे को लागि पछाडी दौडिरहेको छ उनले त त्यो पुरा गरिसके। भोगी सके, देखीसके त्यसको अपूर्णता। उनी त्यो दलदलबाट मुक्त भइसके। त्यसैले त भेटे, पूर्णताको बाटो।

त्यसैले त ती न्यायधीश दामोदर र अहिलेका ‘बाबा’ दामोदरमा फरक छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार