आइतबार, बैशाख २६ २०७८

गण्डकी प्रदेशसभा बैठक: मास्क नलगाइ जसले चर्को स्वर गरे उनैमा देखियो कोरोना


  • नेपालदीप
  • बुधबार, बैशाख १५ २०७८
2.3K
SHARES

काठमाडौँ। मंगलबार गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको विरुद्ध पेस भएको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूचि थियो।

त्यहिँ रोक्ने उद्देश्यका साथ सत्तारुढ नेकपा एमालेका सांसदहरूले एउटा बखेडा झिके। उनीहरुले सांसदहरूको पीसीआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अवरुद्ध गरे।

अधिवेशनको सुरूआतमा एमाले सांसदहरू उभिएर बैठक अवरूद्ध पारेपछि सभामुख नेत्रनाथ अधिकारीले ‘किन उठ्नुभएको हो?’ भनेर सोधेका थिए।

जवाफ दिँदै एमाले सांसद राजीव पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने जानकारी गराएका थिए।

कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै उनले संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका थिए।

मंगलवारको बैठकमा एमालेका तर्फबाट सांसदहरुको पीसीआर टेस्ट गर्नुपर्छ भन्दै चर्को स्वर गरेका उनै पहारीको पीसीआर परीक्षण पछि कोरोना पुष्टी भएको छ। पहारीले मास्क नलगाइ आफ्नो भनाइ राखेका थिए।

गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। एमाले सांसद राजीव सहित प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको हो। त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूचि छ।

तर, मंगलबार सत्तारुढ दल नेकपा एमालेले पीसीआर परीक्षणबिना बैठक बस्न नहुने अडान राखेपछि बैठक स्थगित भयो । प्रदेश सभा सचिवालय कर्मचारी, सांसद, सुरक्षाकर्मी र चालकसहितको पीसीआर परीक्षण नतिजा आइसकेपछि मात्रै संसद सुरु हुने गरी आज दिउँसो १ बजेसम्मका लागि संसद स्थगन गरिएको थियो।

मुख्यमन्त्रीविरुद्ध वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो। अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन्। ६० सदस्यीय प्रदेश सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ । हाल सरकारमा रहेको सत्तारुढ पार्टी नेकपा एमालेसँग २७ सिट छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार