आइतबार, बैशाख २६ २०७८

सरकारी खाद्य कम्पनीका पसल यी समयमा खुलै, सस्तोमा सामग्री पाइने,अनलाइनबाट घरघरै सेवा


  • नेपालदीप
  • शुक्रबार, बैशाख १७ २०७८
1.4K
SHARES

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए  ।

सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकामा सिंहदरबारको पश्चिमी गेट नजिकै, थापाथली, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकका बिक्री केन्द्र १२ घण्टा खुल्ने कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभर ४५ वटा बिक्री केन्द्र रहेका छन् ।

कम्पनीले जुम्ली मार्सीसहित विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामग्री बिक्री गर्दै आएको छ । बजारमा पाइने खाद्यान्न भन्दा कैयौँ गुणा सस्तोमा सामग्री पाइने पनि कम्पनीको दाबी छ ।

यसैबीच कम्पनीले गएकाे वर्षको लकडाउनको समयमा सुरु गरेको अनलाइन डेलिभरी सेवा यो पटक पनि प्रभावकारी रूपमा चलिरहेकाे जनाएको छ । उपभोक्ताले www.napalfood.gov.np बाट चक्रपथभित्र र www.sastodeal.com मार्फत काठमाडौँ  उपत्यकाभरि नै खाद्य सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार