आइतबार, बैशाख २६ २०७८

ओलीको तानाशाही र अधिनायकवादी शैलीको नमुना लुम्बिनीमा पोखरेल हुन्: विपक्षी चार दल


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
722
SHARES

बुटवल। मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक भएको भन्दै लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले आपत्ती जनाएका छन्। एमाले अल्पमतमा परेका बेला सोही दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउने गैरकानुनी कदम विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने उनीहरूको भनाइ छ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै यस्तो उदघोष गरेको हो। संसद्बाट भागेर संविधानविपरीत सरकार गठन भएको जनाउँदै यसलाई धेरै दिन टिक्न नदिने दाबी गरेको हो।

मुख्यमन्त्रीले राजीनामाको नाटक मञ्चन गरेर संसद छल्दै फेरि षड्यन्त्रपूर्वक ढंगले मुख्यमन्त्री पुन: नियुक्ति हुनु लज्जास्पद भएको बताए।

चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले केन्द्रको निर्णय र निर्देशन अनुसार पोखरेल विरुद्धआगामी रणनीति तयार गर्ने बताए।

‘हामी अल्पमतको यो सरकार टिक्न दिन्नौं। तर केन्द्रीय निर्देशनअनुसार कसरी अगाडि बढ्ने तय गर्छौं,’ उनले भने।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले आफूहरूले ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्दागर्दै  ३७ जना सांसद भएको दललाई मुख्यमन्त्री बनाउनु विधिसम्मत नभएको टिप्पणी गरे।

कानोडियाले भने, ‘विशेष अधिवेशन बोलाइएको संसद्बाट भागेर मुख्यमन्त्रीबाट राजीनामा दिनु र अल्पमतमै मुख्यमन्त्री बन्नु सामान्य विषय होइन। आखिर कति दिन संसद्बाट भाग्नुहुन्छ हामीले हेर्नेछौं।’

नेता कानोडियाले पोखरेल ओलीको तानाशाहको विस्तारित रुप भएको बताए। ‘केन्द्रमा ओलीको तानाशाही र अधिनायकवादी शैलीको नमुना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो। यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्नेछौं,’ उनले भने।

आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई दिउँसो प्रदेशप्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ बमोजिम एकल सरकार बनाउन मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। एमालेमा त्यस बेलासम्म ४१ सदस्य थिए। विपक्षी गठबन्धनले भने एक सदस्यले राजीनामा गरेको, उपचुनाव जितेकी एक सांसद र स्वतन्त्र दुई गरी तीन जनाले आफूलाई साथ दिएकाले एमालेमा बहुमत नभएको दाबी गरेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार