आइतबार, बैशाख २६ २०७८

‘अधिकारविहीन जेल’बाट मुक्त भएकोमा अत्यन्तै खुशी छु: निवर्तमान प्रदेशप्रमुख शेरचन


  • नेपालदीप
  • मंगलबार, बैशाख २१ २०७८
703
SHARES

पोखरा। गण्डकीका निवर्तमान प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशता तर्फ अघि बढेको आभास पाएको बताएका छन्। शेरचनले प्रदेशमा आफ्नो हुन सक्ने भूमिकाको कारणले मात्र नभई देशमा निरंकुशता लाद्ने योजना अनुरुप आँफूलाई पदमुक्त गरिएको बताएका हुन्।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले सरकारको निर्णयप्रति यस्तो प्रतिक्रिया दिएका हुन्।

सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको भन्दै गुनासो व्यक्त गरेका छन्। उनले आँफूलाई जानकारी मात्र दिएको भए आँफूले स्वयम् राजीनामा दिने भन्दै पछि मिडियाबाट आफूलाई पदमुक्त गरिएको थाहा पाउँदा दुख लागेको बताए।

शेरचनले भने, ‘राजनीतिक प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको मलाई अनुभूति भएको छ। निरंकुशताको पराकाष्ठाको सूचक हो भन्ने मलाई लाग्या छ। तिमीले यहाँनेर गल्ती गर्‍यौ भनेको भए कहाँ गल्ती गरेँ भनेर मैले हेर्थें होला। अब फेर्नुपर्‍यो भनेको भए त म राजीनामा दिन्थेँ। राजीनामा दिन पहिले लिएर गएको मान्छे हुँ। म त बस्नै नचाहेको मान्छे हुँ।’

शेरचनले प्रदेश प्रमुखको जिम्मेवारीलाई ‘अधिकारविहीन जेल’को संज्ञा दिँदै पदमुक्त गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद टक्राएका छन्।

‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु। मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई। पहिला ओली जी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो’, शेरचनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद।’

शेरचनले आँफूले राष्ट्रपति र प्रधानमन्त्री समेतको प्रस्ताव अस्वीकार गरेको बताउदै पदको लागि राजनीति नगरेको बताए। ‘पूर्व राष्ट्रपति डा रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो। मैले अस्विकार गरेँ। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ’, उनले भनेका छन्, ‘पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ।’

शेरचनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ पदमुक्त गरेकी थिइन्। उनको ठाउँमा एमाले नेत्री सीता पौडेल आएकी छन्।

May be an image of text
May be an image of text

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार