सोमबार, असार ७ २०७८

छ महिना नपुग्दै भीमेश्वरलाई फेरी आयो पसिना, राष्ट्रमा घोर अनिष्ट हुने संकेत


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
4.2K
SHARES

दोलखा। दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ। मन्दिरमा एक शिलाका रुपमा भीमसेन विराजमान हुनुहुन्छ। त्यही शिलामा पसिना आएको छ महिना पनि नबित्दै फेरी पसिना आएपछि देश ठूलो अस्थीरता र अनिष्टको भूमरीमा फस्ने आंकलन गरिएको छ।

शनिबार मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि छ महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्।

शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने मान्यता रहँदै आएको छ। गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको थियो।

भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको बताए। दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने गरेको छ।

भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्। भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमा पुजा गर्ने चलन भएपनि सरकारले लगाएको निषेधाज्ञाको कारण नबजाइएको समितिले जनाएको छ।

थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ। राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पुजाको लागि पञ्चवली पठाउने चलन रहेको थियो।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट