सोमबार, असार ७ २०७८

अभिशप्त राजनैतिक इतिहासको दुश्चक्र !


  • नेपालदीप
  • शनिबार, जेष्ठ ८ २०७८
4.8K
SHARES

नेपालको संसदीय पद्धतिको इतिहास दुर्भाग्यपूर्ण रहेको छ भन्न अब संकोच मान्नु परेन। प्रधानमन्त्री खड्ग ओलीले ६ महिनाको बीचमा दुई पटक संसद विघटन गरी मध्यावधि निर्वाचनतर्फ मुलुकलाई धकेलेका छन् र राष्ट्रप्रमुखको गरिमा वहन गरेकी राष्ट्रपतिले आफ्नो कार्यकालको परिचय नै ओलीको निर्णयमा मात्र सांक्षी बस्ने र सदर गर्ने पार्टी कार्यकर्ताको रुपमा अवतरण गराएकी छन्। देश रोगको महामारीमा निष्णात लावारिस छट्पटिएको छ तर अभिशप्त राजनैतिक इतिहास दोहोरोएको छ।

वि सं २०१५ मा निर्वाचित संसद र सरकार २ बर्षपछि निरंकूश राजाद्वारा विघटित बन्यो। त्यसपछिका ३० बर्ष राजा नेतृत्वको पञ्चायती व्यवस्थाले अकण्टक राज गर्‍यो। भिषण जन आन्दोलनले वि सं २०४६ मा बहुदलीय पद्धतिको पुनर्स्थापना त भयो तर त्यसपछिका बर्षहरुमा अपवाद बाहेक सरकारहरु लामो समय टिकेनन्। वि सं २०४८-२०५१ को गिरिजाप्रसाद कोईरालाको ३ बर्षे प्रधानमन्त्रीत्वकाल र हालका खड्गप्रसाद ओलीको ३ बर्षे कार्यकाल नै नेपालको संसदीय इतिहासमा सबैभन्दा लामो र स्थिर राजनैतिक नेतृत्वका कार्यकाल मानिनु पर्ने अभागी दोषका हामी भागिदार बनाइयौँ। वि सं २०५२ देखि एक दशक चलाइएको उग्र र वर्वर माओवादी हिंसाको रुपान्तरण पनि अन्ततोगत्वा देशीय मूल्य मान्यता भत्काउने अपशकुन भन्दा फरक बनेर निर्क्योलमा पुगेन।

प्रधामन्त्री ओलीले राजनैतिक स्थिरताको बलमा सुशासन र विकास दिन्छु भन्दै माओवादी पार्टीसंगको एकीकरण मार्फत प्रचण्ड बहुमत ल्याएर सत्ता आरोहण गरेका थिए। मुलुककै ठूला दोस्रो र तेश्रो पार्टीको एकीकरणले दोस्रो पार्टीको आकारलाई कमजोड प्रतिपक्षमा मात्र खुम्चाएन, प्रचण्ड बहुमतको राग र रापले सत्तारुढ पार्टी र उसको नेतृत्वमा दम्भ र अहंकारको सगरमाथा चुल्हायो। स्थिर सरकारले दिने भनिएको विकास र सुशासनको नेपाली सपना फेरि मृगतृष्णामा घटौति बन्यो। ओलीको स्वभावले पार्टी र प्रतिपक्ष कसैलाई चिनेन र टेरेन अनि राष्ट्रप्रमुखले केवल त्यो अहंकारको आगोमा घ्यू बनेर सघाइन्।

मुलुक र मुलुकवासीले खोजेको लक्ष्य र निरन्तर पाएको धोकाको फेहरिस्त लेखेर साध्य छैन। मुलुक कोरोना महामारीको दोस्रो लहरले आक्रान्त छ, क्रन्दनमा छट्पटाइरहेको छ। हामी संसारकै सबैभन्दा बढी कोरोना पीडित मुलुक भइसेका छौँ। देश धर्धरी रुँदै छ। अक्सिजन, औषधी, भेण्टिलेटर, खोप र राहतको त्राण खोज्दैछ मुलुक, तर राजनीति गर्नेहरु तात्कालिक घात-प्रतिघात, धोका, उत्सव, नाफाखोरी र दुर्दान्त घोटालाका कीर्तिमानमा रमाइरहेका छन्। लाग्छ, हामी श्रापित छौँ अनन्त कालसम्म नितान्त निकृष्ट शाषकहरुको मुठ्ठीमा निस्ससिएर शाषित हुन; यही नियतिको श्रृंखला रच्दै दोहोराउँदै ढलीमली राज चलिरहेछ असहाय र निरुपाय जनतामाथि!

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट