सोमबार, असार ७ २०७८

वर्ल्डकप क्रिकेट लिग २: नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको सिरिज स्पेनमा हुने


  • नेपालदीप
  • आइतबार, जेष्ठ २३ २०७८
1.2K
SHARES

काठमाडौं। आईसीसी वर्ल्ड कप क्रिकेट लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ। आगामी जुलाईमा स्कटल्याण्डमा हुने भनिएको सिरिज स्पेनमा सार्न लागिएको बारे नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन्।

चन्दले भने, ‘जुलाई तेस्रो साता स्पेनमा हुने भनेर तीन देशको सहमति भएको छ। आयोजक आईसीसी र स्पेन सरकार तयार भइसकेको छ। त्यहाँको लोकल अथोरिटीबाट अनुमति पाउन बाँकी छ।’

सिरिजबारे केही दिनमा नै टुङ्गो लाग्ने बताउँदै त्यस लगत्तै मुख्य प्रशिक्षक डेभ वाटमोरलाई बोलाएर नेपाली खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी क्यानले गरेको चन्दले बताए। उनले भने, ‘सिरिज पक्का भएपछि प्रशिक्षकलाई पनि बोलाउँछौं। सरकारसंग अनुमति लिएर केही समय खेलाडीको प्रशिक्षण हुन्छ। त्यसपछि बाहिर गएर प्रशिक्षण गराउनु पर्छ।’

कोरोना संक्रमणका कारण खेल गतिविधि रोकिएपछि प्रशिक्षक वाटमोर हाल परिवारसंग श्रीलंकामा छन्।

वर्ल्ड कप लिग २ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। हरेक टिमले ९ सिरिज खेल्न पाउनेछ। तर नेपालले भने अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ। सात राष्ट्र मध्य नेपालले सबै भन्दा थोरै खेल खेलेको छ।

लिग २ अन्तर्गत नै यही मार्चमा ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने कोरोनाले गर्दा स्थगित भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट