सोमबार, असार ७ २०७८

‘एमसीसी पारित नभएको झोंकमा ओलीले बारम्बार संसद विघटन गरे’


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २७ २०७८
2.2K
SHARES

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियतालाई बन्धकी राखेर सत्ता जोगाउन लागि परेको गम्भीर आरोप लगाएका छन्।

रावलले भने, ‘चुरे र डाँडा भत्काएर भारतमा ढुंगामाटो गिटी निकासी गर्ने। यो भनेको म मेरो घर जलाएर खरानी बेचेर धनी हुन्छु वा मेरी आमालाई बन्धकी राखेर सुनको सिंहासनमा बस्छु भनेजस्तै हो। त्यसैले यो अत्यन्त दुखद, घृणित, निन्दनीय र राष्ट्रघाती काम हो, यस्तै कुरा भएर नै उहाँसँग अन्तरविरोध भएको हो हाम्रो।’

रावलले राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पारित नभएको झोकमा बारम्बार संसद विघटन गरिरहेको पनि आरोप लगाए। उनले भने, ‘मिलेनियम च्यालेन्स कर्पोरेसन अर्थात एमसीसीसँग गरेको जुन सम्झौता छ, त्यो सम्झौतामा उत्खनन गर्दा जस्तो सडक बनाउनुपर्यो, विद्युत प्रशारण लाइन बन्दा जहाँ काम गरिन्छ, त्यो भूमिमा एमसीसीको सम्पूर्ण अधिकार हुनेछ र नेपाल सरकारले त्यसमा उसको स्वीकृतिविना केही पनि गर्न पाउने छैन भन्ने राष्ट्रघाती प्रावधान लेखिएको छ। बाहिर मान्छेहरूलाई भनिएको छ, यो त ५ बर्षका लागि हो। त्यसका ३÷४ वटा अरु धारामा एमसीसीको कब्जा अनन्तकालसम्म रहने कुरा छ। त्यतिमात्रै होइन, जहाँ–जहाँ एमसीसी गएको छ, त्यहाँ कृषि र खनिजमाथि पनि नियन्त्रण गर्ने कानुनहरु सँगसँगै आएका छन्।’

रावलले आफूले पार्टी फुटाउन लाग्यो भनेर ओलीको साइबर गिरोहले गलत प्रचार गरेको पनि बताए। उनले भने, ‘भीम रावलले पार्टी फुटाउन खोजेको छ भन्ने हास्यास्पद र प्रायोजित कुरा हो। किनभने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको बेलामा पनि हामीले बारम्बार केपी ओलीजी र उहाँका यस्ता प्रचार गर्ने व्यक्तिहरुलाई तपाईहरु बैठकमा आउनुस्, बैठकमा छलफल गराैँ र विधानअनुसार काम गराैं भनेर हामीले धेरै आग्रह गर्यौं।’

रावलले आफू पहिले देखि पार्टी हितको लागि लडेकोले गुटगत मानसिकता बोकेकाहरुले कू प्रचार गरेको पनि बताए। उनले भने, ‘मैले विगतमा पनि नेकपा एमालेलाई विगतमा पनि अनेकन अप्ठेरा अवस्थामा नेताहरुसँग कुराकानी गरेर मिलाउने भुमिका खेल्ने मान्छे भएकाले अहिले भीम रावलले नफुटाई नहुने भन्यो भनेर प्रचार गर्नुको तात्पर्य के हो भने त्यो जसले प्रचार गरेका छन्, त्यो नेकपा एमाले जसरी पुनर्जीवित अवस्थामा छ त्यसका समग्र संरचना, यसका जनसंगठनहरु पूर्ववत् फर्किनुपर्छ भन्ने मेरो अडान र दृष्टिकोण भयो। तर, एमालेलाई कमजोर पार्नेहरुको दृष्टिकोण केपी ओलीलाई जे लाग्यो, त्यही गर्ने। गुटमात्रै खडा गर्ने र तपाईहरु जस्तालाई निकाल्दिने भन्नेहरुको त्यो प्रचारबाजी हो।’

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट