बिहिबार, साउन १४ २०७८

कांग्रेसलाई विचार, दृष्टिकोण र नेतृत्वको नया प्राण चाहिएको छ


  • नेपालदीप
  • बिहिबार, असार १० २०७८
2.6K
SHARES

अचानक नेपाली कांग्रेस महाधिवेशनको चर्चा गर्माएको छ। यो गरमा-गरम बीच भावी सभापति बन्न आकांक्षी मानिएका झण्डै एक दर्जन नेताहरुका नाम विविध मिडिया प्लेटफर्मले आ-आफ्ना सदाशयताका आधारमा उचाल्न थाल्नु स्वाभाविक पनि हो। अघिल्लो महाधिवेशनमै सभापति पदमा भिडिसकेका – वर्तमान सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलासंगै, पहिले नै आँफू सभापति बाहेक अरु कुनै पदमा नलड्ने घोषणा गरिसकेका शेखर कोईराला अनि कांग्रेसका तीन नेता पुत्र ‘राजकुमार’हरु – शशांक कोईराला, प्रकाशमान सिं र बिमलेन्द्र निधी सभापति पदका आकांक्षी देखिइसकेका छन्। यसै गरी पारिवारिक विरासत मेरै हो भन्दै चर्चाको तरंगमा सम्मिलित भइरहने स्वघोषित ‘राजकुमारी’ सुजाता कोईराला र अरुलाई काउण्टर दिन बेलाबखत नेता देउवाको ‘डमी’ बनेर प्रस्तुत हुने गोपालमान श्रेष्ठहरु गरी कम्तिमा नौ (९) जनाले त सभापतिको स्पर्धामा आफ्नो दाबी अघि सारिसकेका छन्। यसका साथै समय क्रममा प्रतिस्पर्धाको रुप हेरेर यो ‘रेसमा’ च्याँखे थापेर कोही लडाउन वा कसैलाई सघाउन पनि केही नेता उत्रने छन्। युवा, महिला, तराई र जनजातिको नामबाट प्रतिस्पर्धी मैदानमा नउत्रिएलान् भन्न सकिन्न। यी नामहरु अहिलेको मिडिया बजारमा प्रायोजित मात्र पनि हुनसक्छन् र अन्तिम प्रतिस्पर्धाको स्वरुप के रहला भनेर यसै भन्न अहिले नै नसकिएला।

नेपाली लोकतन्त्रको पर्यायको रुपमा मानिने नेपाली राजनीतिको सबैभन्दा पुरानो जीवन्त राजनैतिक पार्टी नेपाली कांग्रेसले, २००७ सालदेखिका नेपाली राजनैतिक आन्दोलनहरुको नेतृत्व गर्दै आएको हो। २०४६ सालको बहुदलीय पद्धतिको पुनर्स्थपनापछि पनि संसदीय लोकतन्त्रको रखवारी गरिरहेको कांग्रेस २०६२-६३ को माओवादी राजनीतिको शान्तिपूर्ण अवतरणपछि भने नेपाली राजनीतिका विविध कम्युनिष्ट धडहरुको एजेण्डामा लतारिएको भनेर आरोप लाग्ने गरेको छ। कांग्रेस राजनीति नीति र दृष्टिकोणरहित बनेर असरल्ल समय र परिस्थतिको बहाबमा अरुको पछि स्वत: बगिरहेको रुपमा देखिएको विश्लेषक बताउने गर्छन्। कांग्रेस ‘गतिहीन’ र ‘पिछलग्गू’ बन्दा, नेपाली राजनीति इतिहासकै दूर्बल र बिकराल बनेको छ। जनतामा राजनीति र यसका नायक बिरुद्ध वितृष्णा व्यापक बनेको छ। यो कर्ता र नेतृत्वको चरम अवमूल्यन हो।

कांग्रेस राजनीति र महाधिवेशन बारे चर्चा बढिरहँदा केवल व्यक्ति, गूट र तिनका पछुवाहरुको मात्र चर्चा भएको छ। भावी नेतृत्वका आकांक्षीहरु मध्ये कसैले पार्टी ‘विचार’ लाई म यसरी परिष्कृत पार्छु भनेको सुनिएको छैन। गूट र स्वार्थ समूहहरु ध्वस्त पार्दै यस किसिमले म पार्टीलाई शुद्धीकरण गर्छु र पुनर्जागृत पार्छु भनेर कसैले भनेको सुनिएको छैन। नेतृत्व परिवर्तन वा बर्चस्व कायमको यो लडाईँमा केवल वर्तमानको कब्जालाई चुनौति दिने वा खोस्ने बाहेक अरु उद्धेश्य कतै कसैले देखाएको छैन।

नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा नेपाली राजनीतिमा आफ्नो विशिष्ट स्थान प्रष्ट्याउन र आँफूलाई भिन्न देखाउन विचार, नीति र दृष्टिकोण र व्यवहार बारे बहस गर्दैन। महाधिवेशन पार्टी राजनीतिलाई बर्चस्वमा लिन मञ्चन गरिने एउटा उत्सवमा घटुवा भएको छ। विचार र दृष्टिकोणको मणि हराएर, भिड र गुटको स्वार्थ संवर्द्धनमा लिप्त समूहले देशको बारेमा सोच्ने र निर्णय लिने ल्याकत राख्दैन।

विचार, सोच र दृष्टिकोण बारे मात्र हैन कांग्रेस पार्टी राजनीतिको बहसमा नेतृत्वका लागि चर्चित नामहरु हेर्‍यो भने पनि परिवर्तनको आभास कम देखिन्छ। नेतृत्वका लागि उनै ३ दशक पुराना सकृय नामहरुले अग्रता लिएका छन्। यी ती नामहरु हुन् जसले २०४६ यताको राजनीतिमा निरन्तर रजगज गरिरहे, आजीवन त्यही गर्ने नियत राख्छन् र तिनका लागि पद वा प्रभावमा रहनु बाहेक राजनीतिको अर्को ‘मक्सद’ छैन। यस्तो नियत र नियतिले कांग्रेस विचार शुन्यताका कारण झण्डै निष्प्राण बनिसकेको छ। कांग्रेसलाई पुनर्जीवन दिने हो भने, नया प्राणवायु भर्नै पर्छ। त्यो प्राणवायु विचार र नेतृत्वको हो।

नेपाली कांग्रेस पार्टीमा नया प्राण भर्ने हो भने, यसका स्थानीय, राज्य र संघीय  संरचनामा विचार, योजना र ऊर्जा बोकेका नया पुस्ताले हस्तक्षेप गर्न सक्नु पर्छ र पार्टीलाई अघिल्लो पुस्ताको हातबाट खोस्नु पर्छ। पार्टीका सबै संरचना र तहमा नेतृत्व नया आउनुपर्छ र तिनले विचारको नेतृत्व दिन सक्नु पर्छ। कांग्रेसले अब पुरानो पुस्तालाई ससम्मान अवकाशमा पुर्‍याउनु पर्छ। यो भनेर हुँदैन र सजिलो छैन तर यो गर्न सकिएन भने कांग्रेस परिमार्जित र परिष्कृत हुने छैन। नेता कार्यकालको नवीकरण हैन कांग्रेसलाई विचार, दृष्टिकोण र नेतृत्वको नया प्राण चाहिएको छ। राजनीति सुध्रन, कांग्रेस संरचनाको अन्तरंगभित्रै देखि सुध्रिनु पर्छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट