बिहिबार, साउन १४ २०७८

कविता: देशको नक्सा


  • नेपालदीप
  • शुक्रबार, असार ११ २०७८
2.2K
SHARES

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।

खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु, टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !

ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामी हेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा

–कविता राई 

(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव-२०७८’ मा प्रथम स्थान हासिल गर्न सफल कविता) 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट