बिहिबार, साउन १४ २०७८

सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा भेटियो सुजिताको शव, घरपरिवारकै मिलेमतो


  • नेपालदीप
  • आइतबार, असार २७ २०७८
2.8K
SHARES

जनकपुरधाम। करिब एक महिना अघि हराइरहेकी महोत्तरीकी सुजिता ठाकुरको शव फेला परेको छ। लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया ठाकुरको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको हो।

निर्माणाधीन पेट्रोल पम्पको शौचालयको ट्याङ्कीमा फालिएको शव फेला पारेको प्रहरीले जनाएको छ। शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो। सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर सेफ्टीट्यांकी भित्र हेरेको थियो। ठाकुरको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या गरिएको आरोप माइती पक्षले लगाउदै आएको थियो। तर घर पक्षले भने ठाकुर अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए।

घर परिवारका सदस्यहरुबाटै उनकाे गएकाे जेठ २० गते हत्या भएकाे प्रहरीले जनाएकाे छ। हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा पतिराम ठाकुरको जग्गामा निर्माणाधीन शाैचालयकाे सेफ्टी ट्यांकीमा फेला पारेको हो। शव लुकाउन पहिले गाडिएको स्थानबाट निकालेर फेरि सेफ्टी ट्यांकीमा गाडिएको प्रहरीले जनाएकाे छ।

आफ्नै जग्गामा शव गाडेर त्यसमाथि सेफ्टी ट्यांकी निर्माण गराउन लगाएको र त्यसपछि सिमेन्ट बालुवाले समेत ढलान गरिसकेको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। आधा गलिसकेको अवस्थामा भेटिएकाे शव सुजाताकै रहेकाे परिवारका सदस्यले पुष्टि गरेका छन्।

यसअघि शव फेला परेको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा प्रहरीले उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फेला फरेको थियो। त्यतिबेला करिब ५ फिट खाल्डो खनेपछि केश, कपडा र शरीर लगाउन प्रयोग गरेको केमिकल भेटियो। सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देबर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो। अहिले दुबैजना प्रहरी हिरासतमा छन्।

पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीकी सुजिताको ६ वर्ष अघि भ्रमरपुराका मुकेश ठाकुरसँग विवाह भएको थियो। सुजिताका श्रीमान सुस्त मनस्थितिका छन्। प्रहरीले पटक-पटक रुपेशलाई सुजिताको शव लुकाएको ठाउँ देखाउन भनेका थिए। तर तीन दिन अघि रुपेशले शव गाडेको भनिएको ठाउँ देखाए। तर थप प्रमाण् फेला परेन।

सुजिता हत्याको कारण अहिलेसम्म खुलेको छैन । तर दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेका छन्। तर हत्याको कारण खुलाएका छैनन्।’

श्रीमान सुस्त मनस्थितिका भएकाले अन्य पुरुषसँगको हिमचिम पनि हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ। सुजिताको हत्यापछि छोरा–छोरीको विचल्ली भएको छ। उनका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन्। सुजिताको हत्यापछि घटना लुकाउन ससुरा पतिराम ठाकुरले उनका छोरा-छोरीलाई ज्वाइँको घर पठाएको बताइएको छ। केही दिनपछि उनीहरुले नातिनातिनालाई फिर्ता ल्याएका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट